2026 June 20/ 07:30: 52am

    श्रीखण्डपुर/नौ दिन आठ रात लामो श्रीखण्डपुरको विस्का (विस्केट) जात्रा धुमधामका साथ मनाईएको छ । बैशाख २ गते धुलिखेल ५ श्रीखण्डपुरको भैरव मन्दिरबाट रथ प्रारम्भ भएको थियो । २०७९ चैत्र २९ गते लिङ्गो उभ्याएर जात्राको प्रारम्भ भएको सन्देश दिईएको थियो । 
    प्रत्येक वर्ष नयाँं वर्ष आगमनको चार दिन अगाडि अर्थात् यो वर्ष चैत २८ गते देखि सोही स्थानमा प्यागोडा शैलीमा काठैकाठले बनाएको भैरवनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ हुने प्रचलन रहि आएको छ । रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ । एकातिर ६ वटा र अर्काेतिर चारवटा मोटोमोटो डोरी राखेर हजारौ युवाले रथ तान्ने गर्दछन् । जात्राको पहिलो दिनलाई स्थानीय नेपाल भाषामा द्यो क्वह विज्याइज्यू अर्थात देवता (रथ) तल सवारी हुने भनिन्छ । 
    इतिहास एवं संस्कृतिविद् पूर्णबहादुर कर्माचार्यका अनुसार विस्केट जात्रा पूर्वमध्यकालतिर तीनसय वर्ष भन्दा बढ्ता समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाईन्थ्यो । तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानीनगरको रूपमा रहेको बेलामा यो राष्ट्रिय पर्वकै रूपमा मनाइने उनले बताए । तर उपत्यकाको राजनैतिक विखण्डनलगायत वि.सं.१८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफनो केन्द्रीय राजनैतिक–प्रशासनिक महत्व गुमाउँंदै गए पछि स्थानीय जात्राको रूपमा मात्र सीमित रहन पुग्यो । यो जात्रा नेपालका ८ स्थानमा मनाइन्छ ।  विस्केट जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु रहेको छ । स्थानीय स्तरमा विस्का जात्रा मनाउँदा रोगब्याधीको भय नहुने विश्वास छ । जात्राको अवलोकनका लागि नगर प्रमुख अशोक ब्याञ्जु, प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगर, वडा अध्यक्ष प्रमोद सुन्दर श्रेष्ठ, जनप्रतिनिधि तथा कर्मचारीहरु, सर्वसाधारणहरुको सहभागिता रहेको थियो । भुकम्प तथा अन्य प्रकोपमा उक्त क्षेत्रमा मानविय क्षती नभएको विश्वास छ । सोहि अवसरमा रथसँगै सिन्दुर जात्रा गरिएको थियो ।