2026 November 02/ 12:36: 21pm

    जीवन सबैका लागि एउटै सहज बाटो बनेर आउँदैन । कोही चाँदीको चम्चा मुखमा च्यापेर जन्मिन्छन्, कसैको भाग्यमा सुख र सुविधाका ढोका जन्मँदै खुला हुन्छन् । तर कसैको जीवनको पहिलो पानामै अभावका गहिरा धर्साहरू कोरिएका हुन्छन् । कसैका सपनाले फूलको सुवास पाउँछन्, त कसैका सपनाले काँडाको बाटोमा नाङ्गो पैताला टेक्नुपर्छ । मेरो जीवन पनि त्यस्तै अभाव, सङ्घर्ष र आँसुका अक्षरहरूले लेखिएको एउटा कथा हो ।
    २०४२ साल पुस १२ गते, बुवा दानबहादुर दलार्मी मगर र आमा बालकुमारी दलार्मी मगरको कोखबाट जेठो सन्तानका रूपमा मैले यस धर्तीमा पहिलो सास फेरेँ । तीन भाई र तीन दिदीबहिनी गरी छ सन्तानको ठूलो परिवार थियो हाम्रो । परिवार ठूलो थियो, तर खुसीका भाग साना थिए । रहरहरू अनेक थिए, तर ती पूरा गर्ने सामथ्र्य सीमित । घरमा माया थियो, आत्मीयता थियो, तर जीवन धान्न पुग्ने आर्थिक सहजता थिएन । हाम्रा दिनहरूमा सुखभन्दा अभावका रेखाहरू बाक्ला थिए ।
    बाल्यकालमा गाउँकै विद्यालयमा डा. लोकबहादुर लोप्चन सरले ‘क, ख’ सिकाउँदा मेरो सानो मनमा पनि सुन्दर सपनाहरू पलाउन थालेका थिए । अक्षरहरू चिन्ने ती कलिला आँखाले भविष्यका अनेक रङ देख्न थालेका थिए । किताबको पानामा आफ्नो संसार खोज्ने, पढेर केही बन्ने र एक दिन परिवारको दुःख हटाउने रहर मनभित्र बिस्तारै उम्रँदै थियो । तर सपना देख्नु र सपनालाई पूरा गर्ने अवसर पाउनु एउटै कुरा रहेनछ । कक्षा ३ सम्म पढ्दापढ्दै घरको आर्थिक सङ्कटले मेरो बाल्यकालको बाटो मोडिदियो । नियमित विद्यालय जाने क्रम टुट्यो । पढाइप्रतिको रहर मनमा थियो, तर परिस्थितिले हात समातेर अर्कै बाटोतिर डो¥यायो । परीक्षाका दिन विद्यालय पुगेर कक्षा ५ सम्म जसोतसो पास गरेँ । तर कक्षा ६ मा पुग्दा गरिबीले मेरा किताब–कापी मात्र खोसेन, विद्यालय जाने आत्मविश्वाससमेत खोसिदियो ।
    खुट्टामा लगाउने चप्पल थिएन, शरीरमा लगाउने लुगा पर्याप्त थिएन । नाङ्गो खुट्टा र च्यातिएका कपडामा विद्यालय जाने आँट मभित्र बाँकी रहेन । साथीहरू किताब बोकेर विद्यालयतिर लाग्दा मेरो मन पनि उनीहरूकै पछि दौडिन्थ्यो होला । तर मनको रहरले मात्र पेट भरिँदैन रहेछ, न त रहरकै भरमा च्यातिएको कपडा फेरिँदो रहेछ । त्यो उमेरमा मेरो हातमा कलम र कापी हुनुपर्ने थियो । अक्षरहरू कोर्नुपर्ने औँलाहरूले भविष्यका सुन्दर चित्र बनाउनुपर्ने थियो । तर नियतिले मेरा कलिला हातमा ठेकेदारको गैंती र साबेल थमाइदियो । खोपासीका साहुबाट वर्षभरिका लागि लुगा, चिउरा र तेल उधारो ल्याएर छाक टार्नुपर्ने हाम्रो बाध्यता थियो । घरको चुलो निभ्न नदिन र परिवारको भोक मेटाउन बुवा ऋणको भारी बोकेर हिँड्नुहुन्थ्यो । तीन दिनको पैदल बाटो हिँडेर घर फर्कँदा उहाँको अनुहारमा देखिने थकान र आँखामा लुकेका आँसुले मेरो कलिलो छाती चिरिन्थ्यो ।
    बुवाको शरीर थाकेको हुन्थ्यो, पाइला गलिसकेका हुन्थे, तर परिवारप्रतिको जिम्मेवारीले उहाँलाई विश्राम लिन दिँदैनथ्यो । उहाँको पसिनामा हाम्रो परिवारको भोक मिसिएको थियो, उहाँको थकानमा हाम्रा अभावहरू लुकेका थिए । उहाँका हातका ठेलाहरूभित्र हाम्रा रहरहरूको मूल्य गाडिएको थियो । त्यतिबेला म सानै थिएँ । तर बुवाको पीडा बुझ्न उमेरले छेकेन । उहाँको अनुहारमा देखिने थकानले मलाई समयभन्दा छिटो ठूलो बनाउँदै लग्यो । बुवाको दुःख कम गर्न सकूँ, परिवारको छाक टार्न सकूँ भन्ने चाहनाले मलाई कलिलै उमेरमा श्रमको कठोर बाटोमा धकेल्यो । बाल्यकालका ती घाउहरू निको हुन नपाउँदै जीवनले अर्को परीक्षा लिन थाल्यो । त्यसपछि देशमा आँधीबेहरी आयो । २०५८ सालमा सङ्कटकाल घोषणा भयो । देशभरी त्रासको वातावरण फैलियो । भर्खर सोह्र वर्षको लाठे उमेरमा, छातीभरी देश बदल्ने र आफ्नै गरिबीको रेखा मेटाउने सपना बोकेर म जनमुक्ति सेनामा होमिएँ ।
    त्यो उमेरमा मेरा आँखाले जीवनका सुन्दर दृश्यहरू देख्नुपर्ने थियो । काँधमा जिम्मेवारीभन्दा बढी सपनाको भारी हुनुपर्ने थियो । तर मेरो भागमा बारुदको गन्ध, बन्दुकको चर्को आवाज र मृत्युको छायासँगै हिँड्नुपर्ने दिनहरू आए । पन्ध्र–बीसवटा कारबाही र भीषण मोर्चाहरूमा म मृत्युको आँखामा आँखा जुधाएर उभिएँ । हरेक मोर्चामा जीवन र मृत्युबीचको दूरी कति सानो हुँदो रहेछ भन्ने अनुभूति गरेँ । शरीरमा गोली र छर्राका खतहरू बोकेँ । सहयोद्धाहरूको रगत देखेँ, उनीहरूका लासमाथि टेक्दै अघि बढ्नुपर्ने कठोर क्षणहरू भोगेँ । कयौँपटक मृत्यु मेरो सामुन्ने उभियो, तर म जिउँदै फर्किएँ ।  मृत्युको मुखबाट फर्किएका ती दिनहरू सम्झँदा आज पनि शरीरमा एक किसिमको सिरिङ्ग हुन्छ । जीवन जोगिएको खुसी त थियो, तर त्यससँगै अनेक पीडा र सम्झनाहरू पनि बाँचेका थिए । युद्धले शरीरमा मात्र घाउ बनाउँदैन रहेछ, मनको गहिराईमा पनि कहिल्यै नमेटिने छाप छोड्दो रहेछ ।
    शान्ति प्रक्रिया सुरु भएपछि मनमा फेरि एउटा सानो आशा पलायो–अब त जीवनले अलिकति सहज बाटो समात्ला कि ! अब त बन्दुकको सट्टा किताब समात्न पाइएला कि ! अब त जीवनलाई नयाँ ढङ्गले अघि बढाउन सकिएला कि ! २०६४ सालमा, २४ वर्षको उमेरमा, म फेरि विद्यालयको संसारमा फर्किएँ । उमेरले नेटो काट्न थालेको थियो, तर पढ्ने तिर्खा मेटिएको थिएन । परिस्थितिले वर्षौँअघि छुटाएको पढाईलाई फेरि समात्ने अठोट गरेँ । पसिना र कठोर मेहनतका साथ प्लस टु (+२) सम्मको पढाई पूरा गरेँ । मेरो लागि त्यो केवल शैक्षिक यात्रा थिएन । त्यो त गरिबीले बीचैमा खोसेको बाल्यकालसँगको पुनर्मिलन थियो । परिस्थितिले च्यातिदिएको सपनालाई फेरि सिलाउने प्रयास थियो । समयले पछि पारे पनि इच्छाशक्तिले हार मान्नुपर्दैन भन्ने आफ्नै जीवनलाई दिएको जवाफ थियो । केही समय सानोतिनो जागिर पनि गरेँ । तर परिवारको दुःखको भारी बोक्न त्यो आम्दानी पर्याप्त भएन । घरमा अभाव उस्तै थियो, जिम्मेवारी उस्तै थिए । परिवारको अनुहारमा खुसी ल्याउने चाहना मनभित्र झन् बलियो हुँदै गयो । आफ्नो जीवन बदल्ने र परिवारको भविष्य उज्यालो बनाउने आशामा फेरि अर्को बाटो रोज्न बाध्य भएँ ।
    अन्ततः राहदानी बोकेर मलेसियाको कडा घाममा तीन वर्ष पसिना बगाउन पुगेँ । विदेशको भूमिमा श्रम बेच्नु सजिलो थिएन । आफ्नै देशको माटो छाडेर पराइ भूमिमा पसिना बगाउँदा मनमा अनेकौँ पीडा एकैपटक उर्लिएर आउँथे । घामको तापले शरीर पोल्थ्यो, श्रमले हाडछाला गलाउँथ्यो, अनि मनले घरको सम्झनामा आफूलाई सम्हाल्न खोज्थ्यो । त्यहाँ पसिना बगाउनु मात्र पीडा थिएन; आफ्नो श्रमको मूल्य खोज्नु, पराइ ठाउँमा अपमान सहनु र घरपरिवारबाट टाढा बसेर दिन काट्नु पनि उत्तिकै कठिन थियो । तीन वर्षको कठोर श्रमपछि म स्वदेश फर्किएँ । तर देश फर्किंदा मनले खोजेको सहजता भेटिएन । आफ्नै देशमा बेरोजगार भएर बस्नुपर्ने पीडा झन् असह्य लाग्यो । अब के गर्ने ? कहाँ जाने ? कसरी परिवारको जिम्मेवारी पूरा गर्ने ? यी प्रश्नहरू मनमा दिनरात घुमिरहे । 
    दुबई र माल्टा जाने सपना देखेर दलालहरूको पछि लागें । मनमा विदेश जाने आशा थियो, परिवारको आर्थिक अवस्था सुधार्ने चाहना थियो । तर निर्दयी दलालहरूले जीवनभरको कमाई नै फसाएर मलाई सडकमा पु¥याइदिए । फेरि एकपटक विश्वास टुट्यो, सपना भत्कियो र नियतिले मलाई पुरानै ठाउँमा ल्याएर उभ्याइदियो । जीवनका अनगिन्ती हन्डर खाँदाखाँदै म फेरि त्यही पुरानो ठेकेदारको गैंती र साबेल समात्न बाध्य भएँ । जसबाट छुटकारा पाउन मैले बाल्यकालदेखि सङ्घर्ष गरेको थिएँ, जीवनले फेरि त्यही श्रमको घेराभित्र धकेलिदियो । कहिलेकाहीँ लाग्थ्यो, के मेरो भाग्यमा यही लेखिएको हो ? के मेरा सपनाहरू सधैँ अभावकै ढुङ्गाले थिचिइरहने हुन ?
    जीवनले मलाई थकाउन सके पनि पूर्ण रूपमा हराउन सकेन । मनको कुनै कुनामा अझै एउटा सानो उज्यालो बाँकी थियो । त्यो उज्यालो थियो–पढाईप्रतिको मोह, परिवारप्रतिको जिम्मेवारी र बुवाको दुःख कम गर्ने अठोट । यस्तै सङ्घर्षका बीच मेरो मेरुदण्ड, मेरो मियो–मेरा बुवा–बिरामी पर्नुभयो । एकातिर आर्थिक सङ्कटको चाप, अर्कोतिर बुवाको ओछ्यानको बास । परिवारको छाक टार्ने जिम्मेवारी र बुवाको उपचारको चिन्ता एकैसाथ मेरो काँधमा आइपरे। बुवाको अनुहार हेर्दा मन भक्कानिन्थ्यो । उहाँको दुःख कम गर्न पाए हुन्थ्यो, उहाँलाई आराम दिन पाए हुन्थ्यो, जीवनभर उहाँले बोक्नुभएको जिम्मेवारीको केही भार भए पनि आफ्नो काँधमा सार्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । यही परिस्थितिका बीच मैले अस्थायी रूपमा शिक्षण पेसा सुरु गरेँ । कक्षाकोठामा उभिएर बालबालिकालाई अक्षर चिनाउन थालेँ । अरूका छोराछोरीको भविष्य उज्यालो बनाउने काममा लाग्दा आफ्नै जीवनले भोगेका अँध्यारा दिनहरू बारम्बार सम्झनामा आउँथे । पढाईबाट टाढिनुपर्दाको पीडा भोगेको मलाई शिक्षाको महत्व अरूले भन्दा गहिरोसँग महसुस हुन्थ्यो । तर त्यो खुसी पनि लामो समय टिकेन । अस्थायी जागिरको भर थिएन, भविष्यको सुनिश्चितता थिएन । जीवनले फेरि अर्को मोड लिनुपर्ने अवस्था सिर्जना ग¥यो ।
    तैपनि मैले हार मानिनँ । अन्ततः जीवनको ३८ औँ बसन्तसम्म आइपुग्दा मैले न भोकको अगाडि घुँडा टेकेँ, न शोकको अगाडि आफूलाई पूर्ण रूपमा कमजोर हुन दिएँ । न युद्धको त्रासले मेरो पाइला रोक्न सक्यो, न विदेशको आँसु र पसिनाले मेरो आशा पूरै निभाउन सक्यो । न दलालको ठगीले, न ठेकेदारको कठोर श्रमले मेरो मनभित्र बाँचेको सपनालाई अन्तिम पटकसम्म मर्न दियो । ३८ वर्षको उमेरमा, दिनरातको कठोर तपस्या, निरन्तर मेहनत र अथक प्रयासपछि म अन्ततः स्थायी प्राथमिक शिक्षक (प्रा.वि.) मा नाम निकाल्न सफल भएँ ! त्यो क्षण मेरा लागि केवल जागिर प्राप्तिको क्षण थिएन । त्यो त वर्षौँदेखि थिचिएको आत्मसम्मानले शिर उठाएको क्षण थियो । गरिबीले विद्यालयको ढोकाबाट फर्काएको एउटा बालक फेरि शिक्षाको संसारमा फर्किएको क्षण थियो । गैंती र साबेल समातेका हातले अन्ततः किताब समातेर भविष्यका कर्णधारहरूलाई पढाउने अवसर पाएको क्षण थियो ।
    मेरो हातमा स्थायी नियुक्तिको पत्र आयो । त्यो कागजको टुक्रा मात्र थिएन; त्यो मेरो जीवनभरको सङ्घर्षको प्रमाण थियो । त्यसमा मेरा पसिनाका थोपा थिए, युद्धका घाउहरू थिए, मलेसियाको चर्को घाम थियो, दलालको ठगी थियो, ठेकेदारको कठोर श्रम थियो र वर्षौँदेखि मनभित्र दबाएर राखेको एउटा सानो तर अटल सपना थियो । म त्यो नियुक्तिपत्र बोकेर हतारहतार बुवालाई देखाउन घरतिर दौडिएँ । मनमा खुसीको सीमा थिएन । बाटोभरि एउटै कल्पना आइरह्यो–बुवाको अगाडि उभिनेछु, नियुक्तिपत्र उहाँको हातमा थमाउनेछु र भावुक हुँदै भन्नेछु, ‘बुवा, तपाईंको छोरो अब स्थायी सरकारी शिक्षक भयो !’ त्यो क्षण सम्झँदा आज पनि मनभित्र खुसीको लहरसँगै एउटा गहिरो पीडा उठेर आउँछ । हाय, नियति ! म घर पुग्दा मेरो सफलता हेर्न, मेरो नियुक्तिको कागज छुन र मलाई छातीमा बाँधेर छाती चौडा पार्न मेरा बुवा यो संसारमा हुनुहुन्नथ्यो । बिरामी बुवाले छोराको सफलताको खबर सुन्न पाउनुभएन । उहाँका आँखाले त्यो दिन देख्न पाएनन्, जसका लागि उहाँले जीवनभर पसिना बगाउनुभएको थियो । उहाँको त्याग र सङ्घर्षको साक्षी बनेको म सफलताको ढोकासम्म त पुगेँ, तर त्यो खुसी उहाँसँग बाँड्ने अवसर गुमाइसकेको रहेछु ।
    सायद यही नै जीवनको सबैभन्दा ठूलो विडम्बना हो–कहिलेकाहीँ हामी जुन खुसीका लागि जीवनभर सङ्घर्ष गर्छौँ, त्यो खुसी हातमा आइपुग्दा त्यसलाई बाँड्न चाहेको मान्छे नै हाम्रो साथमा हुँदैन । आज म शिक्षक भएको छु । कक्षाकोठामा सेतो चक र डस्टर बोकेर उभिँदा म विद्यार्थीहरूलाई पढाउँछु । उनीहरूलाई अक्षर चिनाउँछु, ज्ञानको बाटो देखाउँछु र भविष्यका सपनाहरू बुन्न सिकाउँछु । तर हरेकपटक कक्षाकोठामा उभिँदा मेरो मनको कुनै कुनामा एउटा पुरानो दृश्य जागेर आउँछ–नाङ्गो खुट्टाले विद्यालय जान नसकेको त्यो बालक, च्यातिएको कपडामा लुकेको उसको आत्मसम्मान र परिस्थितिले बीचैमा खोसेको उसको पढाइ । मेरा विद्यार्थीहरूको आँखामा भविष्यका सपना देख्दा म आफ्नै बाल्यकालको अनुहार देख्छु । उनीहरूको हातमा कापी र कलम देख्दा आफ्ना ती खाली हातहरू सम्झन्छु । अनि मनमनै कामना गर्छु–कुनै पनि बालबालिकाको सपना गरिबीका कारण अधुरो नरहोस्, कुनै पनि बालकले अभावकै कारण विद्यालय छाड्न नपरोस् । मैले जनमुक्ति सेनाको बारुद सहेँ, मलेसियाको चर्को घाम सहेँ, दलालको ठगी सहेँ, ठेकेदारको कठोर श्रम सहेँ । जीवनका अनेकौँ दुःखका दिनहरू पार गरेँ । तर आफ्ना दुःखका दिनहरू समाप्त गरेर बुवालाई स्थायी नियुक्तिको त्यो कागज देखाउन नपाएको पीडा भने म कहिल्यै सहजै सहन सक्दिनँ । किनकी त्यो नियुक्तिपत्रमा मेरो नाम मात्र लेखिएको थिएन । त्यहाँ बुवाको पसिना थियो, आमाको त्याग थियो, परिवारको अभाव थियो र मैले बाल्यकालदेखि बोकेको सङ्घर्षको लामो इतिहास थियो ।
    आज पनि एक्लै हुँदा मेरो हातमा रहेको नियुक्तिपत्र सम्झेर आँखाबाट आँसुका थोपा खस्छन् । सफलताको त्यो कागज छातीमा टाँसेर बुवाको अगाडि उभिन नपाएको पीडाले मन चिरिन्छ । संसारका लागि म सफल शिक्षक हुँला, समाजका लागि सङ्घर्ष गरेर अघि बढेको एउटा उदाहरण हुँला । तर मेरो मनको एउटा कुनामा म अझै त्यही बालक हुँ, जो आफ्नो सफलताको प्रमाण बुवाको हातमा राखेर उहाँको अनुहारमा गर्वको उज्यालो हेर्न चाहन्थ्यो । बुवा, तपाईंले जीवनभर दुःख गर्नुभयो । मेरो भविष्यका लागि आफ्नो वर्तमानलाई पसिनामा भिजाउनुभयो । परिवारको खुसीका लागि आफ्ना रहरहरू दबाउनुभयो । तपाईंका ती थाकेका पाइला, पसिनाले भिजेका लुगा र आँखामा लुकेका पीडाहरू आज पनि मेरा स्मृतिमा ताजै छन् । तपाईंले मलाई विद्यालयसम्म पु¥याउन नसक्नुभएको त्यो समय मेरो असफलता थिएन, बुवा । त्यो समय हाम्रो गरिबीको विवशता थियो । तपाईंको माया कम भएर होइन, परिस्थितिको घेरा ठूलो भएर मैले विद्यालय छाड्नुपरेको थियो । तपाईंले चाहेर पनि पूरा गर्न नसक्नुभएका ती रहरहरू पूरा गर्ने सङ्कल्प बोकेर नै म जीवनको कठिन यात्रामा अघि बढेको थिएँ ।
    आज तपाईंको छोरो शिक्षक भएको छ, बुवा । तपाईंले कहिल्यै पूरा गर्न नपाएका मेरा रहरहरूलाई मैले वर्षौँको सङ्घर्षपछि केही हदसम्म पूरा गरेको छु । तर यो सफलता तपाईंको आँखाले देख्न पाएन । तपाईंको हातले मेरो नियुक्तिपत्र छुन पाएन । तपाईंको छातीमा टाँसिएर ‘बुवा, म सफल भएँ’ भन्न पाइनँ । त्यही एउटा अधुरोपनले मेरो सफलताको खुसीलाई हरेक दिन अलिकति भिजाइरहन्छ । बुवा, जहाँ हुनुहुन्छ, त्यहीँबाट हेरिरहनुभएको होला नि ? तपाईंको त्यही नाङ्गो खुट्टाले विद्यालय जान नसकेको छोरो आज अरूका छोराछोरीलाई पढाइरहेको छ । तपाईंको पसिना र दुःखले हुर्किएको छोरो आज चक र डस्टर बोकेर कक्षाकोठामा उभिएको छ । तर यो सफलता देख्ने तपाईं हुनुहुन्न । बुवा, तपाईंको छोरो आज स्थायी शिक्षक भएको छ । यो खुसी सुनाउन म धेरै ढिलो भएँ, बुवा । तपाईंको हात समातेर यो खबर सुनाउने समयले मलाई साथ दिएन । तर मेरो जीवनको हरेक उपलब्धिमा तपाईंको पसिना मिसिएको छ, हरेक पाइलामा तपाईंको त्यागको छाया छ र मेरो सफलताको हरेक अक्षरमा तपाईंको नाम लेखिएको छ ।
    तपाईं मेरो सफलताको साक्षी बन्न पाउनुभएन, बुवा । तर मेरो सफलताको जग तपाईं नै हुनुहुन्छ । आज म शिक्षक बनेको छु, बुवा–तर मेरो सफलताको खबर सुन्न तपाईं हुनुहुन्न । सायद जीवनभर मैले बोकिरहने सबैभन्दा भारी दुःख यही हो । 

– सलन मगर
खानीखोला, काभ्रे