2026 October 30/ 05:01: 38pm

    पनौती/बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई सडक मानवमुक्त घोषणासँगै आवश्यक पूर्वाधार तथा स्थायित्वका लागि थप योजना निर्माणसहित बजेट व्यवस्थापन गरिएको बताएका छन् ।
    दसैँको अन्तिम दिन पनौती–५ स्थित ढलमलेमा रहेको मानव कल्याण समाजको बाल सेवा घरमा रहेका ३८ जना बालबालिकालाई टीकासहितको आशीर्वाद प्रदान गर्दै मुख्यमन्त्री थापाले बालबालिकाको संरक्षण तथा मानव सेवाका लागि हरेक वर्ष प्रदेश सरकारले बजेट व्यवस्थापन गरिरहेको बताए । चालु आर्थिक वर्षका लागि ५ करोड रकम विनियोजन गरिएकाले उक्त रकमबाट बालबालिकाका साथै सडक मानवका लागि आवश्यक पूर्वाधार, जनशक्ति र भएका क्षेत्रहरूको व्यवस्थापनमा खर्च गरिने मुख्यमन्त्री थापाले बताए ।
    महाविपत्तिमा रहेका रसुवा, धादिङ, नुवाकोट र चितवनका १५ वटा पालिकामा अलपत्र अवस्थामा रहेका अभिभावकविहीन बालबालिका तथा आश्रय नभएका नागरिकका लागि पुनःस्थापनाका लागि घरटहरा निर्माण, पुल, सडक, खानेपानी तथा शिक्षाका लागि विद्यालय, स्वास्थ्यका भवन तथा सेवाको व्यवस्थापन बागमती प्रदेश सरकारले गरिरहेको उनले बताए । शिक्षाका लागि प्रदेश सरकारले सबै खर्च ब्यहोर्ने गरी दक्षिणकालीमा आवासिय विद्यालयको समेत ब्यवस्थापन गरेको उनले बताए । साथै मृत्यु भएका व्यक्तिका परिवारका सदस्यलाई तत्काल किरिया गर्ने खर्चका लागि २५ हजार र मृत्युपछिको राहत १ लाख रुपैयाँ उपलब्ध गराउन भुक्तानी दिने प्रक्रिया सुरु गरिएको बताए । त्यस्तै पालिकाहरूमा तत्कालको राहत, पुनःस्थापना र पुनर्वासका लागि आवश्यक रकम विनियोजन गरेको उनले बताए ।
    बागमती प्रदेशमा केही वर्षयता महाविपत्तिका घटनाहरूको शृङ्खला रहिरहेको बताउँदै उनले मेलम्ची, रोशीपछिको रसुवा बाढीले धेरै जनधनको क्षति पुगेको बताए । प्रदेश सरकार हरेक विपत्तिमा नागरिकहरूको अभिभावक बनिरहेको बताउँदै धर्म कमाउन मन्दिर जानुभन्दा सडकमा भएका वा अलपत्र परेका मानवहरूको सेवामा समर्पित रहनु महत्वपूर्ण हुने बताए । प्रदेश सरकारले युवा, कृषि, व्यावसायिकता तथा पूर्वाधार निर्माणलाई समेत प्राथमिकतामा राखेको उनले बताए । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दीपकुमार गौतम, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा, वडा नम्बर ५ का अध्यक्ष विनोद खत्री, वडा नम्बर ४ का वडा सदस्य प्रकाश बञ्जारा, समाजसेवी तथा भक्तपुर जिल्लाका स्थायी बासिन्दा डा. गोपिकृष्ण न्यौपाने, नेपाली कांग्रेस पनौती नगर सभापति रूपक महत, भक्तपुर जिल्लाका समाजसेवी दिलीप केसीलगायतले मानव कल्याण समाजले नेपालका विभिन्न जिल्लामा रहेर सडक मानवका क्षेत्रमा पु¥याएको सहयोगका बारेमा चर्चा गरेका थिए । सुमित्रा चौलागाईं उर्फ सुमी मानवका नामबाट सुरु भएको अभियानले नेपालका विभिन्न जिल्लामा सडक मानवहरूलाई सेवा प्रदान गरिरहेको छ ।