2026 October 30/ 06:41: 52pm

    धुलिखेल/जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले असोज महिनामा सम्पादन गरेका कार्य तथा अपराध अनुसन्धान र नियन्त्रणसम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ । प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार असोज महिनामा जिल्लाभित्र शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा जनसचेतनाका क्षेत्रमा महत्वपूर्ण काम भएका छन् ।
    असोज महिनामा जिल्लामा विभिन्न शीर्षकमा ५७ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये ३० वटा फछ्र्यौट भइसकेका छन् भने २७ वटा अनुसन्धानका क्रममा रहेका छन् । मुद्दा प्रक्रियाका क्रममा ३८ जना प्रतिवादी पक्राउ परेका छन् । साथै, पुराना फैसला कार्यान्वयनका क्रममा २० जना पक्राउ परी १० वर्ष ८ महिना १३ दिन कैद सजाय र ६० हजार ९०० रुपैयाँ जरिवाना असुल भएको छ । प्राकृतिक सम्पदा दोहन नियन्त्रणका क्रममा ४३ वटा सवारी साधनलाई कारबाही गरी नदीजन्य सामग्रीको अवैध ढुवानी नियन्त्रणबाट थप १२ लाख ६७ हजार रुपैयाँ बराबरको राजस्व दाखिला गरिएको प्रहरीले जनाएको छ । अवैध मदिरा नियन्त्रण अभियान अन्तर्गत असोज १ देखि ३१ गतेसम्म जिल्लाका विभिन्न स्थानबाट १३ हजार १९५ लिटर घरेलु मदिरा, २५ ९० लिटर कच्चा पदार्थ र १९४७ केजी मर्चा बरामद गरी ११५ वटा भट्टी नष्ट गरिएको छ । यस्तै, ४९७ ग्राम गाँजासहित २ जनालाई पक्राउ गरिएको छ ।
    असोज महिनाभर ३ वटा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । चेकिङका क्रममा ५०३ वटा सवारी साधनलाई कारबाही गरी ४ लाख ६६ हजार रुपैयाँ राजस्व दाखिला गरिएको छ । असोज महिनामा झुण्डिएर १० जनाले आत्महत्या गरेका छन् । यसैगरी, चालु आर्थिक वर्षको श्रावणदेखि असोजसम्म ४३ जना हराएकोमा ३६ जना फेला परेका छन् भने ७ जना अझै सम्पर्कविहीन रहेका छन् । प्रहरीले जिल्लाभर लागूऔषध, घरेलु हिंसा, साइबर अपराध, ट्राफिक नियम र आत्महत्या न्यूनीकरण जस्ता विषयमा ८४ वटा समुदाय–केन्द्रित र ११ वटा विद्यालय–केन्द्रित गरी कुल ९५ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । यी कार्यक्रमहरूबाट कुल २ हजार ३२ जना नागरिक लाभान्वित भएका छन् । प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न सामूहिक जन्मोत्सव मनाउने, उत्कृष्ट काम गर्नेलाई नगद पुरस्कार दिने र १२६ जना प्रहरीको आँखा जाँच तथा स्वास्थ्य परीक्षण गरिएको छ ।