2026 June 20/ 07:55: 59am

धुलिखेल/नेपाली सेना कालीजंग गण धुलिखेलले स्थानीय सरकार तथा संघ संस्थाहरुको समन्वयमा धुलिखेलमा नागरिकहरुको पहुँच पुग्ने स्थान धुलिखेल उद्योग बाणिज्य संघ परिसरमा ब्याडमिन्टन कोर्ट निर्माण गरेको छ । 
    ‘नागरिकहरु स्वस्थ रहँदा मुलुक निर्माण र राष्ट्र स्वस्थ रहन सहयोग पुग्छ’–कालीजंग गण धुलिखेलका गणपति कर्णेल प्रकाशबहादुर सिंहले भन्नुभयो–‘नागरिक र सेना समुदाय निर्माणका पर्यावाची हुन् ।’ स्वस्थ रहँदा ब्यक्ति, परिवार र समुदायलाई समेत योगदान पुग्न सक्ने भएकाले शारिरिक तन्दुरुस्तताका लागि ब्याड मिन्टन महत्वपूर्ण विद्या भएकाले त्यसका लागि सहयोग गरिएको कर्णेल सिंहले बताउनु भयो । धुलिखेलमा फुटबल मैदान, भलिबल कोर्ट सँगै भएकाले ब्याड मिन्टन खेल्न चाहनेहरुका लागि थप सहयोग भएको वडा अध्यक्ष रोमीप्रसाद ब्याञ्जुले बताउनु भयो । 
    ब्याड मिन्टन कोर्टको समुद्धघाटन प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले गर्नु भएको थियो । उद्घाटनको अवसरमा मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरिएको थियो । धुलिखेल नगरपालिका, जिल्ला प्रशासन कार्यालय काभ्रे, धुलिखेल उद्योग बाणिज्य संघ, वडा नम्वर ७ र धुलिखेलका सक्रिय खेलप्रेमी युवाहरुको संयोजनमा नेपाली सेना कालीजंग गणले उक्त कोर्ट निर्माण गरेको हो । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।