2026 June 20/ 03:22: 38am

पनौती/पनौती नगरपालिका वडा नम्बर ४ मा भित्ते चित्रकथा कार्यशाला सुरु भएको छ । बालमैत्री वडा घोषणा दिगोपनका लागि बालबालिकाको क्षमता विकास सम्बन्धी ४ दिने कार्यशाला सुरु भएको छ । 
    पनोती नगपालिका र सिविन नेपाल, बालमैत्री वडा समिति, बाल अधिकार समिति, मित्रता वडा बाल सञ्जाल पनौतीको आयोजनामा भएको कार्यशाला माघ २१ गतेसम्म सञ्चालन हुनेछ । कार्यशाला शुभारम्भ गर्दै पनौती नगरपालिका उप–प्रमुख गीता बञ्जाराले बालबालिकाको क्षमता अभिवृद्धिका लागि कार्यशाला महत्वपुर्ण रहेको बताउनुभयो । बालबालिकामा गरिएको लगानी सुनौलो भविष्यका लागि महत्वपुर्ण रहेकाले नगरपालिकाले बालबालिकाको क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको उहाँको भनाई थियो । बालमैत्री पनौती नगरपालिका देशकै नमुना पालिका बनाउनेगरी काम गरिरहेको उप–प्रमुख बञ्जाराले बताउनुभयो । यस्तै वडा अध्यक्ष दिपक दाहालले बालबालिकामा गरिएको लगानी तत्काल नदेखिएपनि भविष्यमा अर्थपुर्ण महत्व राख्ने बताउनुभएको छ । 
    भित्ते चित्रकथा कार्यशाला बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने अवसर भएको वडा अध्यक्ष दाहालले बताउनुभयो । कार्यक्रममा पनौती नगर कार्यपालिका सदस्य राधिका विश्वकर्मा, वडा सदस्य सविता थापा, वडा सचिव राजकुमार श्रेष्ठ, सिविन नेपालका कार्यक्रम व्यवस्थापक भगवती श्रेष्ठ, प्रशिक्षक निरिजना भट्ट, बाबुराम खड्का लगायतको उपस्थिती रहेको थियो । कार्यशालामा वडा भित्रका सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत बालबालिकाको सहभागिता रहेको बालमैत्री सहजकर्ता ललिता पराजुलीले जानकारी दिनुभयो ।