2026 June 20/ 03:36: 39am

भकुण्डेवेशी/नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने वीपी राजमार्गमा फोहोर फाल्ने सवारी साधन र यात्रु तथा स्थानीयलाई कार्वाही गर्ने भएको छ । नेपाल प्रहरीसँगको सहकार्यमा नगरपालिकाले उक्त राजमार्ग प्रयोग गर्दा फोहोरजन्य सामाग्री फालेमा कार्वाही गर्ने निर्णय र सचेत गराएको छ । उक्त राजमार्ग भएर जाने सार्वजनिक र नीजि यातायातका साधन र यात्रुले जथाभावी फोहोरजन्य सामाग्री फाल्न थालेपछि नगरपालिकालको बजार व्यवस्थापन कार्यविधी, २०७८ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ अनुरुप सो निर्णय गरेको नगर प्रमुख कुन्साङ लामाले जानकारी दिनुभयो  ।  
नगरपालिकाले बुधबार एक कार्यक्रम नै गरेर सवारीसाधनका चालक र यात्रुलाई फोहोर नफाल्न अनुरोध गर्दै चेतनामूलक स्टिकर समेत टाँसेका थिए । नगरप्रमुख लामासहित उपप्रमुख रत्नबहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसी, वडा नं ७ का अध्यक्ष धर्म सिं लामा, वडा नं ४ का अध्यक्ष अर्जुन कार्की, युवा परिषद्का कार्यकारी अधिकृत रामेश्वर अधिकारी, वातावरण अधिकृत सन्तोष काफ्ले लगायत कर्मचारीहरु, प्रहरी चौकी भकुण्डेवेशीका इञ्चार्ज प्रहरी नायव निरिक्षक इन्द्रबहादुर राउत लगायतले चेतनामूलक स्टिकर टाँस गर्दै पालना नगरे कार्वाही गर्ने बताउनु भएको छ । राजमार्गमा चल्ने सबै सवारी साधन र यात्रुलाई सचेत गराएर कार्यान्वयन नभए कार्वाही गर्ने तयारी नगरपालिकाको छ । नगरपालिकाले यसअघि पनि साताव्यापी कार्यक्रम गरेर सरसफाई अभियान सञ्चालन गरिरहेको छ ।