2026 November 06/ 04:20: 48am

पनौती/सहयात्रा देवीस्थान बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको १५ औ वार्षिक साधारण सभा पनौती नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 

सभाको उद्घाटन गर्दै भण्डारीले संस्थामा वित्तीय सुशासन कायम राख्दै बहुउद्देश्यीय क्रियाकलापलाई जोड दिई सदस्यहरुको जिवनस्तर उकास्न सहकारीको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । सहकारी मार्फत कृषि, साना उद्योग जस्ता क्षेत्रबाट आर्थिक विकास गर्न सकिने उल्लेख गर्दै भण्डारीले पनौतीका सहकारीबाट त्यस किसिमको प्रस्तावना चाहेको बताउनु भयो । 
कार्यक्रममा  संविधान सभा सदस्य तथा बिशिस्ट अतिथि रामहरि सुबेदीले पनौती  भेगमा धेरै सहकारीहरु रहेका तर आफू एकमात्रै सहयात्रा सहकारीमा सदस्य रहेको र यस सहकारीको कार्य सम्पादन र सुशासन चित्त बुझ्दो रहेको भन्दै आगामी दिनहरुमा पनि उज्वल भविष्यको कामना व्यक्त गर्नुभयो । त्यसैगरी  पनौती नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भिम प्रसाद आचार्यले आफ्नै वडामा रहेको यो सहकारीले आफ्नो अस्तित्व कायम गर्दै प्रतिस्पर्धामा उत्रिन सफल भएकोमा आफू खुसी भएको भन्दै थप सफलताको कामना व्यक्त गर्नुभयो । 
पनौती नगरपालिकाका सहकारी रजिस्ट्रार इन्द्र प्रसाद अधिकारीले अन्य ठाउँमा जस्तो पनौतीका सहकारीहरु नभागेका साथै सहकारीको मुल्यमान्यता अवलम्बन गर्दै संस्थाहरु अघि बढेको र पनौती नगरको सहकारी शाखाले आवश्यकता अनुरुपका कार्यक्रम सन्चालन गर्दै आएको तथा सहकारी अभियानमा यहि क्षेत्रबाट नेत्तृत्व गर्न सफल रहि सुशासनसहित सहकारीहरु अघि बढेकोमा सहकारी शाखाको तर्फबाट धन्यवाद व्यक्त गर्दै संस्थाका विवरणहरु चित्तबुझ्दो रहेको बताउनुभयो । 
संस्थाका अध्यक्ष गोविन्द प्रसाद न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष नारायणदेवि श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका सचिव हरी शंकर तिमल्सिनाले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गत आर्थिक वर्षमा गरेका कार्य तथा आगामी वर्षका रणनीतिक योजनाका विषयमा जानकारी गराउनुभएको थियो भने कोषाध्यक्ष आनन्द सापकोटाले प्रतिवेदन मार्फत संस्थाको आर्थिक गतिविधिका विषयमा जानकारी गराउनु भएको थियो । सापकोटाका अनुसार २५ सय १२ जना शेयर सदस्य रहेको संस्थामा १७ करोड १० लाख ३४ हजार ८२ रुपैयाँ कुल पुँजी रहेको छ ।सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक नरहरि भण्डारीले प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका आर्थिक कृयाकलाप तथा गतिविधिहरुको जानकारी गराउनुभएको थियो ।