2026 June 19/ 09:13: 34pm

    पनौती/भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेल, पनौती नगरपालिका कृषि तथा पशुपक्षी शाखा, रोटरी क्लव पनौतीको संयुक्त आयोजनामा पनौती नगरपालिकामा विश्व रेविज विरुद्धको दिवसको अवसर पारी रेविजबाट शुन्य मानव निधन भन्ने नाराका साथ अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
    काभ्रेपलाञ्चोक जिल्लामा अघिल्लो आर्थिक वर्ष चौरीदेउराली गाउँपालिका, यो वर्ष भुम्लु गाउँपालिकामा रेविजको महामारी फैलिएको छ । ५० भन्दा धेरै पशुको निधन भएको छ भने मानवमा रेविज सर्न सक्ने सम्भावनालाई रोकथाम गर्न रेविज विरुद्धको भ्याक्सिन शुरु गरिएको छ । रेविजबाट मानव स्वास्थ्यलाई जोगाउन अपनाउनु पर्ने सुरक्षा उपाय तथा रोकथामका लागि स्थानीय सरकारले खेल्नु पर्ने भूमिकाका बारेमा अन्र्तक्रिया कार्यक्रममा छलफल भएको थियो । विशेष गरी सामुदायिक कुकुरहरुमा रेविज भएको र ति कुकुरहरुले बस्तुलाई तथा मान्छेलाई टोक्दा रेविज सर्ने भएकाले रोकथामका लागि ध्यान दिनु पर्ने निश्कर्ष निकालिएको थियो । केहि महिना अघि पनौती ३ कुशादेवीका एक युवालाई मोटरसाईकलमा हिड्दा हिड्दै कुकुरले टोकेको थियो । रेविज विरुद्धको खोप नलगाएका कारण उनको निधन भएको छ । सरकारले रेविज विरुद्धको खोप निशुल्क ब्यवस्था गरेको छ । कुकुरले तथा अन्य पशुपक्षीले टोकेको अवस्थामा, रेविज लागेको बस्तुको मासु काचो खानु पर्ने भएमा, दुध काँचो खाएको अवस्थामा खोप लगाउन र सकेसम्म काँचो नखान भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख राजकुमार हुमागाईले जानकारी दिनुभयो । जिल्लामा हरेक वर्ष रेविजको महामारी भइरहेकाले सचेत रहन र रोकथामका लागि स्थानीय सरकारले सामुदायिक कुकुरहरुलाई रेविज विरुद्धको भ्याक्सिन दिनु पर्ने उहाँले बताउनु भयो । 
    कार्यक्रममा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्ड, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाई, उपप्रमुख गिता बञ्जारा, बरिष्ठ प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारी, रोटरी क्लवका अध्यक्ष मधुसुदन गुरागाई, पनौती नगरपालिकाका पशुपक्षी शाखाका प्रमुख लिलानाथ सापकोटा, वडा अध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु कार्यक्रममा सहभागि थिए ।