2026 November 06/ 02:07: 34pm

          पनौती/पनौती ४ स्थित ज्यालाचिटी सामुदायिक वनले दशौं साधारण सभा सम्पन्न गरेको छ । वन उपभोक्ता समूहका अध्यक्ष समुद्र थापाको अध्यक्षता तथा पनौती नगरपालिका उपप्रमुख गीता बन्जाराको प्रमुख आतिथ्यतामा वडा नम्बर ४ को सभा हलमा साधारण सभा सम्पन्न गरेको हो । सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय कोषाध्यक्ष शान्ता न्यौपानेको विशेष आतिथ्यता रहेको कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दीपक प्रसाद दाहाल, छिमेकी वन उपभोक्ता समूहका अध्यक्षहरु, स्थानीय संघ संस्थाका प्रतिनिधि, सामुदायिक वन उपभोक्ता महासंघ पनौती नगरका सदस्यहरू, तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
            वन उपभोक्ता समूहका पूर्व कोषाध्यक्ष पूर्णकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा समूहका उपाध्यक्ष सोबिना चौलागाईंले स्वागत गरेकी थिइन् । समूहका सचिव गंगा श्रेष्ठले प्रशासनिक प्रतिवेदन पेश गरेकी थिइन् भने समूहका कोषाध्यक्ष नरेन्द्र बस्नेतले आर्थिक प्रतिवेदन पेश गरेका थिए । सामुदायिक वन उपभोक्ता महासंघ पनौती नगरका सदस्य श्यामहरी महाजु, पनौती नपा वडा नम्बर ४ का वडा अध्यक्ष दीपक प्रसाद दाहाल, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय कोषाध्यक्ष शान्ता न्यौपाने लगायतले वन व्यवस्थापन, त्यसको सम्बद्र्धन र उपभोग गर्ने तौर तरिका, नीति, विधि, र परिमार्जित कानुनको बारेमा व्याख्या गरेका थिए । सोही कार्यक्रममा पूर्व वन हेरालु चन्द्रबहादुर श्रेष्ठलाई नगदसहित प्रमाणपत्र तथा दोसल्लाद्वारा सम्मान गरिएको थियो ।
             कार्यक्रमका प्रमुख अतिथि पनौती नगरका उपप्रमुख गीता बन्जाराले ज्यालाचिटी वनको सुरुवातदेखि नै निगरानी गर्दै रहेको र त्यसमा परेको समस्याहरू ,त्यसले गरेका सुधारहरू तथा अब गर्नुपर्ने नयाँ कार्यनीति, कार्ययोजना तथा सम्भावित कार्यक्रमहरूपछि सजग गराउनु र नगरपालिकाद्वारा सहयोग गर्ने बचनबद्धता समेत गरेकी छिन् । कार्यक्रमका सभापति तथा ज्यालाचिटी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष समुद्र थापाले वनको यथार्थ स्थिति, तत्काल सम्पन्न गरेका कार्यहरू र भावी योजनाहरू बारे जानकारी दिएका थिए ।