बनेपा/‘रक्तदान जीवनदान’ भन्ने मूल सन्देशका साथ ७१ औँ प्रहरी दिवस, २०८३ को अवसरमा जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकको आयोजनामा बनेपाको चारदोबाटोमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ६१ जनाले रक्तदान गरेको उक्त कार्यक्रममा विभिन्न सामाजिक संघ सस्थाको सहजिकरण र समन्वय रहेको थियो ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन कार्की, प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्ट, इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी राकेश थापालगायतको उपस्थिति रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी, काभ्रे शाखाको सहयोग तथा लायन्स क्लब अफ काभ्रेको समन्वयमा आयोजित कार्यक्रममा लायन्स क्लब अफ काभ्रेकी अध्यक्ष निरु बैदार, रक्तदान कार्यक्रम संयोजक इन्द्रलक्ष्मी घिमिरे, नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका मन्त्री राजु सिग्देललगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।
रक्तदान जीवन बचाउने महत्त्वपूर्ण मानवीय कार्य भएकाले यसको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने र आवश्यकतामा रहेका बिरामीलाई रगतको अभाव हुन नदिन सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । रगतको विकल्प रगत नै भएकाले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्न सकेमा आकस्मिक दुर्घटना, शल्यक्रिया तथा विभिन्न रोगका कारण रगत आवश्यक पर्ने बिरामीको जीवन बचाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
७१ औँ प्रहरी दिवसको अवसरमा आयोजित यस कार्यक्रमले प्रहरी संगठनको व्यावसायिक जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्व, मानवीय सेवा र समुदायसँगको सहकार्यलाई समेत उजागर गरेको छ । ‘रक्तदान जीवनदान’ भन्ने सन्देश प्रवाह गर्दै आयोजना गरिएको कार्यक्रमले आम नागरिकलाई रक्तदानप्रति प्रेरित गर्ने अपेक्षा गरिएको छ । प्रहरी कार्यालय परिसरमा सोहि अवसरमा बृक्षारोपण गरिएको थियो ।









