पनौती/विश्वभर शान्ति र सद्भाव फैलाउने उद्देश्यले पनौतीदेखी नमोबुद्धसम्म साँस्कृतिक शान्ति पदयात्रा आयोजना गरिएको छ ।
विश्व शान्ति दिवस र विश्व पर्यटन दिवसको अवसर पारेर जिल्ला समन्वय समिति काभ्रे र काभ्रे सेवा समाजको आयोजनामा पदयात्रा गरिएको हो । पदयात्राको शुभारम्भ अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले गर्नुभएको हो । शान्ति पदयात्रा शुभारम्भ गर्दै रेग्मीले पनौती र नमोवुद्ध दुई महत्वपुर्ण धार्मिकस्थल जोड्ने शान्ति पदयात्राको महत्व र अर्थ विशेष रहेको बताउनुभयो । पदयात्राले शान्ति र सँस्कृतिप्रेमी नेपालीको व्यवहारिक पहिचान दिन सफल भएको उहाँको भनाई छ ।
मन्त्रीपरिषद्का अध्यक्ष रेग्मीले सुख र शान्ति मानिसको चाहाना भएको भन्दै शान्ति लडेर, जितेर नभई प्रेम, सद्भाव र समझदारीबाट प्राप्त गर्न सकिने बताउनुभएको छ । पहिलो र दोस्रो विश्वयुद्धले विध्वंस पारेपछि संयुक्त राष्ट्रसंघको जन्म भएको र विश्व शान्ति दिवस मनाउन थालिएको उहाँले बताउनुभयो । रेग्मीले उत्तरप्रयागको नामले चिनिने पनौती त्रिवेणीको ऐतिहासिक, धार्मिक र साँस्कृतिक रुपमा विशेष महत्व रहेको बताउनुभयो ।
नमोबुद्धको पनि आफ्नै ऐतिहासिक साँस्कृतिक महत्व रहेको भन्दै रेग्मीले कार्तिक पुर्णिमा र वैशाख पुर्णिमामा नमोवुद्धमा ठुलो मेला लाग्ने गरेको बताउनुभयो । कुशेऔंसीको अवसरमा नमोवुद्ध जात्रा पनौतीमा हुने परम्परा रहेको उल्लेख गर्दै उहाँले पनौती र नमोवुद्धको धार्मिक, ऐतिहासिक र साँस्कृतिक सम्बन्ध प्रष्ट हुने बताउनुभयो ।
कार्यक्रममा पुर्वमन्त्री एवं संघीय सांसद गोकुल बास्कोटाले जापानीजहरुले आफ्नो वैभव र शान अहंकारका कारण गुमाएपछि, अमेरिकी एटम बम खाएपछि आत्मबल बनाउन नेपालको मनास्लु हिमाल रोजेको प्रसंग उल्लेख गर्दै त्यसपछि जापान केहि गर्न सक्छौं भनेर आज यो अवस्थामा आइपुगेको बताउनुभयो । नेपालीहरु पनि भुकम्प र राजनीतिक अस्थिरताले छट्पटिरहेको बताउँदै बास्कोटाले अब देश निर्माणको अभियान थाल्नुपर्ने बताउनुभएको छ । पर्यटन मार्फत देश विकास गर्ने अभियानमा शान्ति पदयात्रा कोशेढुुंगा बन्ने उहाँको विश्वास छ ।
कार्यक्रममा पूर्वमन्त्री एवं संघीय सांसद् सुर्यमान दोङ, बागमती प्रदेशका मन्त्रीद्वय लक्ष्मण लम्साल र तीर्थ लामालगायतको उपस्थिति रहेको थियो । पदयात्रा समापनमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले जिल्लाको विकासको लागि काभ्रेली सक्षम भएको सन्देश पदयात्राले दिएको बताए । त्यसैगरी नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले नमोबुद्ध आइपुग्ने सबै पर्यटकलाई आभार प्रकट गर्दै संघ, प्रदेश र अन्य निकायको सहयोगमा नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सुचिकृत गरिने बताउनुभयो । काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद केसीले नमोबुद्धको पर्यटकीय विकासको लागि पदयात्रा फलदायी हुने र उनले सह–आयोजकको रुपमा पदयात्राको उत्कृष्ट व्यवस्थापन गरेको नमोबुद्ध नगरपालिकालाई आधार प्रकट गर्नुभयो । ठाङ्गु टासि याङ्चे गुम्बाका उपाध्यक्ष आचार्य लामा कर्मा फुर्वु शेर्पा, नमोबुद्ध भगवान घ्या गुठीका लामा गुरु सानुकान्छा लामा लगायतले नमोबुद्ध परिसरको ऐतिहासिकता र महत्वबारे चर्चा गर्नुभएको थियो । पदयात्रामा सयौंको सहभागिता रहेको थियो ।





