मोतीराम तिमल्सिना
बनेपा
सत्ताको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि छ महिना अघिदेखि नै उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । २०८४ सालमा हुनुपर्ने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टीले नगर, गाउँपालिका तथा वडा तहका विभिन्न पदमा उम्मेदवारी दिन इच्छुक कार्यकर्ताका लागि आवेदन खुला गरेको छ । आकांक्षीहरूलाई फाराम भर्न र ‘क्याण्डिडेट क्लब’मा सहभागी हुन आह्वान गरिएको छ ।
‘पार्टी स्थापना भएदेखि हालसम्म निरन्तर सक्रिय रहेका व्यक्तिहरू नै उम्मेदवार छनोटको पहिलो प्राथमिकतामा पर्नेछन्’–जिल्लाका एक नेताले बताए– ‘यसपटक स्थानीय चासो, सरोकार र मतदाताको अपेक्षालाई सम्बोधन गर्ने गरी उम्मेदवार छनोट गरिनेछ ।’ प्रतिनिधिसभा निर्वाचनमा जस्तो नेतासँगको निकटताका आधारमा एउटा देखाउने र अर्को गर्ने गरी टिकट वितरण नहुने रास्वपाले स्पष्ट पारेको छ । यद्यपि, आकांक्षीहरूमा पार्टीको यो प्रतिबद्धताप्रति पूर्ण विश्वास देखिएको छैन । त्यसका बाबजूद इच्छुक व्यक्तिहरूले नगर प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य पदका लागि आवेदन दिइरहेका छन् । रास्वपाले स्थानीय तह निर्वाचनको तयारीलाई मतदातास्तरसम्म विस्तार गरिसकेको छ ।
अर्कोतर्फ, नेपाली कांग्रेस आधिकारिकताको विवादमा अल्झिएको छ । पार्टीका दुई समूहले आ–आफ्ना अधिवेशन प्रक्रिया अघि बढाइरहे पनि आगामी निर्वाचनका लागि उम्मेदवार छनोट र आकांक्षीहरूको व्यवस्थापन कांग्रेसका लागि ठूलो चुनौती बन्ने देखिएको छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो । उक्त गठबन्धनले जिल्लाका १३ मध्ये १२ स्थानीय तहमा प्रमुख पदमा विजय हासिल गरेको थियो । नेपाली कांग्रेसले बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध, बेथानचोक, रोशी र तेमालमा प्रमुख पद लिएको थियो । नेकपा एकीकृत समाजवादीले धुलिखेल र मण्डनदेउपुर तथा माओवादी केन्द्रले भुम्लु, चौरीदेउराली, खानीखोला र महाभारतमा प्रमुख पदमा उम्मेदवारी दिएका थिए । गठबन्धनका बाबजुत धुलिखेलमा भने नेकपा एमालेले विजय हासिल गरेको थियो ।
उपप्रमुख तथा उपाध्यक्ष पदमा पनि दलहरूबीच प्रतिस्पर्धा भएको थियो । बनेपा र पनौतीमा एमालेका उम्मेदवार विजयी भएका थिए भने पाँचखालमा पनि एमालेले उपप्रमुख पद जितेको थियो । पनौती र बनेपामा नेकपा एकीकृत समाजवादी तथा पाँचखालमा माओवादी केन्द्रका उम्मेदवार प्रतिस्पर्धामा थिए । जिल्ला समन्वय समितिमा नेकपा एकीकृत समाजवादीले प्रमुख र नेपाली कांग्रेसले उपप्रमुख पद पाएको थियो । समग्रमा कांग्रेसले सात स्थानीय तहमा प्रमुख तथा खानीखोला, महाभारत, भुम्लु, चौरीदेउराली, धुलिखेल र मण्डनदेउपुरमा उपप्रमुख तथा उपाध्यक्ष पदमा विजय हासिल गरेको थियो । माओवादी केन्द्रले चार स्थानीय तहमा प्रमुखसहित बेथानचोक, रोशी, तेमाल र नमोबुद्धमा उपप्रमुख तथा उपाध्यक्ष पद जितेको थियो ।
यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा भने राजनीतिक दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका थिए । त्यसबेला नेकपा एमालेले बनेपा, पनौती, नमोबुद्ध, धुलिखेल, मण्डनदेउपुर, भुम्लु र खानीखोला गरी सात स्थानीय तहमा विजय हासिल गरेको थियो । नेपाली कांग्रेसले पाँचखाल, बेथानचोक, तेमाल र रोशीमा तथा माओवादी केन्द्रले महाभारत र चौरीदेउरालीमा जित निकालेका थिए । जिल्ला समन्वय समिति एमालेको एकलौटी थियो । २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा काभ्रेपलाञ्चोकका दुवै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएपछि स्थानीय तह निर्वाचनमा पनि रास्वपाको प्रभाव बढ्ने आकलन गरिएको छ । यद्यपि, स्थानीय आवश्यकताका आधारमा व्यक्तिको लोकप्रियता र प्रभावले निर्वाचन परिणाम निर्धारण गर्ने विश्लेषण पनि भइरहेको छ । राष्ट्रिय राजनीतिको प्रभाव स्थानीय निर्वाचनमा तुलनात्मक रूपमा कम पर्ने तर्कसमेत उठ्न थालेको छ ।
नेकपा एमाले आन्तरिक विवादमा अल्झिएको छ भने विभिन्न २६ वटा घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी पनि आन्तरिक व्यवस्थापनको चुनौतीमा छ । दुवै दलका लागि नेताहरूको व्यवस्थापन कठिन देखिएको छ । यही कारण स्थानीय तह निर्वाचनमा कम्युनिस्ट दलहरूबीच कार्यगत एकता हुन सक्ने चर्चा पनि सुरु भएको छ । सरकारले २०८३ चैतभित्रै स्थानीय तह निर्वाचन गर्ने तयारी थालेसँगै स्थानीयस्तरमा दल र सम्भावित उम्मेदवारबीच आन्तरिक छलफल तीव्र हुन थालेको छ ।
यी हुन् रास्वपाका सम्भावित उम्मेदवार
संसद्मा दुई तिहाइको समर्थन रहेको रास्वपाले आन्तरिक रूपमा निर्वाचनको तयारी तीव्र बनाएको छ । पार्टीले उम्मेदवार छनोटका लागि खुला आह्वान गर्नुका साथै आकांक्षीहरूको जनमत बुझ्ने र उनीहरूको योग्यता, क्षमता तथा पार्टीप्रतिको योगदानलाई मूल्यांकन गर्ने रणनीति लिएको देखिन्छ । संविधानअनुसार स्थानीय तहको निर्वाचन निर्धारित समयभन्दा छ महिनाअघि वा पछि गर्न सकिने व्यवस्थालाई समेत राजनीतिक दलहरूले रणनीतिक रूपमा हेरिरहेका छन् । राष्ट्रियसभा निर्वाचनको समीकरण र त्यसबाट प्राप्त हुने राजनीतिक सन्देशलाई पनि रास्वपाले आगामी निर्वाचनको तयारीमा जोड्न सक्ने विश्लेषण गरिएको छ । स्थानीय तह निर्वाचनको परिणामलाई आधार बनाएर प्रदेश तहको निर्वाचन रणनीति तय गर्ने तयारीमा पनि पार्टी रहेको देखिन्छ ।
स्थानीय तह र प्रदेशसभा निर्वाचन एकैपटक गर्दा राज्यको खर्च घट्ने तथा विपत्तिबाट प्रभावित मुलुकमाथि थप आर्थिक भार नपर्ने तर्क पनि उठ्न थालेको छ । संविधानअनुसार आवश्यक अवस्थामा स्थानीय तहको कार्यकाल छ महिनासम्म थप गर्न सकिने भएकाले हालका जनप्रतिनिधिलाई निरन्तरता दिई एकैपटक निर्वाचन गर्ने विकल्पसमेत छ । तर, रास्वपा भने तत्काल निर्वाचनको तयारीमै केन्द्रित देखिएको छ । काभ्रेपलाञ्चोक जिल्लामा १३ वटा स्थानीय तह छन् । रास्वपा सरकार गठन भएलगत्तै स्थानीय तहको संख्या घटाउने, प्रदेश संरचना खारेज गर्ने तथा स्थानीय तहलाई गैरदलीय बनाउने विषयमा पनि छलफल र बहस भएका थिए । संविधान संशोधनको प्रयाससमेत अघि बढाइएको थियो । तर, ती विषयले अहिलेसम्म मूर्तरूप लिन सकेका छैनन् ।
सरकारको ध्यान विकास र समृद्धिभन्दा पनि विपक्षी दलहरूलाई राजनीतिक रूपमा कमजोर बनाउने रणनीतिमा केन्द्रित भएको आरोपसमेत लाग्न थालेको छ । यद्यपि, रास्वपाले भने आन्तरिक रूपमा निर्वाचनको तयारी अघि बढाएको छ । पार्टीले खुला रूपमा उम्मेदवार आह्वान गरेको छ भने आकांक्षीहरूको जनमत बुझ्ने र सोहीअनुसार निर्णय गर्ने प्रतिबद्धता जनाएको छ । उम्मेदवार छनोटमा योग्यता, क्षमता, पार्टी निर्माणमा योगदान र स्थापनाकालदेखि पार्टीमा रहेको निरन्तरतालाई प्राथमिकता दिने रास्वपाको नीति छ । अन्य दल परित्याग गरी निर्वाचनको मुखमा पद प्राप्त गर्ने उद्देश्यले मात्र पार्टी प्रवेश गर्ने व्यक्तिलाई प्राथमिकतामा नराख्ने रणनीति पनि पार्टीले बनाएको छ । तर, व्यवहारमा यस्तो नीति कार्यान्वयन गर्न चुनौतीपूर्ण हुने देखिन्छ ।
काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये रास्वपाले हालसम्म १२ वटामा सम्भावित उम्मेदवारको प्रारम्भिक सूची तयार पारेको छ । उक्त सूचीअनुसार बनेपामा सुरज मकै श्रेष्ठ, पनौतीमा दिनेश श्रेष्ठ, धुलिखेलमा यमप्रसाद श्रेष्ठ, पाँचखालमा नवीनप्रकाश निरौला, नमोबुद्धमा बसुनारायण श्रेष्ठ र मण्डनदेउपुरमा प्रविणकुमार ढकाललाई उम्मेदवार बनाउने तयारी गरिएको छ ।
त्यस्तै, बेथानचोकमा अष्टमान तामाङ, तेमालमा निमा लामा, खानीखोलामा दिनेश अधिकारी, चौरीदेउरालीमा केदार काफ्ले, भुम्लुमा विक्रम कुँवर र रोशीमा विश्वनाथ बोहोरालाई सम्भावित उम्मेदवारका रूपमा अघि सारिएको छ । यो प्रारम्भिक सूची भएकाले केही स्थानीय तहमा उम्मेदवार परिवर्तन हुन सक्ने सम्भावना पनि रहेको पार्टी स्रोतले जनाएको छ ।









