मोतीराम तिमल्सिना
धुलिखेल
आर्थिक वर्ष २०८०/०८१ को शुरुमै जिल्लामा बालयौन दुव्र्यवहारको घटना सार्वजनिक हुने क्रम बढ्यो । पनौती, बेथान्चोक, धुलिखेल, मण्डनदेउपुरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सोहि विद्यालयमा कार्यरत शिक्षकहरुबाटै यौनजन्य कृयाकलापको दृष्टिकोणबाट दुव्र्यवहार भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दर्ता भए । केहि घटनामा त विद्यार्थीहरुको भावना विपरीत राजनीतिकरण गर्दै घटनालाई अतिरञ्जित गरिएको विद्यार्थीहरुले बयान दिएका छन् । तर पनि जिल्लाको समग्र तथ्याङ्क र यसअघिका वर्षहरुमा दर्ता भएका मुद्दाहरुको विवरणका आधारमा काभ्रेपलाञ्चोक जिल्लामा बालबालिकाहरु प्रति हुने यौन दुव्र्यवहारका घटना बढेका छन् ।
पनौती नगरपालिका वडा नम्वर २ कुशादेवी मावीमा अध्ययन गर्ने कक्षा १० का केहि विद्यार्थीहरुले वडा कार्यालयमा, विद्यालयमा, प्रहरी चौकीमा दिएको उजुरीलाई राजनीतिकरण गरिएको थियो । अन्ततः शिक्षकलाई जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । विद्यार्थीहरुले पछि गरेको बयानमा शिक्षकको गलत नियत भए नभएको थाहा नभएको तर जुन प्रकरणबाट घटनाको उठान गरियो त्यो गलत भएको भन्दै आपत्ति प्रकट गरेका थिए । लगत्तै धुलिखेलको सञ्जीवनी विद्यालय, मण्डनदेउपुरको चण्डेनी मावि लगायतका विद्यालयमा शिक्षकहरुबाटै दुव्र्यवहार भएको भन्दै उजुरी परेका छन् । खुल्ला स्थानमा पनि बालबालिकाहरु प्रति गलत दृष्टिकोणले हेर्ने र दुव्र्यवहार गरिएको भन्दै केहि उजुरी दर्ता भएका छन् । पहिले पहिले यस्ता घटना भए पनि उजुरी गर्न डराउने र बालबालिकाहरु संरक्षित पनि नहुने भएकाले घटना कम देखिए जस्तो लागे पनि अहिले कानून र बालबालिकाहरुको मनोबल उच्च हुँदै गएकाले आफु माथी भएको दुव्र्यवहार कुन प्रकारको हो ? त्यहि अनुसार उजुरी गर्न बालबालिकाहरुले सक्रियता देखाएका छन् । तर पनि सरकारी निकायबाट हुने ब्यवहारका कारण बालबालिकाहरुले चाहे जस्तो न्याय पाएको अनुभुति गरेका छैनन ।
महाभारत गाउँपालिका सिद्देश्वर माविका शिक्षकलाई ३ वर्ष कैद सजायँ सुनाईएको छ । चालु वर्षमा जिल्ला अदालतमा २ वटा मुद्दा दर्ता भईसकेका छन् भने अघिल्लो वर्षको जिम्मेवारी सरेका बालबालिका सम्बन्धीका ९ वटा मुद्दा छन् । यो अवधीसम्म ११ वटा मुद्दा बाल ईजलासमा रहेको जिल्ला अदालतले जानकारी दिएको छ । मुद्दामा संलग्न बालबालिकाहरु मध्ये २ जनालाई अभिभावकको जिम्मेवारीमा पठाईएको छ भने ४ जनलाई बालसुधार गृहमा पठाईएको छ । अदालतमा बाँकी रहेका मध्ये २०७९ भदौ २३ गते दर्ता भएको ज्यान मार्ने उद्योग सम्बन्धी दुईवटा मुद्दा बाल ईजलासमा छ । सवारी ज्यान सम्बन्धी दुईवटा मुद्दा पनि विचाराधीन छ । हाडनाता जबरजस्ती करणीका दुईवटा र जबरजस्ती करणीको एउटा मुद्दा बाल इजलासमा छ । बालयौन दुव्र्यवहारका चारवटा छन् । बाल इजलासले बालबालिका सम्बन्धी मुद्दालाई प्राथमिकता दिनेछ । जिल्ला न्यायाधीश बाल इजलासको प्रमुख हुने ब्यवस्था छ । बालमैत्री इजलास बनाउने अभियान अन्र्तगत शुरु भएको बाल इजलासले पूर्वाधारको अभावमा योजना अन्र्तगतको सेवा प्रवाह गर्न नसके पनि बालबालिकाहरुको मुद्दाको हकमा गोपनीयता र प्राथमिकता राख्दै आएको छ ।
आर्थिक वर्ष २०७९/०८० मा जिल्ला अदालतको बाल इजलासमा ३५ मुद्दा थिए । जिम्मेवारी सरेका १५ वटा र नयाँ मुद्दा २० वटा गरी ३५ मुद्दा कायम भए । जिम्मेवारी सरेका र नयाँ गरी ३१ वटा मुद्दाको फछ्र्याैट भयो । घटनामा संलग्न बालबालिकाहरु मध्ये २ जनालाई अभिभावकको जिम्मेवारीमा पठाईएको छ भने १ जनालाई बालसुधार गृहमा र अभिभावकको जिम्मामा रहेका ३ वटा मुद्दा छन् । यो आर्थिक वर्षको अन्त्यको तथ्याङ्क हो । दर्ता भएका ३५ मध्ये ८ वटा मुद्दा बालयौन दुव्र्यवहारका छन् । आठवटा जर्बजस्तिकरणीका मुद्दा छन् । सवारी अंगभङ्ग, डाँका चोरी, अभद्र ब्यवहार, अपहरण तथा शरीर बन्धक, झुटो विवरण पेश गरी नागरिकता लिएको, जर्बजस्ती करणी र चोरी, ज्यान मार्ने उद्योग लागु औषध प्रयोग तथा ओसारपसार सम्बन्धीका मुद्दा दर्ता भएका छन् ।






