2026 September 01/ 07:29: 33am

बनेपा/व्यापारिक र ऐतिहासिक नगरी बनेपा र जिल्ला आसपासका विभिन्न क्षेत्रमा कृष्ण अष्टमीको अवसरमा कन्याहरू पुजिएका छन् । १ सय २१ वर्ष अघि सुरु भएको ऐतिहासिक बृहत् कन्या पूजा बनेपामा सम्पन्न भएको हो । कन्या पूजा प्रवन्ध समितिले हरेक वर्ष कन्या पूजाको ब्यवस्थापन गर्दै आएको अध्यक्ष रामगोपाल कायश्थले जानकारी दिए । 
    बनेपामा भएको कन्या पूजामा प्रति कन्या पाँच सय रुपियाँ बराबरका सामाग्री उपलब्ध गराईएको थियो । ९ हजार कन्याका लागि बनेपामामात्रै करोडौ खर्च भएको छ । कोरोना महामारीका कारण विगत दुई वर्ष सामूहिक कन्या पूजा गरिएको थिएन । सनातन कन्या पूजा प्रबन्ध समितिको बैठकले यस वर्ष कन्या पूजा सञ्चालन गर्ने निर्णय पछि पूजा व्यवस्थापन गरिएको अध्यक्ष रामगोपाल कायस्थले बताउनु भयो । तत्कालीन सनातन कन्या पूजा प्रबन्ध समितिका अध्यक्ष गोपाल सिं मुस्याजुको निधन पछि समितिको बैठकले अध्यक्षमा रामगोपाल कायस्थलाई मनोनीत गरेको थियो ।
२ वर्ष सम्म स्थगित भएको कन्या पूजा यस वर्ष भव्य रुपमा सञ्चालन गर्न र कन्याहरुलाई पूजा तथा प्रसाद वितरण गर्न भक्तजनहरुलाई समितिले अनुरोध गरेको थियो । समितिको निमन्त्रणाका आधारमा ६५ भन्दा धेरै भक्तजन विभिन्न प्रकारका सामाग्री सहित कन्या पूजामा सहभागी भएका थिए । अविवाहित तथा रजस्वला नभएका, बेल विवाह नगरिएका कन्याहरूलाई विभिन्न विधिका साथ पूजा गरिँदै आएको छ । ‘घरबाट सुरु गरिएको कन्या पूजा अहिले नेपालमै नमुना भएको छ’ –कन्या पूजा प्रबन्ध समितिका सचिव सुरकृष्ण वैद्यले भने, ‘बाजे बराजुले सुरु गरेको संस्कृतिलाई जतिसुकै खर्चिलो भए पनि पूरा गर्ने अभियान चलाएका छौँ ।’ बनेपा आसपास ७ गाउँका कन्याहरूलाई बनेपामा पूजा गरिँदै आएको परम्परालाई व्यवस्थित गर्न समिति नै गठन गरिएको थियो ।
    बनेपाको भोलाखाटोलबाट सुरु भएको बृहत् कन्या पूजाको सुरुवातमा भोलाखा गणेशलाई पूजा गरी विधिअनुसार सुरकृष्ण वैद्यको घरबाट निस्किएको पूजा, टीका र जंजका (काँचो धागो) तेलले कन्यालाई स्वारी, मालपुवा, चकलेट, छोकडा, बिस्कुटसहित पूजा गरिन्छ । सिजन अनुसार दुई प्रकारको फ्रुटी, चाउचाउ, दक्षिणा सहित एउटी कन्यालाई चार सय रुपैयाँ बराबरको सामाग्री उपलब्ध गराइएको छ । भोलाखाटोलबाट पूर्वतिर भोलाखाटोल, स्वधाटोल र वकुटोलसम्म बसिरहेका कन्याहरूलाई पूजा गर्दै घुमेर, पश्चिमतिर फर्की वकुटोल, स्वधाटोल, भोलाखाटोल हुँदै दक्षुटोलसम्म दायाँतर्फका सडकको पेटीमा आसनमा बसिरहेका कन्याहरूलाई पूजा गर्दै लायकु ध्वाखासम्म आई, पूर्वतिर फर्केर दायाँतिरका पेटीमा बसिरहेका कन्याहरूले पूजा गर्दै भोलाखाटोल पुगेपछि विसर्जन भएको सचिव वैद्यले जानकारी दिनु भयो । निःशुल्क गरिएको कन्यापूजाका लागि प्रबन्ध समितिको करिब २० लाख खर्च भएको छ ।
    दाताहरूले दिएको केही रकम बाहेक अन्य खर्च समितिका पदाधिकारीहरूले नै बेहोर्दै आएको वैद्यले जानकारी दिनु भयो । जात्राको व्यवस्थापन गर्न अक्षयकोषको स्थापना गरी थप रकम संकलन गरिएको समितिका सदस्य प्रकाश कायस्थले बताउनु भयो ।‘समितिको पहलमा सुरुमा १३ लाखको अक्षयकोषमा करिब केही रकम थप गरिएको छ’ –कायस्थले भन्नुभयो – ‘केही दिन अघिदेखि ३०÷४० जना मजदुरहरूद्वारा ८० हजार स्वारी, ८ हजार मालपुवा पकाइएको थियो ।’ एउटी कन्याले ८ वटा स्वारी, एउटा मालपुवा, एउटा फ्रुटी समितिको तर्फबाट पाएकी छिन् भने अन्य सामग्रीहरू करिब ६५ भन्दा धेरै व्यक्तिहरूले पूजा गर्दा उपलब्ध गराएका छन् ।
    कन्याहरूलाई पूजा गर्दा सुस्वास्थ्य, सुभमङ्गल र सुखमय जीवनको कामना गरिएको छ । बनेपा आसपास ७ गाउँबाट कन्याहरू पूजामा सहभागी भएका थिए । कन्याहरूलाई पूजा गर्दा उनीहरूको आर्शीवादका कारण मन हलुङ्गो हुने, आत्मसन्तुष्टि मिलेको, इच्छा पूरा भएको र केही हराएको बस्तु पाएको जस्तो महशुस हुने गरेको विश्वास छ । बनेपाको अलावा, साँगा, बुडोल, नाला, चौकोट, धुलिखेल, पनौती, धनेश्वर लगायतका स्थानमा पनि कन्या पूजा गरिएको छ ।