2026 September 02/ 06:52: 02am

    बनेपा/कम्युनिष्ट नेता तुल्सीलाल अमात्यको २६ औ स्मृति दिवसको अवसर पारेर बनेपामा बृक्षारोपण गरिएको छ । बनेपा नगरपालिकाको १६ सय सिंढीमा विभिन्न प्रजातीका एक सय भन्दा धेरै विरुवाहरु रोपण गरिएको हो ।
    ‘सामाजिक, राजनीतिक चेतनासँगै ब्यक्तिको जीवनलाई सहज र सरल बनाउन वातावरण स्वच्छ हुन आवश्यक छ’–आयोजक नेपाल उत्पीडित जातिय मुक्ति समाज काभ्रेका अध्यक्ष तेज नेपालीले भने–‘जातिय विभेद अन्त्य गर्न विभिन्न अभियानमा बृक्षारोपण सहयोगी बन्न सक्छ ।’ ब्यक्तिलाई राजनीतिक, सामाजिक, आर्थिक चेतनाका लागि यस्ता अभियान महत्वपूर्ण हुने अध्यक्ष नेपालीले बताउनु भयो । 
    बृक्षारोपण कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष मनोहर विक पौडेलले हरेक हिसावले सक्षम बन्नु पर्ने बताए । ‘हरेक नेपाली सक्षम हुनु पर्छ । त्यसमा पनि सदियौ देखि पछि पारिएका दलित समुदायका नागरिकहरु सक्षम हुनुपर्छ’–अध्यक्ष मनोहर विकले भने–‘सिप, ज्ञान र चेतना हरेक ब्यक्तिका लागि आवश्यक छ । यसका लागि अध्ययन गर्ने र गराउने, सिप सिक्ने र आर्थिक रुपले सम्पन्न बन्ने, राजनीतिक रुपमा सहभागिता जनाउन राजनीतिक चेतनाका लागि सामाजिक कार्यमा समेत सक्रिय बन्नु पर्छ ।’ देशका विभिन्न स्थानमा दलितकै नाममा भएका विभेदहरुको अन्त्यका लागि सरकारसँग माग गर्दै अध्यक्ष मनोहर विकले दलित समुदायका नागरिकहरुलाई राज्यले नै विभेद गरेको तर्फ सचेत गराए । राज्यका निकायहरुले अधिकारका नाममा होस वा समानुपातिक वितरणमा विभेद गरेको उनले बताए । 
    बृक्षारोपण कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव राजन भुर्तेलले उत्पिडनमा परेको समुदायलाई माथि उठाउन हरेक क्षेत्रमा समानुपातिक रुपले अधिकारको प्रयोग गरिनु पर्ने बताए । ‘नेकपा एमालेले उत्पीडित जातिय मुक्ति समाजलाई हरेक हिसावले अघि बढ्न वातावरण तयार गरेको छ’–सचिव भुर्तेलले भने–‘पार्टीका जनवर्गिय संगठन मध्ये सक्रिय संगठनका रुपमा नेपाल उत्पीडित जातिय मुक्ति समाज रहेको छ । जसले विद्यार्थी देखि प्राध्यापकसम्मलाई सचेतिकरण गराएको छ । बहस चलाएको छ । राजनीतिक र सामाजिक चेतनाका लागि अभियान शुरु गरेको छ । गाउँ गाउँ कार्यक्रम मार्फत सचेतना अभियान र संगठित गरेको छ ।’ 
    संगठनका केन्द्रिय सचिव नरेश विक, केन्द्रिय सदस्यहरु, प्रदेशका पदाधिकारीहरु, जिल्लाका पदाधिकारीहरु तथा जिल्लाका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको बृक्षारोपणमा सहभागिता रहेको थियो ।