2026 August 31/ 01:46: 51am

– फैसला लक्ष्यको ९६ प्रतिशत

कैद मात्रै लागेका २ सय ७३ जना, जरिवना मात्रै लागेका ८ सय १८ र कैद तथा जरिवना दुबै भएका ९ सय ३७ जना फरार छन् । २ हजार २८ जना ब्यक्तिले अदालतको फैसला अनुसारको सजाँय तथा जरिवना भुक्तान गर्न बाँकी छ ।

    धुलिखेल/जिल्ला अदालत काभ्रेपलाञ्चोकले लक्ष्य अनुसार ९६ प्रतिशत प्रगति गरेको छ । २०८० जेष्ठ २५ गतेसम्म २ हजार १ सय ३ वटा मुद्दा फछर्यौटको लक्ष्यमा २ हजार १९ वटा फछर्याैट भएका छन् । मुद्दा फैसला कार्यान्वयनमा पनि लक्ष्यको १ सय १० प्रतिशत पुगेको छ । 
    जिल्ला अदालत काभ्रेका उप सचिव श्रेस्तेदार गोविन्द घिमिरेका अनुसार मुद्दा फछर्याैट र फैसला पछिको कार्यान्वयनमा तिब्रता दिईएको छ । ‘मुद्दा फैसलाको कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी निरिक्षकको संयोजकत्वमा टिम नै परिचालन गरिदिएको छ’–श्रेस्तेदार घिमिरेले भन्नुभयो–‘प्रहरीको सक्रियता, कर्मचारीको कृयाशिलताका कारण फैसला कार्यान्वयनले लक्ष्य पार गरेको हो ।’ एसपी भागेन्द्रपुरुष ढकालले समुदायमा लुकेर रहेका अदालतले सजायँ निर्धारण गरेका ब्यक्तिहरुको पक्राउका लागि प्रहरी निरिक्षकको कमाण्डमा टिम परिचालन गरिएको बताउनु भयो । चालु वर्षमा प्रहरीका तर्फबाट ९७ वर्ष १२ महिना ७ दिन कैद असुल गरेको छ भने ४१ लाख २६ हजार ८ सय २२ रुपैया जरिवना असुल भएको छ । असुल गरिएको मध्ये २५ प्रतिशत कमिसन प्रहरीले पाउनेछ । डोरबाट ५४ लाख ८६ हजार ५ सय ३२ रुपैया जरिवना असुल भएको छ भने अन्य विभिन्न तरिकाबाट २ करोड ५६ लाख ९८ हजार ५ सय ३८ रुपैया जरिवना असुल भएको छ । ९८ लाख रुपैया जरिवना भएको एउटा मुद्दामा सर्वाेच्च अदालतले सफाई दिए पछि जरिवना असुलीमा संख्या धेरै देखिएको छ । 
    बैशाख मसान्तसम्म अदालतबाट फैसला कार्यान्वयनको लक्ष्य २ सय १५ थियो । २ सय ३७ वटा मुद्दाको कार्यान्वयन गरेको तहसिल शाखाका प्रमुख तहशिलदार शेषराज दाहालले बताउनु भयो । ‘प्रहरीबाट, फैसला हुँदा र अन्यबाट ७ सय ५१ वर्ष ११ महिना ८ दिन कैद असुल भएको छ’–तहशिलदार शेषराज दाहालले भन्नुभयो–‘६८ करोड ७ लाख ६२ हजार ६ सय १४ रुपैया जरिवना र १२ सय ३३ वर्ष १० महिना २ दिन कैद असुल गर्न बाँकी छ ।’ जसमा कैद मात्रै लागेका २ सय ७३ जना, जरिवना मात्रै लागेका ८ सय १८ र कैद तथा जरिवना दुबै भएका ९ सय ३७ जना फरार छन् । २ हजार २८ जना ब्यक्तिले अदालतको फैसला अनुसारको सजाँय तथा जरिवना भुक्तान गर्न बाँकी छ । चालु वर्षका लागि अघिल्लो वर्षको जिम्मेवारी सरी आएका १ सय ६६ वटा तथा चालु वर्षका २ सय ९८ गरी ४ सय ६४ मध्ये २ सय २७ वटा फछर्याैट भएका हुन् । 
    अदालतले लिएको ‘२–०’ लक्ष्य अर्थात दुई वर्ष पुरा भएका मुद्दालाई शुन्यमा पु¥याउने अभियान अन्र्तगत ६२ वटा मुद्दा फैसला हुन बाँकी छन् । १ हजार २ सय ४५ वटा मुद्दा बाँकी भएको अवस्थामा जिल्ला अदालतमा दुनियावादी देवानी ३६, फौजदारी १४, सरकारवादी फौजदारी ११ र पुनरावेदन देवानी १ वटा दुई वर्ष नाघेका मुद्दा बाँकी छन् । ३ हजार २ सय ६४ मध्ये फैसला भएर बाँकी रेहका मुद्दाहरु पनि द्रुत गतिमा अघि बढिरहेका छन् । श्रेस्तेदार घिमिरेका अनुसार चालु वर्षको अन्त्यसम्ममा लक्ष्य भन्दा धेरै मुद्दाको फैसला हुने बताउनु भयो ।