बनेपा/नेकपा एमाले काभ्रेले निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय तहमा नीति तथा कार्यक्रम र बजेट तर्जुमाका लागि पार्टीका तर्फबाट खेल्नु पर्ने भूमिकाका बारेमा एक दिने प्रशिक्षण दिएको छ ।
नेकपा एमालेका तर्फबाट पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री गोकुल बास्कोटा, प्रदेश कमिटी उपाध्यक्ष रामहरी सुवेदी, एमाले काभ्रे अध्यक्ष अशोक ब्याञ्जु, उपाध्यक्ष चन्द्र लामा, सचिव राजन भुर्तेल र उप सचिवद्धय राजकुमार सापकोटा र रिता ढकाल लगायतले प्रशिक्षण दिनु भएको थियो । स्थानीय तहको निर्वाचनमा नेकपा एमाले विरुद्ध सत्ता निकट दलहरुको तर्फबाट गठबन्धन गरिएको थियो । गठवन्धनका कारण स्थानीय तहको प्रमुख तथा उपप्रमुख पदमा महिलाको अवस्था २०७४ भन्दा निराशाजनक छ । एमालेले १३ मध्ये एउटा प्रमुख र तीनवटामा उपप्रमुख पदमा विजयी भएको छ । भने ४३ जना वडा अध्यक्ष सहित कार्यपालिका र वडा सदस्य सहित २ सय ४० जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।
प्रशिक्षण सकेको एमालेले जिल्ला परिषद्को तयारी गरेको छ । जेठ २७ गते धुलिखेल नगरपालिकाको सभा हलमा हुने परिषद्मा जिल्ला अधिबेशनमा सहभागि भएका १४ सय ५६ प्रतिनिधि सहभागी हुनेछन् । परिषद्मा एमाले काभ्रेले अधिबेशन पछि गरेका गतिविधिहरु, पार्टीको सांगठनिक, राजनीतिक र आर्थिक प्रतिवेदनहरु प्रस्तुत हुनेछन् । अध्यक्ष, सचिव तथा विभागिय प्रमुखहरुले कमिटीले गरेका गतिविधिहरुलाई प्रतिनिधि परिषद्मा प्रस्तुत गरेपछि सहभागीहरुले धारणा राख्नेछन् । पार्टीेको विधान अनुसार एमालेले विधान परिषद्लाई सम्पन्न गर्ने निर्णय गरेको सचिव राजन भुर्तेलले जानकारी दिनुभयो । उप–सचिव रिता ढकालका अनुसार परिषद्को तयारी सकिएको छ । १३ वटै पालिका कमिटी, जनवर्गीय संगठन र प्रतिनिधिहरुलाई एमालेले परिषद्मा सहभागी हुन अनुरोध गरेको छ । यसअघि एमालेले ग्रासरुट अभियान अन्र्तगत घर दैलो कार्यक्रम सम्पन्न गरिसकेको छ ।
प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवं पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले समग्र बजेटको परिधी, प्रकृया र घोषणापत्रमा उल्लेख भएका विषयलाई समेटेर बजेट तयार गर्न निर्देशन दिनुभयो । ‘मुलुक नै विश्वका विभिन्न घटनाक्रमका कारण आर्थिक मन्दि उन्मुख छ’–पोलिटब्युुरो सदस्य गोकुल बास्कोटाले भन्नुभयो–‘नेकपा एमाले नेतृत्वको सरकारको पालामा ७.१ भएको आर्थिक बृद्धिदर अहिले २.१ मा झरेको छ । गठबन्धन सरकारका कारण मुलुकमा थप संकट गहिरिदै गएको छ ।’ अघिल्लो सरकारका पालामा जस्तै यो वर्ष पनि अर्थमन्त्री प्रकाशरण महतले गैह्कानूनी ब्यक्ति मन्त्रालय बोलाएर केहि सिमित ब्यापारीलाई फाईदा पुग्ने गरी करका दर परिवर्तन गरिएको पोलिटब्युरो सदस्य बास्कोटाले बताउनु भयो । कार्यक्रममा बैचारिक स्पष्टता र सांगठनिक आबद्धता सहितको इमान्दारिताका लागि जनप्रतिनिधिलाई निर्देशन दिदै बास्कोटाले जनता र मतदातासँग जन सम्बन्ध सँग जोडिन अनुरोध गर्नु भयो ।
पार्टीको गतिविधिमा कृयाशिल रहन आग्रह गर्दै मर्रा भैंसीसँग सिमाना साट्ने विरुद्ध, वैदेशिक हस्तक्षेप र उपनिवेश विरुद्ध जो जहाँ छौ त्यहिबाट सशक्त बिरोध गर्न आग्रह गर्नुभयो । एमालेले संसद्मा नागरिकका अधिकार र मुलुक निर्माणका बारेमा जानकारी गराउँदै नागरिकका बिचमा जाने एमाले पोलिटब्युरो सदस्य बास्कोटाले बजेट निर्माणका लागि एमालेले बनाएको योजना बंैक मार्फत छनौट भएका योजनालाई प्राथमिकता दिन जनप्रतिनिधिलाई निर्देशन दिनुभयो । प्रशिक्षणमा सहभागी अधिकांश नेताहरुले पार्टीका हितमा र पार्टीले लिएका नीतिलाई जनताका पक्षमा बजेटमा समाबेश गरी नागरिकका तल्ला तहमा समेत पुग्न अनुरोध गरेका थिए ।









