धुलिखेल/प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन) को तेस्रो पूर्ण बैठक तथा संगठन सुदृढिकरण राष्ट्रिय कार्यशाला धुलिखेलमा सुरु भएको छ । दुईदिनसम्म चल्ने कार्यशालको उद्घाटन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नुभएको हो । कार्यशालामा सांगठनिक, राजनैतिक र आर्थिक प्रतिवेदनमाथी छलफल हुने पिन का केन्द्रिय अध्यक्ष इन्जिनियर डाक्टर सुरज लामिछानेले जानकारी दिनुभयो । आज पहिलोदिन ७ वटै प्रदेशका प्रदेश अध्यक्षले हालको अवस्था र प्रस्तुत प्रतिवेदनमाथी धारणा राखेका छन् । यस्तै बैठकमा राजनैतिक प्रतिवेदन ईन्जिनियर डाक्टर सुरज लामिछानेले प्रस्तुत गर्नुभएको छ । सांगठनिक प्रतिवेदन इन्जिनियर डाक्टर भेषराज थापा, आर्थिक प्रतिवेदन इन्जिनियर तेजप्रसाद धमलाले प्रस्तुत गर्नुभएको छ । प्रतिवेदनमाथी समुहगत छलफल सुरु भएको छ । भोली शनिवार समुहगत धारणासहित भावी रणनीति तय गर्दै पिन धुलिखेल संकल्प २०८० पारित गर्ने कार्यसुची रहेको महासचिव भेषराज थापाले जानकारी दिनुभयो । हालसम्म सदुरपश्चिम बाहेक ६ प्रदेशमा पिनको प्रदेश अधिवेशन सम्पन्न भएको छ । केहि जिल्लामा जिल्ला अधिवेशन बाँकी रहेकाले जिल्ला तहको अधिवेशन छिट्टै सम्पन्न गर्ने महासचिव थापाले बताउनुभयो ।
कार्यस्थलमा रहेका इन्जिनियरहरुप्रतीको व्यवहार र घटनाले पेशागत सुरक्षामा ठाडो चुनौती खडा गरेको अध्यक्ष लामिछानेले बताउनुभएको छ । इन्जिनियरिङ व्यवसायमा सुनिने विभिन्न चलखेल, गैरकानुनी कृयाकलाप र झण्झटिलो व्यवस्थाले पेशाकर्मीहरु दिनानुदिन हतोत्साहित हुँदै पेशप्रती वितृष्णा बढ्दै गएको समेत उहाँको धारणा छ । कार्यक्रममा नेकपा एमालेका सचिव एवं पीन इन्चार्ज गोकर्ण विष्ट, जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, उप–प्रमुख रचना खड्का लगायत जिल्ला तथा प्रदेशका नेताहरको उपस्थिती रहेको छ ।









