2026 August 29/ 10:23: 07pm

मुकेश कायस्थलाई शहिद घोषणा 
बनेपा/दोस्रो जनआन्दोलनका घाइते जिउँदो शहीद मुकेश कायस्थको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । 
वैशाख २७ गते साँझ मृत्यु हुनुभएका कायस्थको २८ गते विहिबार दिउँसो उग्रतिर्थेश्वर घाटमा दाहसंस्कार गरिएको हो । २०६२÷०६३ को जनआन्दोलनका क्रममा २०६२ साल चैत २७ गते बनेपा तीनदोबाटोमा सुरक्षाकर्मीले हानेको गोली मुकेशको कञ्चटमा लागेको थियो । सोही दिनदेखि ओच्छ्यान पर्नु भएका मुकेशको ३२ वर्षको उमेरमा निधन भएको हो । कक्षा ८ मा अध्ययनरत १४ वर्षीय मुकेश त्यसयताका १७ वर्ष १ महिना ओच्छ्यानको ओच्छ्यानै हुनुहुन्थ्यो । बनेपा नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका मुकेश २०४८ साल भदौ ९ गते जन्मिनुभएको हो । दोस्रो जनआन्दोलनमा गोली लागेपछि उहाँलाई पक्षघात भएको थियो । १७ वर्षसम्म पनि उहाँ अर्धचेत अवस्थामा हुनुहुन्थ्यो । निरन्तरको उपचारपछि मुकेश बायाँ हात चलाउने, हाँस्ने, गिलो खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्ने हुनुभएको थियो । २०७५ असारमा अचानक बिरामी परेपछि उहाँ फेरि अर्धचेत हुनुभयो । उहाँलाई केहि समयअघि स्वासप्रस्वासमा समस्या भएपछि बनेपास्थित शीर मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा बुधबार साँझ उहाँको मृत्यु भएको हो । कायस्थको शवलाई विहिबार विहान १० बजेदेखी २ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि बनेपा नगरपालिकाको प्राङ्गणमा राखिएको थियो । त्यसपश्चात नेपाल प्रहरीको टोलीले शोक धुन बजाउँदै मुकेशको शवलाई बजार परिक्रमा गराइएको थियो । शव यात्रामा सयौंको उपस्थिति रहेको थियो । उहाँका बुबा कृष्णमानले पार्थिव शरीरमा दागबत्ती दिनुभएको थियो । 
मुकेशको निधनप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना प्रकट गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वमन्त्री एवं काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद् गोकुल बास्कोटा, काभ्रे क्षेत्र नम्बर १ का सांसद् सुर्यमान दोङ लालध्वज, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, प्रदेशसभा सदस्य तथा विभिन्न स्थानीय तहका जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । 
संघीय सरकारको प्रतिनिधिको रुपमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मुकेशको शवमा राष्ट्रिय झण्डा ओढाउँदै उहाँप्रती श्रद्धाञ्जली अर्पण गर्नुभयो । मन्त्री मोदीले मुकेशजस्तै योद्धाका कारण लोकतन्त्र, गणतन्त्र प्राप्त भएको बताउनुभयो । परिवर्तनको आन्दोलनमा खेलेको महत्वपुर्ण योगदानका कारण मुकेश युगौं युगसम्म बाँच्ने उहाँले बताउनुभयो । मन्त्री मोदीले मुकेशलाई शहीद घोषणाका लागि प्रकृया अघि बढाउने पनि प्रतिबद्धता जनाउनुभएको छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले लोकतान्त्रिक शासन व्यवस्था स्थापित गर्न मुकेशको ठुलो योगदान रहेको बताउनुभयो । पूर्वमन्त्री एवं काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद् गोकुल बास्कोटाले परिवारले एउटा सदस्य गुमाएको मात्रै नभई देशले योद्धा गुमाएको बताउनुभयो । उहाँले मुकेशलाई जनआन्दोलनको शहीद घोषणा गर्न माग समेत गर्नुभएको छ । जिल्ला समन्वय समिति प्रमुख दिपक गौतमले मुकेश कायस्थको निधनले काभ्रे जिल्ला नै अँध्यारो भएको बताउनुभयो । उहाँजस्ता योद्धाले संघर्ष नगरेको भए गणतन्त्र प्राप्त हुननसक्ने गौतमको भनाई थियो । मुकेश कायस्थ हामिबीच नरहे पनि उहाँले देखाउनुभएको असल मार्गलाई सधैं सम्झने समन्वय प्रमुख गौतमले बताउनुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेललले मुकेश र उहाँको परिवारको उच्च सम्मान हुनेगरी शहीद घोषणा लगायतका थप प्रकृया अघि बढाउने प्रतिवद्धता जनाउनुभयो ।
बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यले मुकेशले परिवर्तनको आन्दोलनमा खेलेको भूमिका भुल्नै नसकिने बताउनुभयो । उहाँको सपना पुरा गर्नका लागि असल कार्यहरु गर्दै जाने बताउँदै नगर प्रमुख शाक्यले मुकेशको योगदानलाई चित्रित गर्ने, जीवन्त राख्ने जिम्मेवारी पुरा गर्ने बताउनुभयो । बनेपाको उपयुक्त स्थानमा शालिक निर्माण गर्ने, नयाँ निर्माण हुने संघसंस्था, स्वास्थ्य संस्थामा मुकेशको नाम प्रतिविम्ब हुनेगरी नामाकरण गर्ने पनि नगर प्रमुख शाक्यले बताउनुभयो ।  
मुकेश कायस्थ प्रतिष्ठानका प्रमुख संयोजक मोहन दुवालले मुकेशलाई देशको गहनाको रुपमा चित्रित गर्नुभयो । उहाँले मुकेशलाई शहीद घोषणा गर्न, प्रदेश सरकारबाट मुकेश कायस्थको नाममा घाइतेहरुलाई सम्मान गर्ने कार्यक्रम घोषणा गर्न, स्थानीय सरकारमार्फत मुकेशको शालिक निर्माण गर्न र निर्माणाधीन तथा अब निर्माण हुने स्वास्थ्य संस्था मुकेशको नामबाट नामाकरण गर्न माग गर्नुभएको छ । 
मुकेश कायस्थ फाउण्डेशनका अध्यक्ष हिरा शर्मा नेपालले २०६२÷६३ देखी अहिलेसम्म देशमा धेरै परिवर्तन भएपनि सामान्य मानिसले अनुभुती गर्ने परिवर्तन नभएको अवस्थामा पछिल्लो समय भ्रष्टाचारविरुद्धको कारबाही सुरु भएसँगै मुकेशको मृत्यु हुनुलाई प्रतिकको रुपमा लिन सकिने बताउनुभयो । देशमा अब राम्रो हुँदैछ भन्ने आशाले मुकेशले आफ्नो जीवनको अन्त्य गरेको हुनसक्ने उहाँको भनाई थियो । 
मुकेशको निधनप्रति शोक प्रकट गर्दै बनेपा नगरपालिकाले विहिबार शोक विदा दिएको थियो । यस्तै मृतकको दाहसंस्कार सम्मको सम्पुर्ण खर्च बनेपा नगरपालिकाले व्यहोर्ने जनाइएको छ । मुकेशको मृत्युमा दुःख व्यक्त गर्दै जिल्लास्थित सबै राजनीतिक दलले शोक बक्तव्य जार्वजनिक गरेका छन् । मुकेशका बुवा कृष्णमान र आमा मीराले भने देशलाई समृद्ध बनाउँदै शहीदको सपना साकार पार्न सरकार र दलहरुलाई आग्रह गर्नुभएको छ । नेताहरुले शहीदको योगदान भुल्न नसक्ने भन्दै लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउनुपर्ने बताए पनि व्यवहारमा त्यसो हुन नसकेको भन्दै बेलाबेला प्रश्नहरु उठ्ने गरेका छन् । मुकेशको उहाँको अन्त्येष्टिमा सहभागीहरु पनि सरकार, राजनीतिक दल र नेतृत्वले यो मर्मलाई बुझ्दै आफुलाई सच्याउन सके मात्र मुकेश कायस्थ र अन्य शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने बताईरहेका थिए । 
मुकेश कायस्थलाई शहिद घोषणा 
सरकारले मुकेश कायस्थलाई राष्ट्रिय शहिद घोषणा गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १७ वर्षदेखि जिउँदो शहिदका रूपमा चिनिएका कायस्थलाई शहिदको घोषणा गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताउनु भयो ।
कायस्थ दोस्रो जनआन्दोलनका घाइते भएका थिए । उनको गत  बुधबार ३२ वर्षको उमेरमा निधन भएको थियो । २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका मात्र थिए । सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका मुकेश सोही दिनदेखि उठ्न सकेका थिएनन् । सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेका लागि ६ हजार २ सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो ।