2026 August 31/ 12:52: 02am

–    अध्यक्षमा मिलन गौतम निर्वाचित 
धुलिखेल/नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवं पुर्वमन्त्री गोकुल बास्कोटाले विकास निर्माणको नयाँ युगको सुभारम्भ गर्नका लागि शिक्षा जरुरी रहेको बताउनुभएको छ । 
धुलिखेलमा आयोजित अनेरास्ववियु काभ्रेको ३० औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले गुणस्तरीय शिक्षा प्राप्त गर्ने हकको सुनिश्चितताको लागि अनेरास्ववियु संगठित भएको बताउनु भयो । राणाशासनको अन्त्य र गणतन्त्र प्राप्तिका लागि विद्यार्थीले पुर्याएको योगदान अतुलनीय रहेको उहाँको भनाई थियो । भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा पहिलो स्थान प्राप्त गर्दै अनेरास्ववियुले आफुलाई अब्बल सावित गरेको बास्कोटाले बताउनु भएको छ । बाँसकोटाले बेथानचोक गाउँपालिकाबाट अनेरास्ववियुको जिल्ला अधिवेशनमा आउन लागेका विद्यार्थीलाई नेपाल विद्यार्थी संघले अवरोध गरेको घटनाप्रती पनि उहाँले खेद जनाउनुभएको छ । नेपाली कांग्रेसको भातृसंगठन नेवि संघले स्ववियु निर्वाचनमा  हार्ने डरले क्याम्पसमा ताल्चा लगाउँदै हिँडेको बास्कोटाको आरोप छ । आफ्नै अस्तित्वको लडाई लडिरहेको नेविसंले देशको पहिलो विद्यार्थी संगठनमाथी हातपात गर्ने हिम्मत गर्नु दुःखद भएको उहाँको चेतावनी थियो । पुर्वमन्त्री समेत रहनुभएका बास्कोटाले नेकपा एमाले सरकारमा हुँदा सामुदायिक विद्यालयको भौतिक पुर्वाधार लगायत शैक्षिक गुणस्तर अभिवृद्धिका लागि उल्लेख्य काम भएको बताउनुभयो । देश निर्माणको तागत अनेरास्ववियुमा रहेको उहाँको दाबी छ । त्यसैगरी नेकपा एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले नेपाली समाजको रुपान्तरण, काभ्रेको शैक्षिक विकास, युवाहरुको उन्नयन, र युवाहरुलाई जागृत बनाउन अनेरास्ववियुले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभएको छ । कतिपय शैक्षिक संस्थाले विद्यार्थीको राजनीतिक संलग्नतालाई कमजोर बनाउन खोजेको भन्दै ब्याञ्जुले असन्तुष्टि जनाउनुभएको छ । राजनीतिक रुपमा चेतनशिल भए मात्रै समाज र राष्ट्रको जिम्मेवारी वहन गर्न सक्ने उहाँको धारणा छ । राजनीतिक चेतनाबाट बञ्चित गराउनु समृद्धिको आधारलाइ कमजोर बनाउनु रहेको ब्याञ्जुको तर्क थियो । शिक्षालाई गुणस्तरीय बनाउने विषय अहिलेको प्राथमिकता रहेको उहाँको भनाई छ । यस्तै अनेरास्ववियु काभ्रेका अध्यक्ष हेमराज हुमागाँईले अधिवेशनले नयाँ नेतृत्वसँगै विद्यार्थी हकहित र शैक्षिक गुणस्तरको लागि कार्ययोजना तय गर्ने बताउनुभएको छ । काभ्रेमा अनेरास्ववियुको गौरवपुर्ण इतिहासलाई कमजोर हुन नदिने समेत उहाँले प्रतिवद्धता जनाउनुभयो । अध्यक्ष हुमागाँईले अनेरास्ववियु देशकै ठुलो र लोकप्रिय संगठन भएकाले सबै विद्यार्थी अनेरास्ववियुमा आवद्ध हुन आह्वान गर्नुभएको छ । जिल्ला अधिवेशनमा नेकपा एमाले काभ्रेका उपाध्यक्ष चन्द्र लामा, सचिव राजन भुर्तेल, उप–सचिव राजकुमार सापकोटा, रिता ढकाल, अनेरास्ववियू केन्द्रिय सचिबालय सदस्य तथा काभ्रे इन्चार्ज जेनिश लामा, जनवर्गिय संगठनका प्रमुख, अनेरास्ववियु काभ्रेका पुर्वअध्यक्ष लगायत विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो । जिल्ला अधिवेशनकै अवसर पारेर अनेरास्ववियु काभ्रेका पुर्व अध्यक्ष तथा हालै सम्पन्न निर्वाचनमा जिल्लाबाट केन्द्रिय सदस्यमा निर्वाचित हुनेहरुलाई सम्मान गरिएको थियो । 
जिल्ला अधिवेशनले  मिलन कुमार गौतमको अध्यतामा ५१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । यस्तै उपाध्यक्षमा आदर्श न्यौपाने, दिपेश तिमल्सिना, दिपेश केसी, सचिवमा विमला तिमल्सिना, सह–सचिवमा भिजन थापा, तेजकुमार ठाडा मगर र अमित न्यौपाने तथा कोषाध्यक्षमा सौगात अधिकारी निर्वाचित हुनुभएको छ ।