2026 August 29/ 09:19: 01pm

सामूदायिक साकोसको डकैतीमा पहिले पनि सहकारी लुट्ने गिरोह संलग्न
पनौती/पनौती नगरपालिका वडा नम्बर ४ स्थित सामुदायीक बचत तथा ऋण सहकारी संस्थाको नगद डकैती गर्ने गिरोहका ४ जना सदस्य पक्राउ परेका छन् ।
उनीहरुलाई काठमाडौं र मकवानपुरबाट पक्राउ गरी प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । पक्राउ परेकामध्ये दुईजना विगतमा पनि सहकारी लुटपाटमा संलग्न रहेको पाइएको छ । प्रहरीले सामूदायिक साकोसको डकैतीमा संलग्न ६ जनामध्ये मकवानपुर जिल्ला ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ घर भएका वर्ष २४ को अमृत थिङ, बर्ष २९ को गम्बिर भन्ने सोमलाल थिङ, बर्ष ३० को अशोक रुम्बा र बर्ष ३५ को अगबर लामालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकालका अनुसार अमृत थिङ लामालाई जेठ १ गते राती १२ बजेर ३० मिनेटमा काठमाण्डौ जिल्ला चन्द्रागिरी नगरपालिका– १० सतुङ्गलबाट पक्राउ गरिएको थियो । सोमलाल थिङलाई जेठ १ गते राती १ बजेर १० मिनेटमा काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नम्बर १० को स्याङजाली चोकबाट, अशोक रुम्बालाई सोही दिन बिहान ४ बजे ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ फाखेल स्थित घरबाटै पक्राउ गरिएको हो भने अगबर लामालाई पनि बिहान ४ः३० बजेको समयमा फाखेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
पक्राउ परेकामध्ये अमृत थिङ र सोमपाल थिङ केही बर्षअघि ललितपुरको एक सहकारी लुटपाटको घटनामा पक्राउ परी अदालतको आदेशबाट सजाय पाइसकेका व्यक्ति हुन् । गिरोहका थप दुई सदस्यको नाम प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरुको खोजी जारी रहेको जिल्ला प्रहरी प्रमुख ढकालले जानकारी दिनुभयो । पक्राउ परेकाहरुको साथबाट नगद ५ लाख ४५ हजार, भरुवा बन्दुक एक थान, फलमको रड, भरुवा बन्दुक थान, फलामको गोली एक÷एक थान बारमद गरेको छ । यस्तै बारुद १ बट्टा, फलामको रेन्चु १ थान, फलामको हतौडा–२ थान, फलामको पाईप टुक्रा–१ थान, रामो–१ थान, मोबाईल ५ थान, जुत्ता– १ जोर, पानी टेप एउटा, पि–क्याप १ थान र एउटा ज्याकेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरिक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । 
पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकमा पेश गरी ७ को म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । मुलुकी अपराध संहिताको परिच्छेद २० को दफा २४४ अन्तर्गतको कसुरमा सजाँय हुनेछ ।  उक्त कसुरमा ७ वर्षदेखी १४ वर्षसम्म कैद र ७० हजार रुपैयाँदेखी १ लाख २५ हजार रुपैयाँसम्म जरीवानाको व्यवस्था छ ।  
गत वैशाख १९ गते राती १ बजेर २० मिनेटको समयमा समुहमा आएका उनीहरुले ३२ लाख ३१ हजार ७ सय ४५ रुपैयाँ चोरी गरेका थिए । समुहमा पिपिइ डे«स, मास्क लगाएर प्रवेश गरेका उनीहरुले सुरक्षा गार्डलाई नियन्त्रणमा लिई सहकारी भित्र रहेको भल्ट फुटाई नगद चोरी गरेका हुन । त्यसपश्चात घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायव उपरिक्षक रेशम बोहोराको कमाण्डमा प्रहरी परिचालन गरिएको थियो । विभिन्न सा्रेतबाट प्राप्त सुचनाको विश्लेषण पश्चात घटनामा संलग्नहरुको खोजीका लागि काठमाण्डौंमा र मकवानपुरमा प्रहरी कारबाही सञ्चालन गरिएको थियो । अन्यको पनि सुक्ष्म निगरानी भइरहेको डिएसपी बोहोराले बताउनुभयो । सामुदायीक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश बञ्जाराले नेपाल प्रहरीले खेलेको भूमिकाको प्रसंसा गर्नुभएको छ । संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै बञ्जाराले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।