खानीखोला/भौगोलिक विकटताका कारण एकजनाको नागरिकता प्राप्तिका लागि नागरिकहरुले १४ हजार रुपैयाँसम्म खर्च गर्नु पर्ने बाध्यता जिल्लाको खानीखोला गाउँपालिकाका सर्वसाधारणले भोग्नु परेको छ । सडक सञ्जाल नहुनु, एकै दिनमा नागरिकता बनाएर फर्कन नसक्नु, नागरिकताका लागि आवश्यक कागजात पुग्न नसक्दा पटक पटक फर्कनु पर्ने जस्ता विविध कारण नागरिकले नागरिकता प्राप्तीमै सास्ति ब्यहोर्नु परेको जनप्रतिनिधिहरुले बताएका छन् ।
‘संघीयताको मर्म अनुसार पनि नागरिकहरुले सहज सेवा प्राप्त गर्न सकेका छैनन’–खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ्गले भन्नुभयो–‘जतिबेला चाहियो उतिबेला नागरिकता लिन जाने परिस्थिती विकटताकै कारण भएको छ । जसका कारण नागरिकले थप दुःख पाएका छन् ।’ गाउँपालिकामा इलाका प्रशासन कार्यालय स्थापनाका लागि पटक पटक सरकारको ध्यानाकर्षण गराए पनि सहज नभएको गाउँपालिका अध्यक्ष थिङ्गले बताउनु भयो । छिमेकी गाउँपालिका महाभारतमा साविकका १० वटा गाउँ विकास समिति रहँदाको इलाका प्रशासन रहेकाले त्यहाँका नागरिकहरुले नागरिकता, राहदानी लगायतका सेवामा सहजता प्राप्त गरे पनि खानिखोलामा त्यसो हुन नस्क्दा नागरिकहरुले दुख पाईरहेको अध्यक्ष थिङ्गले बताउनु भयो । खानीखोलाबाट नागरिकताका लागि सदरमुकाम पुगेर एक जनाको नागरिकता बनाएर फर्कँदा १४ हजार रुपैयासम्म खर्च हुने गरेको छ ।
‘आउन जान बसको भाडा, सदरमुकाममा नागरिकता प्राप्त गरेर बास बस्नु पर्ने अवस्था र खाजा तथा खानाको खर्च दुई जनाको १४ हजार रुपैयासम्म भएको छ’–पुर्व वडा अध्यक्ष दुर्गा तिमल्सिनाले भन्नुभयो–‘काभ्रेकै सडकबाट सदरमुकाम पुग्न सक्दा मात्रै त्यति खर्चले नागरिकता बन्न सक्ने भए पनि मकवानपुरको बाटो हुँदै जाने हो भने अझै धेरै खर्च हुने छ ।’ त्यहि कारण नागरिकले पैसा हुँदा मात्रै नागरिकता बनाउने गरेका छन् । हरेक परिवारसँग नागरिकता बनाउन जाने खर्च नभएका कारण जतिबेला त्यसको आवश्यकता पर्छ त्यतिबेला लिने गर्दा समेत प्रशासनले त्यो समयसम्म नागरिकता किन लिएन ? सर्जिमिन गरेर आउन भन्दा थप खर्च हुने गरेको छ । स्थानीय तह भएको केहि वर्ष पछि प्रशासन मार्फत नागरिकता शिविर संचालन भएको थियो । अहिले शिविर नभएका कारण पनि नागरिकहरुले नागरिकताका लागि थप संकट ब्यहोर्नु परेको स्थानीयले बताए । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले नागरिकता प्राप्तीको शिविर हटेकाले नागरिकहरु सदरमुकाम नै आउनु पर्ने अवस्थामा सहज र सरल ढंगबाट कागजात पुगेको अवस्थामा छिट्टै नागरिकता प्रदान गरिने बताउनु भयो । नागरिकता लिन आउनु अघि वडा अध्यक्षहरुले कागजातका बारेमा शंका लागेमा सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारीलाई फोन मार्फत समन्वय गरेर मात्रै पठाउँदा नागरिकहरु फर्किनु नपर्ने बताउनु भयो । सडक सञ्जाललाई नियमित हुने गरी संचालन गर्न, नागरिकहरुलाई सहज र सरल सेवा प्रदान गर्ने गरी कार्य गरिरहेको अध्यक्ष थिङ्गले बताउनु भयो ।









