2026 August 29/ 08:24: 44pm

मोतीराम तिमल्सिना
बनेपा

    बाबु, छोरा, छोरी, बुहारी सहित परिवारका सबै सदस्य र आफन्त मिलेर ७ हजार २ सय सदस्यलाई सहकारी मार्फत ठगी गर्ने गिरोहका नाईकेहरुको मानहानी भएको भन्दै अदालतमा उजुरी पुगेको छ । चेष्टा साप्ताहिक लगायतका संचार माध्यममा दुई साता अघि बनेपामा रहेको पुण्यश्वर र द्रौपदा सहकारीले बचतकर्ताहरुको रकम लिएर भागेको समाचार प्रकाशन गरेको थियो । 
    बनेपा नगरपालिका वडा नम्वर ७ स्थित चारदोबाटोमा रहेको पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ब्यवस्थापक रामेछाप गुन्सी भदौरे ७ घर भई बनेपामा बस्दै आएका २९ बर्षीय कुमार गौतम सहकारीको ९ करोड रकम लिएर चार महिना देखि बेपत्ता छन् । द्रौपदा सहकारीको ५ करोड गरी १४ करोड रकम ठगी गरेका गौतम सम्पर्क विहिन छन् । पुण्यश्वर सहकारीका अध्यक्ष कुमारकै बाबु डम्बरप्रसाद गौतम हुन् । कुमारका बाबु डम्बरप्रसाद गौतम अध्यक्ष रहेको उक्त सहकारीमा कुमारको श्रीमती पवित्रा चौलागाई कोषाध्यक्ष छिन् । सानीआमा कमला चौलागाई सदस्य छन् भने बहिनी मनिषा गौतम लेखा प्रमुख छिन् । उता कुमार भने द्रौपदा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष छन् । दुबै संस्थाको लेखापालका रुपमा बहिनी मनिषा कार्यरत छिन् । कान्छो भाई प्रदिप गौतम ऋण संयोजक छन् । भाई बुहारी गंगा श्रेष्ठ गौतम र भाई उद्धव गौतमलाई सहकारीमा कार्यरत रहँदा रहँदै सोहि सहकारीको रकमबाट अष्ट्रेलिया पठाईएको छ । द्रौपदा सहकारीको करिब ५ करोड रकम अपचलन भएको छ ।
    उनै ठग गिरोहका अध्यक्ष डम्बरबहादुर गौतम जिल्ला अदालतमा समाचारका कारण अदालतको मानहानी भएको भन्दै उजुरी बोकेर अदालत पुगेका हुन् । पत्रिका र पत्रिकाका कार्यकारी सम्पादक मोतिराम तिमल्सिना विरुद्ध मानहानीको मुद्दा लिएर अदालत पुगेका गौतमको उजुरी दर्ता भएको छैन । बचतकर्ताहरुले रकम फिर्ता माग्दा तिर्छु भन्दै बनेपा नगरपालिका वडा नम्वर ७ को कार्यालयमा कागज समेत गरेका डम्बरबहादुर गौतमले उल्टै संस्थामा आफु संलग्न नभएको, हुलइज्जत गरेर ज्यान असुरक्षा भएको भन्दै ५२ जना बचतकर्ताहरु सहित वडा अध्यक्ष हिटलर शाक्य विरुद्ध मुद्दा दर्ता गराएका छन् । बचतकर्ताहरु रकम फिर्ता हुने आशमा भन्दा मुद्दाको हैरानीमा अदालतको तारेख धाईरहेका छन् । खाई नखाई गरी कमाएर जम्मा गरेको रकम जोखिममा परे पछि न्यायका लागि गएका बचतकर्ताहरुले कुनै निकायबाट न्याय पाएका छैनन् । बरु अदालतमा दर्ता भएको मुद्दाका कारण अन्यायमा परेको महसुस गरेका छन् । कानून ब्यवसायीलाई रकम दिएर मुद्दाको प्रतिउत्तर लगाउँदैमा बचतकर्ताहरुको संकट झन् गहिरिन थालेको छ । संचालक समितिका पदाधिकारीको दस्तखत समेत कुमार र डम्बरबहादुरले किर्ते गरेका छन् । किर्ते विरुद्ध उनिहरु विरुद्ध मुद्दा दर्ताको तयारी गरिएको छ ।  
    डम्बरबहादुर गौतमले २०७९ पौष ७ गते वडा अध्यक्ष हिटलर शाक्यको रोहबरमा छोरा कुमार गौतमले सहकारीबाट बचतकर्ताको रकम हिनामिना गरेको जति सबै रकम आफुले फिर्ता गर्ने गरी कागजात गरेका थिए । आफै रकम फिर्ता गर्छु भनेर कागज गर्ने डम्बरबहादुर अहिले एक पछि अर्काे मुद्दा दर्ता गर्दै जेल जानबाट बच्ने उपायको खोजि गरिरहेका छन् । संस्थाका उपाध्यक्ष झम्कप्रसाद गौतम, सदस्य अमृत गौतम र टिकालालले बनेपा नगरपालिका, सहकारी विभाग, जिल्ला प्रशासन, प्रहरी कार्यालय लगायतका स्थानमा उजुरी गरेका छन् । उनिहरु सहित ३१ जना बचतकर्ताको उजुरीमा हस्ताक्षर छ । बागमती प्रदेशको सहकारी मन्त्रालयमा चैत्र ६ गते पुगेका थिए । सोहि दिन जिल्ला प्रहरी कार्यालय काभ्रेलाई खोजकार्य तथा आवश्यक कारवाहीका लागि पत्राचार गरेको थियो । बचतकर्तालाई बचत फिर्ताको लागि दिएका चेक पनि बाउन्स हुन थालेका छन् । कुमार आफैले ब्यक्तिगत रुपमा १ करोड ३६ लाख ९१ हजार ५ सय ८३ रुपैया खर्च गरेको रेकर्डमा उल्लेख छ । उनले सहकारीबाट लगानी गरेको ऋण पनि परिवारका सदस्यमा मात्रै छ । ७ करोड भन्दा धेरै रकम उनले आफ्नै परिवारका सदस्यलाई लगानी गरेका छन् । बनेपा शाखाबाट ४४ जनाले लिएको ऋण मध्ये अशोक चौलागाई सानीआमाका छोरा, गणेशप्रसाद दुलाल मामा, सृजना दर्लामी मगर (कुमारको एकाघर), गायत्रराज ठकुरी (आफन्त), लक्ष्मी चौलागाई गौतम (बुहारी), उद्धव गौतम (भाई माईलो), विशाल रानाभाट(उनको नाममा आफै चलाएको १९ लाख), गंगा श्रेष्ठ गौतम (माईली बुहारी), सहदेव चौलागाई(जेठान), मनिष कर्की (पसल प्रतिक सुज), नवराज धिताल (नाताको ज्वाई), देवी मल्ल (आफन्त) र अधिकांश ऋणीहरु रामेछापकै उनका गाउँका छन् । कतिलाई जानकारी नभईकन पनि कुमारले उनिहरुको नागरिकता फोटोकपीका आधारमा ऋण लगानी गरेर आफै खर्च गरेका छन् । नवराज धितालले पनौती १ का सन्तोष सापकोटाको १ करोड ३० लाख लिएर फरार भएका छन् । जग्गा पास गर्ने सहमतिमा संस्थामा रोक्का भएको जग्गा फुकुवा गर्न दिएको रकम लिएर फरार भएको सन्तोषले बताएका छन् । 
    उता द्रौपदा बचत तथा ऋण सहकारीको अध्यक्ष भएका कुमार गौतमले त्यहाँका सदस्यहरुको पनि रकम लिएर फरार भएका छन् । अध्यक्ष बाबु मद्दा राख्दै हिड्ने, छोरा पैसा लिएर फरार हुने अनि ऋणीहरु चाँहि ऋण तिर्न परेन भनेर मज्जा लिदै गरेको अवस्थामा बचतकर्ताहरु थप संकटमा परेका हुन् ।