काभ्रेमा कसले को विरुद्ध ग¥यो उजुरी ?
धुलिखेल/राजधानीमा दैनिक जसो मिटरब्याजका पीडितहरुले माईतीघर मण्डलामा आन्दोलन गरिरहेका छन् । सरकारले वार्ता गरिरहेको छ । नयाँ ऐन, निर्देशिका र कानून निर्माणको तयारी गरिरहेको भए पनि पीडितहरुले सरकारको विश्वास गर्न सकिरहेका छैनन् । तराई र पहाडमा मिटर ब्याजको समस्या फरक फरक देखिएको छ । देशभरको समस्यालाई समाधान गर्ने गरी यतिखेर प्रहरी र प्रशासन कार्यालय मार्फत जिल्लामा रहेका मिटर ब्याजीहरुको सुक्ष्म अध्ययन गरिरहेको छ । केहि उजुरीका बारेमा प्रहरी टुङ्गोमा पुगिसकेको बताईएको छ ।
जिल्ला प्रशासन कार्यालयले मिटर ब्याज लिनेहरु विरुद्ध परेका उजुरीहरुको सूचीलाई प्रहरी कार्यालयमा लिपिबद्ध गरेर पठाएको छ । प्रशासनले उजुरी गर्ने निवेदक, मिटर ब्याज लिनेको नाम, उजुरीको ब्यहोरा र बर्गिकरण गरेको छ । जसमा सामान्य र जटिल प्रकार छुट्टयाईएको छ । सबैसँग एकसरो बयान सकेको प्रशासन कार्यालयले बाँकी अनुसन्धानका लागि प्रहरीलाई बुझाएको जानकारी दिएको छ । जिल्लामा पहिलो चरणमा १७ वटा उजुरी परेको थियो भने पछि ७ वटा उजुरी परेको छ । बनेपा ४ घर भएकी पुण्यप्रभा प्रजापतिले साविक मेथिनकोट गाविस ४ हाल नमोबुद्ध नगरपालिका घर भएका राजनबहादुर दाहाल विरुद्ध २ रोपनी जग्गा ३ लाख १० हजार रुपैउामा कागज गरेर लिएको साँवा ब्याज फिर्ता गर्छु भन्दा पनि नगरेको विषयको उजुरी गरेकी छिन् । ऋण लिँदा जग्गा फिर्ता गर्ने शर्तनामा भए पनि राजनबहादुरले गर्न नमानेको र मिटर ब्याज जोडेर जग्गा नदिएको उजुरीमा उल्लेख छ ।
त्यस्तै बनेपाका राजकुमार प्रजापतिले विभिन्न ब्यक्तिलाई मिटर ब्याज लिएको उजुरी गरेका छन् तर उनले नै पुण्यप्रभा प्रजापतिले ६ लाख रुपैयाँ लिएर सोहि ऋणको धेरै रुपैयाको कागज बनाएर जग्गा पास गराएको र सहकारीबाट ४५ लाख ऋण लिएर सहकारीको पनि रकम नतिरेको उल्टै जग्गा लिलामीको धम्कि दिएको उल्लेख गरिएको छ । महाभारतका ज्ञानबहादुर अस्तानीले बनेपाका सनिल भालुलाई मिटर ब्याज लिएर चेक बाउन्सको अभियोगमा उजुरी गरेको, मण्डनदेउपुर ९ का भारदारी प्रसाद सापकोटाले धुलिखेलका पूर्णकुमारी अधिकारी, लोकनाथ अधिकारी, विजया अधिकारी सापकोटाले २ लाख रुपैयाँको ऋणमा ४ लाख तिरिसक्दा समेत जग्गा फिर्ता नगरी ब्याज चर्काे लिएको, पनौतीका सुनिल धाँजुले भक्तपुर १३ का राधेलक्ष्मी लखाजुले ७ लाख लिएर जग्गा हडपेको उजुरी परेको छ । पनौती ७ कै शिवकुमार कुमार प्रधानले दोलखाका रामबहादुर कार्की विरुद्ध उजुरी गरेका छन् । १ करोड ५० लाख ऋणमा ५ करोड रुपैयाँ माग गरेको उजुरीमा उल्लेख छ ।
नमोबुद्धका चेतप्रसाद उप्रेतीले बनेपाकी उर्मिला प्रधान र पाँचखालका प्रताप सिं तामाङ विरुद्ध उजुरी गरेका छन् । १५ लाख लिएर २० लाख रुपैयाँ तिरेको तर जग्गा फिर्ता गर्ने शर्त भए पनि नगरेको उजुरीमा उल्लेख गरिएको छ । पाँचखालकी संगिता कायश्थले ललितपुरका बद्रिबहादुर श्रेष्ठ विरुद्ध उजुरी गरेकी छिन् । २० लाख ऋणमा ६० लाख माग गरेर जग्गा फिर्ता नगरेको उजुरीमा उल्लेख छ । मण्डनदेउपुर ८ का मनबहादुर राईले नमोबुद्धकी रामकुमारी श्रेष्ठ विरुद्ध १५ लाख लिएर जग्गा कब्जा गरेको उल्लेख गरिएको छ । साँवा ब्याज चुक्ता गरिसक्दा समेत जग्गा फिर्ता नगरेको उल्लेख छ । धुलिखेल ८ की कविता मिजारले भुम्लु ९ का प्रविन लामा विरुद्ध उजुरी गरेकी छिन् । १ लाख रुपैया लिएर २ लाखको कागज बनाएर ८ लाख रुपैया तिरिसक्दा समेत ऋण अझै बाँकी छ भनेर जग्गा फिर्ता गर्न नमानेको उजुरीमा उल्लेख छ । दौलतकुमार श्रेष्ठ रामेछापले भक्तपुरका कृष्ण बोहाजु विरुद्ध ९ लाख ऋण लिएर ३१ लाख तिरिसक्दा समेत ४० लाख तिर्न बाँकी छ भन्दै धम्कि दिने गरेकाले असुरक्षित भएको उल्लेख गरिएको छ । पनौतीका राजु रायमाझी, बनेपाका दिलिप मुखिया र बनेपाका राजकुमार प्रजापतिको पनि मिटर ब्याज लिनेहरुको सूची भन्दै उजुरी दर्ता भएको छ ।









