धुलिखेल/सरकारले शतप्रतिशत महिलाहरु सुत्केरी हुँदा स्वास्थ्य संस्था पु¥याउनै पर्ने भने पनि प्राविधिक कारण घरमै वा अन्यत्र सुत्केरी हुँदा बच्चा जन्मिसकेपछि हुन सक्ने अत्याधिक रक्तश्राव रोक्न मातृ सुरक्षा चक्कि अथार्त ‘मिजोप्रोस्टल’ वितरणका लागि समुदाय स्तरमा कार्यक्रम शुुरु गर्ने भएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकमा आयोजित प्रजनन स्वास्थ्य समन्वय समिति तथा सरोकारवालाहरुलाई अभिमुखिकरण कार्यक्रममा देशभर भएका मातृशिशुको अवस्था र रोकथामका लागि भएका पहलहरुका बारेमा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाईले जानकारी गराउनु भएको थियो । ‘सरकारको लक्ष्य सबै गर्भवति महिलाहरु स्वास्थ्य संस्थामै पुगेर सुत्केरी हौउन भन्ने नै हो तर कथंकथाचित कहिलेकाँहि घरमै वा बाटोमा सुत्केरी हुँदा शिशु जन्मि सकेपछि हुन सक्ने अत्याधिक रक्तश्राव रोक्न मातृ सुरक्षा चक्कि प्रयोगका बारेमा अभियान शुरु गरिएको छ’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाईले भन्नुभयो–‘नियमित स्वास्थ्य संस्थामा आई गर्भ परिक्षण गरिरहेका महिलाहरुलाई ८ महिनाको गर्भ जाँच पछि चक्कि, चक्किका साथमा जीवन सुरक्षा, आईरन चक्कि, नाभी मल्हम, घरमै बच्चा जन्मिँदा हुन सक्ने सम्भावित जोखिम र नवजात शिशु तथा बाल रोगको एकीकृत ब्यवस्थापनका बारेमा जानकारी गराईनेछ ।’
नागरिकको जीवन बचाउने दायित्व जनप्रतिनिधि र स्वास्थ्य संस्थामा संलग्न ब्यक्तिहरुको भएकाले अत्याधिक रक्तश्राव रोक्न अपनाउनु पर्ने उपायका बारेमा घर घर पुगेर जनचेतना फैलाउन समन्वय गरिने जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतमले बताउनु भयो । ‘धुलिखेल अस्पतालमा सिन्धुली र सिन्धुपाल्चोकबाट गर्भवती महिलालाई सुत्केरी गराउन ल्याउने क्रममा उपचार हुँदा हुँदै दुई महिलाको अघिल्लो आर्थिक वर्षमा निधन भएको छ’– धुलिखेल अस्पतालमा बरिष्ठ स्त्रि रोग विशेषज्ञ डा. सुमन ताम्राकारले भन्नुभयो–‘घरबाट अस्पताल ल्याउँदा वा अस्पताल ल्याउन लाग्दा लाग्दै बाटोमा सुत्केरी भई अत्याधिक रक्तश्राव भएमा मिजोप्रोस्टल तीन चक्कि ओठले च्यापेर खुवाउन सकिएको अवस्थामा महिलालाई अत्याधिक रक्तश्रावबाट बचाउन सकिन्छ ।’ उक्त चक्कीले खुलिरहेको पाठेघरलाई खुम्च्याउन सहयोग पु¥याउँछ । घरमै सुत्केरी हुँदा अत्याधिक रक्तश्राव पाठेघरका कारण मात्रै नहुने भएकाले तत्काल अस्पताल ल्याउन चिकित्सक डा. सुमन ताम्राकारले अनुरोध गर्नु भयो । ‘अत्याधिक रक्तश्राव भईरहेको छ, चक्कि खाएर ढुक्कले घरमै बस्नु भयो भने अरु कारणबाट रक्तश्राव भएको रहेछ भने महिलाको निधन हुन सक्छ’–डा. ताम्राकारले भन्नुभयो–‘अस्पताल आउने समयसम्म औषधीले रोकथाम ग¥यो भने थप उपचार गराउन सहज हुन्छ । पाठेघर बाहेक अन्यत्र स्थानबाट पनि निरन्तर रक्तश्राव हुने भएकाले सकेसम्म गर्भवति महिलालाई नजिकको स्वास्थ्य संस्थामै पु¥याएर सुत्केरी गराउनु पर्छ ।’
उक्त रक्तचाप, रक्तश्राव, असुरक्षित गर्भपतनका कारण गर्भवति महिलाहरुको निधन हुने गरेको तथ्याङ्क छ । नेपालको तथ्यांक ८० प्रतिशत महिलाहरु स्वास्थ्य संस्थामा सुत्केरी हुने र २० प्रतिशत महिलाहरु घरमै सुत्केरी हुने गरेका छन् । घरमै सुत्केरी हुने महिलाहरु गर्भाअवस्था र सुत्केरी अवस्थामा रगत बगेर, लामो समय सुत्केरी ब्यथा लागेर, सुत्केरी हुँदा सक्रमण भएर, असुरक्षित गर्भपतन गराएर मृत्यु हुने गरेका छन् भने पछिल्लो समय २० वर्ष मुनिका महिलाहरुले गर्ने गरेको गर्भपतनका कारण सुत्केरी हुने क्रममा अत्याधिक रक्तश्राव हुने गरेको तथ्याङ्क छ । नवजात शिशु तथा आमाको निधन हुने क्रम कम हुँदै गए पनि सन् २०३० सम्म त्यसको दरलाई शुन्यमा झार्ने रणनीति अन्र्तगत काभ्रेपलाञ्चोक जिल्लामा स्वास्थ्य कार्यालय, धुलिखेल अस्पताल तथा १३ वटा पालिकामा रहेका स्वास्थ्य संस्थाहरु, सामाजिक संस्थाहरु, समुदाय र स्थानीय जनप्रतिनिधिको ध्यान त्यसमा केन्द्रित गर्ने गरी कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्ने जिल्ला समन्वय समिति प्रमुख दिपकुमार गौतमले बताउनु भयो ।









