2026 August 28/ 05:21: 26pm

    धुलिखेल/जनजागृति तरकारी तथा फलफुल सहकारी संस्था लि. धुलिखेलले रजत जयन्ती एक कार्यक्रमका बीच सम्पन्न गरेको छ । संस्था लि.का पूर्व अध्यक्षहरु विनोद पराजुली, प्रतापसिं लामा, राजु मगर तथा वर्तमान अध्यक्ष पृथ्वीमान तामाङ्गले संयुक्त रुपमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । 
    रजत जयन्तीको अवसर पारेर संस्था लि.ले आफ्नो संस्थामा आबद्ध बाल शैक्षिक सदस्यहरुलाई स्कूल व्याग वितरण गरिएको थियो । कार्यक्रममा पूर्व अध्यक्षहरु विनोद पराजुली, प्रतापसिं लामा र राजु मगरले आफ्नो कार्यकालमा भए गरेका गतिविधिहरुको जानकारी दिँदै आगामी दिनमा संस्थाको प्रगति तथा सफलताको शुभकामना दिनुभएको थियो । 
    संस्था लि.का अध्यक्ष पृथ्वीमान तामाङले पछिल्लो समय केहि सहकारीहरुमा तरलताको समस्या देखिएको र जनजागृतिमा भने सो समस्या नरहेको बताउनु भयो । उहाँले आफ्ना शेयर सदस्यहरुलाई  बजारमा आएको हल्लाको पछाडि नलागि निर्धक्कसाथ बचत गर्न आग्रह गर्नुभयो । उहाँले थप स्पष्ट पार्दै आफ्ना शेयर सदस्यहरुले गरेको बचत रकम कुनैपनि बेला निकाल्न सक्ने बताउनुभयो । 
    रजत जयन्ती कार्यक्रममा संस्था लि.का संचालक समिति, उपसमिति,  कर्मचारी, तथा शेयरसदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । 
    २०५४ सालमा स्थापना भई धुलिखेलमा कार्यालय स्थापना गरिएको सहकारी संस्था लि.को प्रारम्भिक समयमा रु. ७ हजार २ सय शेयर पूँजीबाट संचालित यो सहकारी संस्था हाल आएर १ करोड ९१ लाख ९८ हजार २ सयको शेयर पुँजी रहेको छ । स्थापनाकालमा ७१ जना शेयर सदस्यबाट सुरुवात गरिएको यस संस्थामा हाल शैक्षिक शेयर सदस्य गरी कूल २७ सय ३३ जना सदस्य रहेका छन् । 
    कृषि कर्म गर्ने शेयर सदस्यहरुप्रति समर्पित यस सहकारी संस्थाको धुलिखेल ४ छापगाउँमा आफ्नै कृषि सिकाई केन्द्र संचालन गर्दै आइरहेको छ । त्यसैगरी संस्था लि.ले तरकारी खेतीसम्बन्धी प्राविधिक ज्ञान, बजारीकरण, घरदैलोमै मल, बिउ, बिजनको व्यवस्था, सहकारी सचेतनामूलक ज्ञान तथा किसान–२ परियोजनामार्फत काम गर्दै आइरहेको छ ।    संस्था लि.ले सदस्यहरुका लागि सदस्य सुरक्षा कार्यक्रम, मृत्यु राहत, उपचार राहत, पशुधन सुरक्षण, सुत्केरी खर्च, मोबाइल बैंकिङ्ग, जेष्ठ सदस्य सम्मान, कृषि व्यवसायी पुरस्कार, शैक्षिक पुरस्कार लगायतको कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । त्यसैगरी संस्था लि.ले वार्षिक कार्यतालिका अन्तर्गत अध्ययन तथा अवलोकन भ्रमण, पिकनिक कार्यक्रम, तीज कार्यक्रम लगायतका कार्यक्रमहरु गर्दै आइरहेको जानकारी संस्था लि.का सचिव नानीराम धितालले बताउनुभयो ।