साँगा–धुलिखेल खण्डमा ७५ फुटको मापदण्ड
धुलिखेल/सुर्यविनायक धुलिखेल सडक खण्ड विस्तारको क्रममा काभ्रेपलाञ्चोक जिल्लाको साँगा देखि धुलिखेलसम्मको सडक खण्डमा २५ गज भित्र मात्रै सडक निर्माण हुने भएको छ । सडक निर्माणका बारेमा जानकारी दिन तथा सुझाव संकलनका लागि जिल्ला समन्वय समिति काभ्रेले जिल्ला स्थित संघीय तथा प्रदेश सांसद, सरोकारवाला क्षेत्रका जनप्रतिनिधि, नागरिक समाज तथा सरोकारवाला निकायका प्रतिनिधिहरु सहभागि गराएको थियो ।
आयोजनाका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा बनेपाको पूलबजार देखि चण्डेश्वरी खोलासम्मको सिमा विवादमा सर्वाेच्च अदालतको आदेश तथा अन्य समयमा भएका सरकारका निर्णयका कारण आयोजनाले डिपिआर तयार गर्दा नै २५ गज भित्र सडक निर्माण गर्ने गरी इस्टमेट तयार गरिएको आयोजना प्रमुख राजेन्द्र दासले जानकारी दिनुभयो । तीन वर्ष भित्र सम्पन्न हुने गरी २०७९ मसिंर २७ गते सम्झौता भएको उक्त खण्डको डिपिआर तथा आयोजना सम्पन्न गर्दा आईपर्ने समस्या र चूनौती समाधानका लागि सरोकारवाला निकायहरुको भूमिकाका बारेमा छलफल भएको थियो । ‘आयोजना सम्पन्न हुन सडकको सिमा, विद्युत्त, वन, खानेपानी, ढल, टेलिफोन तथा अप्टिकल फाईबर, घर, मन्दिर, प्रेट्रोल पम्प लगायतका पुर्र्वाधार लगायतका संरचना हटाउन समन्वयको आवश्यक छ’–आयोजना प्रमुख राजेन्द्र दासले भन्नुभयो–‘साँगा देखि धुलिखेलसम्मको सडक खण्ड भित्र ६ वटा घर मापदण्ड भित्र पर्छन । मन्दिर, धारा, इनारलाई अन्यत्र सार्न कठिन छ ।’
सडक निर्माण कार्य हुँदा सडक सिमा भित्र भईरहेका संरचनाहरुमा हुने क्षति न्यूनिकरणका लागि ध्यान दिनु पर्ने धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनुभयो । काभ्रे उपत्यका खानेपानीले बनेपा धुलिखेल सडकमा विछ्याएको खानेपानीको पाईप, २८ किलो, बाँसघारी लगायतका स्थानमा विछ्याएको ढल तथा अन्य संरचनाहरुको संरक्षण र मर्मत सम्भारका लागि श्रोतको ग्यारेन्टी गर्न अनुरोध गर्नु भयो । धुलिखेल खावा सडक स्तरोन्नतीमा भईरहेको ढिला सुस्ति र अस्तब्यस्तताका कारण नागरिकहरुले ब्यहोर्नु परेको सकसका बारेमा नगर प्रमुख ब्याञ्जुले आयोजना र निर्माण ब्यवसायीको ध्यानाकर्षण गराउनु भएको थियो । लामा कन्ट्रक्सन प्रालीले ४ अर्ब ५ करोड ६४ लाख ७५ हजार रुपैयामा सम्झौता गरेको छ । सडक क्षेत्रमा २ सय ५६ वटा रुख कटान गर्नु पर्ने छ । ५ वटा मन्दिर, २ वटा पानी ट्याङ्की, ढुंङ्गे धारा, विजुलीका पोल लगायतका संरचना हटाउने प्रकृया शुरु भएको छ । वन, विद्युत्त लगायतका कार्यालय प्रमुखहरुले समयमै कार्य सम्पन्न गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
सडक निर्माणका लागि दैनिक १ सय १२ वटा टिपर संचालन गर्नु पर्ने भएकाले सहजीकरणका लागि लामा कन्ट्रक्सनका राजेन्द्र श्रेष्ठले बताउनु भयो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघीय सांसद सुर्यमान दोङ्ग, प्रदेश सांसद रत्न ढकाल, लक्ष्मण लम्साल, रुकु चौलागाई, नगर प्रमुख अशोक ब्याञ्जु, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, प्रहरी प्रमुख एसपी भागेन्द्रपुरुष ढकाल, वडा अध्यक्षहरु, उद्योग बाणिज्य संघका प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहभागिहरुले समयमै आयोजना सम्पन्न गर्न आवश्यक सहजीकरण र समन्व हुने तर आयोजना र निर्माण ब्यवसायीले सुरक्षाका मापदण्ड अपनाएर कार्य सम्पन्न गर्न अनुरोध गरे ।









