2026 August 28/ 05:21: 38pm

मोतीराम तिमल्सिना
बनेपा    

    लामो समय पछि त्रिभुवन विश्वविद्यालय अन्र्तगतका क्याम्पसहरुमा हुन लागेको स्ववियु निर्वाचनको तयारी धमाधम भईरहेको छ । मतदाताको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारी दर्ताको अन्तिम तयारी गरिएको छ । 
    दल निकट विद्यार्थी संगठनहरुले उम्मेदवार चयनका लागि आन्तरिक तथा संगठनहरु बीचको तालमेलका बारेमा छलफल चलाएका छन् । सत्ता निकट दलका विद्यार्थी संगठनहरु तथा बाम गठवन्धन के हुने ? अझै टुङ्गिएको छैन । तर पनि विद्यार्थीहरु आन्तरिक र बाह्य तयारीमा जुटेका छन् ।  निर्वाचनको पूर्व सन्ध्यामा क्याम्पसहरुमा निर्वाचन समिति गठन गरी कार्य प्रारम्भ भएको छ भने मतदाता नामावली प्रकाशन, मतदाता सूची उपर दावी विरोध भईरहेको छ । जिल्लाको पुरानो काभ्रे क्याम्पसले एउटा विद्यार्थी संगठनलाई फाईदा पुग्ने गरी निर्वाचन कार्यक्रम प्रकाशन भई सके पछि चुनाव लक्षित नक्कली विद्यार्थी भर्ना गरी नामावली सार्वजनिक गरेसँगै तालाबन्दी भएको छ । 
    विद्यार्थी संगठनहरुले जिल्लाका १६ क्याम्पसमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुको खोजी गरिरहेका छन् । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, विद्यार्थी संगठनका प्रमुखहरु, क्याम्पस ब्यवस्थापन समितिका अध्यक्षहरु, क्याम्पस प्रमुखहरु बीचको संयुक्त बैठक सम्पन्न भएको छ । बैठकले सबै क्याम्पसहरुमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आचार संहिता लागु गरी पूर्ण रुपमा कार्यान्वयन गर्न, विद्यार्थी परिचयपत्र वितरण गर्न, केन्द्रिय तालिका अनुसार नै निर्वाचन कार्यक्रम संचालन गर्न तथा फरक गर्नुपर्ने भएमा सहमतिका आधारमा मात्रै तय गर्न, उम्मेदवारी शुल्क न्यूनतम कायम गर्ने विषयमा सहमति भएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले विद्यार्थीहरुको मतदान गर्ने तथा उम्मेदवार हुने अधिकारलाई सुरक्षित गर्न तथा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सर्वपक्षिय छलफल गरिएको बताउनु भयो । 
    तालिका अनुसार फागुन २५ गते साँझ ५ बजेसम्म मतदाता सूची उपर दाबी विरोधको छानविन गरी अन्तिम नामावली प्रकाशित गर्ने रहेको छ । काभ्रे क्याम्पस र अन्य केहि क्याम्पसमा मतदाताहरुको सूचीका बारेमा उजुरी परेको छ । अन्तिम नामावली प्रकाशन पछि भोलि अथार्त फागुन २६ गते दिउँसो २ बजेसम्म मनोनयन पत्र वितरण हुनेछ । प्रत्यक्ष र समानुपातिक दुबै उम्मेदवारका लागि मनोनयन पत्र वितरण हुने तालिका छ । उम्मेदवारहरुले मनोनयन पत्र फागुन २७ गते ११ बजे देखि २ बजेसम्म दाखिला गरिसक्नु पर्नेछ । समानुपातिक र प्रत्यक्ष तर्फको एकै पटक दाखिला हुनेछ । सोहि दिन साँझ ५ बजे प्रत्यक्ष तर्फको उम्मेदवारको नामावली प्रकाशित हुनेछ । उम्मेदवार उपर दावी विरोध गर्ने अन्तिम समय फागुन २८ गते दिउँसो २ बजेसम्म रहेको छ । दाबी विरोध उपर छानविन गरी उम्मेदवारको नामावली प्रकाशन सोहि दिनको साँझ ५ बजेसम्म हुनेछ । उम्मेदवारले नाम फिर्ता लिने समय फागुन २९ गते दिउँसो १ बजेसम्म रहेको छ । अन्तिम नामावली प्रकाशन २९ गते दिउँसो २ बजे हुनेछ । मतदान चैत्र ५ गते विहान ८ बजे देखि ४ बजेसम्म हुनेछ । विद्यार्थीहरुले फागुन २९ गते दिउँसो २ बजे पछि देखि चैत्र २ गते रातिसम्म प्रचार प्रसार गर्न पाउनेछन् । एमाले निकट अनेरास्ववियुले केहि क्याम्पसमा उम्मेदवारहरुको टुङ्गो लगाई सकेको छ । क्याम्पसको स्ववियु सभापति तथा अन्य पदाधिकारी र समानुपातिक उम्मेदवारका बारेमा छलफल गरिरहेको छ । एमाले बाहेक अन्य दलका विद्यार्थी संगठनहरुले उम्मेदवारका बारेमा छलफल गरिरहेका छैनन् । यो पटकका स्ववियु निर्वाचनमा विद्यार्थीहरुलाई पहिले पहिलेको समयमा जस्तो उत्साह भने छैन । 

क्याम्पसमा ताला र विवाद
    काभ्रे बहुमुखी क्याम्पसमा नक्कली विद्यार्थी भर्ना गरेको भन्दै तीन विद्यार्थी संगठनहरुले गरेको तालाबन्दी अझै खुलेको छैन । श्रीकृष्ण बहुमुखी क्याम्पस दाप्चा लगायतमा विद्यार्थी संख्याका बारेमा विवाद भएको छ । कानपुरमा ३५ जना विद्यार्थी भर्ना भए पनि ७ जना मात्रै नियमित आउने भएकाले विद्यार्थी संख्या कायम गर्ने विषयमा विवाद भएको छ । काभ्रे क्याम्पसमा शंकास्पद गतिविधि भएको भन्दै एमाले निकट अनेरास्ववियु, नेकपा एस निकट अनेरास्ववियू र राप्रपा निकट राप्रवि संघले क्याम्पसको लेखा शाखामा तालाबन्दी गरिएको छ । 
    अनेरास्ववियुका अध्यक्ष प्रमेश पौडेल, अनेरास्ववियूका सचिव प्रदीप न्यौपाने र राप्रवि संघका अध्यक्ष विशराम घिमिरेले संयुक्त विज्ञप्ति जारी गर्दै तीन संगठनका प्रतिनिधिसहित निर्वाचन समितिको अनुरोधमा ताला खुलाउने जानकारी गराएका छन् । अन्य केहि क्याम्पसमा पनि विद्यार्थी संख्या र नामावलीका बारेमा विवाद भएको छ ।