2026 August 28/ 04:22: 45pm

 पनौती नगरपालिका वडा नम्बर ४ मा भित्ते चित्रकथा कार्यशाला सम्पन्न भएको छ । 
    पनौती नगपालिका र सिविन नेपाल, बालमैत्री वडा समिति, बाल अधिकार समिति, मित्रता वडा बाल सञ्जाल पनौतीको आयोजनामा भएको कार्यशाला ४ दिनसम्म सञ्चालन भएको थियो । समापन कार्यक्रममा पनौती नगरपालिका उप–प्रमुख गिता बञ्जाराको प्रमुख आतिथ्यता रहेको थियो भने पनौती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अध्यक्ष दिपक प्रसाद दाहालको सभापतित्व रहेको थियो ।  कार्यक्रममा पनौती नगरपालिका सामाजिक विकास शाखा प्रमुख एवं बालमैत्री सम्पर्क व्यक्ति केशव बञ्जारा, नगर कार्यपालिका सदस्य राधिका विश्वकर्मा, वडा सदस्य सविता थापा, प्रकाश बञ्जारा, वडा सचिव राजकुमार श्रेष्ठ, सिविन नेपालका कार्यक्रम व्यवस्थापक भगवती श्रेष्ठ, प्रशिक्षक निरिजना भट्ट, बाबुराम खड्का, मित्रता वडा बाल सञ्जालका अध्यक्ष पुरब बञ्जारा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पनौती नगरपालिका उप–प्रमुख गीता बञ्जाराले बालबालिकाको क्षमता अभिवृद्धिका लागि कार्यशाला महत्वपुर्ण भएको बताउनुभयो । बालबालिकामा गरिएको लगानी सुनौलो भविष्यका लागि महत्वपुर्ण रहेकाले नगरपालिकाले बालबालिकाको क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको उहाँको भनाई थियो । बालमैत्री पनौती नगरपालिका देशकै नमुना पालिका बनाउनेगरी काम गरिरहेको उप–प्रमुख बञ्जाराले बताउनुभयो । यस्तै वडा अध्यक्ष दिपक दाहालले बालबालिकामा गरिएको लगानी तत्काल नदेखिएपनि भविष्यमा अर्थपुर्ण महत्व राख्ने बताउनुभएको छ । भित्ते चित्रकथा कार्यशाला बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने अवसर भएको उहाँले बताउनुभयो । कार्यक्रम सञ्चालन पनौती नगरपालिका वडा नम्बर ४ को बालमैत्री सहजकर्ता ललिता धितालले गर्नुभएको थियो । कार्यक्रममा सहभागी बालबालिकाहरुले वभिन्न विषयमा चित्रकथा प्रस्तुत गरेका थिए ।