2026 August 28/ 05:21: 40pm

उपराष्ट्रपति पुनःद्वारा उद्घाटन, बास्कोटाले गरे समापन
    बनेपा/काभ्रेपलाञ्चोक जिल्लामा बहृत्त खेलकुद महोत्सव समापन भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनः ले शुक्रबार महोत्सवको उद्घाटन पनौतीको क्षेत्रिय रंगशालामा गर्नु भएको थियो भने पुर्व मन्त्री गोकुल बास्कोटाले समापन गर्नु भएको थियो । जिल्लामा पहिलो पटक खेलकुद महोत्सव आयोजना गरिएको हो । 
    महोत्सवमा सहभागि भई विजयीहरुलाई पुरस्कार वितरण गरिएको थियो । प्रदेश सभा सदस्यहरुले विभिन्न स्थानमा महोत्सवमा आयोजना गरिएका खेलहरु उद्घाटन गर्नु भएको थियो । महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले भन्नुभयो–‘तिनै तहका सरकारले खेल, खेलाडी र खेलका पूर्वाधारलाई प्राथमिकतामा राख्नु पर्छ ।’ शारीरिक र मानसिक रुपल ब्यक्ति र राष्ट्रलाई समेत स्वस्थ बनाउन सकिने खेललाई प्राथमिकतामा राख्न सकिएको अवस्थामा मात्रै खेलको माध्यमबाट राष्ट्र र अन्र्तराष्ट्रिय स्तरमा चिनाउन सकिने उपराष्ट्रपति पुनले बताउनु भयो । ‘खेलाडीको सुविधा बृद्धी गर्न, विदेशिनबाट रोक्न र पूर्वाधार निर्माणमा ध्यान दिनु आवश्यक छ’–उपराष्ट्रपति पुनले भन्नुभयो–‘खेलकुदका लागि निर्माण शुरु गरिएका पुर्वाधार अलपत्र छन् । राज्यको लगानी पर्याप्त र प्राथमिकतामा पर्न सकेको छैन ।’ पूर्वाधार विकास खेलकुद विकास पहिलो शर्त भएको उहाँले बताउनु भयो । 
    महोत्सवको उद्घाटन कार्यक्रममा पुर्व मन्त्री एवं काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्वर २ का सांसद गोकुल बास्कोटाले २०४८ साल देखिको ऐन र कानुनबाट खेल प्रतियोगिता तथा खेलकुदको विकास सम्भव नहुने बताउँदै ऐन, नियम र कानूनमा गर्नु पर्ने परिवर्तन तथा नयाँ खेल र खेलाडीको विकासका लागि यो संसद कामयावी हुने बताउनु भयो । पनौतीको क्षेत्रिय रंगशालामा राजनीति नगर्न अनुरोध गर्दै बास्कोटाले अधुरा कार्यहरु पुरा गर्न सबै एकजुट हुनु पर्ने बताउनु भयो । राष्ट्रिय एकताको सुत्रधार खेललाई राज्यले हेर्ने दृष्टिकोण स्पष्ट हुनु पर्नेमा बास्कोटाले जोड दिनु भयो । 
    कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्वर १ का सांसद सुर्यमान दोङ, प्रदेश सभा सदस्य तीर्थ लामा, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी लगायतले खेल क्षेत्रको विकासले मुलुक समृद्ध बनाउनु पर्नेमा जोड दिएका थिए । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले काभ्रे जिल्लालाई खेल महोत्सवबाट पहिचान गराउन र आगामी दिनमा १३ वटै पालिका र प्रदेश तथा संघ सरकारले बजेटमा प्राथमिकतामा राखी खेल क्षेत्रको विकास गर्न महोत्सव ऐतिहासिक हुने बताउनु भयो । सोहि अवसरमा पनौती नगर क्षेत्रका विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । पनौती क्षेत्रका सबै विद्यालय तथा सहकारी र अन्य क्षेत्रका नागरिकहरुको सहभागिता रहेको महोत्सव २४ गतेसम्म संचालन हुनेछ । 

के के भयो महोत्सवमा ? 
    ‘काभ्रेपलाञ्चोक जिल्लामा खेलको विकास र खेलाडीहरुको ब्यवसायीक उत्पादनका लागि महोत्सव महत्वपूर्ण भएको छ’–जिल्ला समन्वय समिति प्रमुख दिपकुमार गौतमले भन्नुभयो–‘पनौतीको क्षेत्रिय रंगशालाको थप निर्माण तथा पनौती क्षेत्रको विकासका लागि महोत्सवले ऐतिहासिक भूमिका खेल्ने छ ।’ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानविर लामाले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा विद्यालय तहका विद्यार्थीहरु मात्रै सहभागि हुने भएकाले खुल्ला रुपमा खेलाडी सहभागि गराउने उदेश्यले पहिलो पटक खेलकुद महोत्सव आयोजना गरिएको बताउनु भयो । बनेपामा महिला र पुरुष भलिबल आयोजना गरिएको थियो । विभिन्न खेलहरु बनेपा, पनौतीका विभिन्न स्थानमा आयोजना गरिएको थियो । प्रतिस्पर्धामा १ हजार ४ सय ९४ तथा मैत्रीपूर्ण प्रतिस्पर्धामा समेत गरी करिव २ हजार खेलाडीहरुको सहभागिता रहेको थियो । १० वटा भन्दा धेरै विद्यामा सहभागि खेलाडीहरु मध्ये उत्कृष्ट हुनेले प्रमाणपत्र, शिल्ड सहित नगद पुरस्कार प्राप्त गरेका थिए । प्रथम, दोश्रो र तृतिय पुरस्कार क्रमशः ३० हजार, २० हजार र १० हजार राखिएको थियो । स्वास्थ्य राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै पालिकाका खेलाडीहरु महोत्सवमा सहभागि गराईएको थियो । विकट क्षेत्रका खेलाडीहरुका लागि पनौती नगर भित्र रहेका होटल तथा होमस्टेहरुमा बासस्थानको ब्यवस्थापन गरिएको थियो भने खेलाडीहरुलाई विहानको नास्ता, खाना र खाजा ब्यवस्थापन गरिएको थियो । महोत्सवमा कपर्दी, डण्डिवियो लगायतका पुराना खेलहरुमा समेत प्रतिस्पर्धा भएको थियो । भलिबल, फुटबल, कराँतेका विभिन्न खेलहरु, हाईजम्प, लङजम्प, बुद्धिचाल, एथलेटिक्स लगायतका खेलहरु महोत्सवमा प्रतिस्पर्धामा थिए ।