केन्द्र ४०, विद्यार्थी ६४३६
अघिल्लो वर्ष ६९७७ विद्यार्थी परीक्षामा सहभागि भएकोमा यो वर्ष ६४३६ विद्यार्थीले मात्रै फाराम भरेका छन् ।
धुलिखेल/चैत्र १७ गते शुक्रबार देखि हुने एसईई परीक्षा २०७९ को तयारी धमाधम भईरहेको छ । यो वर्ष पनि राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको तयारी गरेको हो । परीक्षा चैत्र २९ गते सकिनेछ । नियमित र ग्रेडबृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अग्रेजी विषयको परीक्षा हुनेछ भने संस्कृत भाषा र साहित्यको परीक्षा पनि पहिलो दिन तय भएको छ ।
यो वर्ष काभ्रेपलाञ्चोक जिल्लाबाट ६ हजार ४ सय ३६ जना विद्यार्थीले परीक्षा दिनेछन् । अघिल्लो वर्ष ६ हजार ९ सय ७७ विद्यार्थी सहभागि थिए । अघिल्लो वर्ष भन्दा यो वर्ष एसईई दिने विद्यार्थीको संख्या ५ सय ४१ कम छ । शिक्षा समन्वय ईकाई काभ्रेका इकाई प्रमुख उपससचिव गोकर्णध्वज कार्कीका अनुसार १ सय ४६ वटा सामुदायिक विद्यालयका ३ हजार ९ सय ११ र ६६ वटा संस्थागत विद्यालयका २ हजार १६ जना विद्यार्थी सहभागि छन् । बनेपा नगरपालिका वडा नम्वर ६ को नैमिषारन्य विद्यालयबाट संस्कृत विषय लिएर अध्ययन गरेका १३ जना विद्यार्थी सहभागि हुँदैछन् भने संजिवनी स्कुल धुलिखेल, श्वेतबाराह मावि बनेपा, लक्ष्मीनारायण मावि रोशी, जनक मावि नमोबुद्ध, खाँडादेवी मावि चौरीदेउराली र भैरव मावि महाभारतका प्राविधिक विषय लिएर अध्ययन गरेका ६ वटा विद्यालयका १ सय ६४ जना विद्यार्थी एसईई परीक्षामा सहभागि हुँदैछन् ।
आजाद माध्यमिक खुल्ला विद्यालयबाट १० जना र एविएम स्कुल बनेपाको अनौपचारिक विद्यालयबाट २ सय ४५ जना विद्यार्थी सहभागि हुँदैछन् । अनौपचारिक र खुल्ला विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु कक्षा ८ उर्तिण भई लामो समय अध्ययन गर्न छुटेका तर एसईई दिन खोजेका ब्यक्तिहरुले कक्षा १० को परीक्षा दिई उर्तिण भएको अवस्थामा परीक्षा दिन पाउने छन् । एक्जाम्टेड विद्यार्थी यो वर्ष ७३ जना छन् । संजिवनी माविबाट दृष्टिविहिन एक जना र बहिरा विद्यालयबाट ४ जना बहिरा विद्यार्थीहरु परीक्षामा सहभागि हुँदैछन् । ४० वटा परीक्षा केन्द्र रहेको एसईईमा यो वर्ष केहि विद्यालयको केन्द्र हेरफेर भएको छ । पुर्वाधार नभएका विद्यालयहरुमा परीक्षा केन्द्र भएका विद्यालयहरुबाट अन्यत्र केन्द्र तोकिएको छ भने यस अघि पूर्वाधार नभएर केन्द्र अन्यत्र परेका विद्यालयहरुको केन्द्र पूर्वाधार भएका विद्यालयमा पु¥याईएको छ ।









