2026 August 28/ 04:23: 37pm

धुलिखेल / सुरक्षित आप्रवासन सामी कार्यक्रमको अर्ध वार्षिक समिक्षा कार्यक्रम धुलिखेलमा सम्पन्न भएको छ । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने उदेश्यले काभ्रेका ४ वटा स्थानीय तहमा सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालित छ । धुलिखेल नगरपालिका, मण्डनदेउपुर नगरपालिका, भुम्लु गाउँपालिका र रोशी गाउँपालिकामा कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम संयोजक वसन्त कुँवरले जानकारी दिनुभयो । सामी कार्यक्रम मार्फत वैदेशिक रोजगारमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्ने, कामदारलाई सुचना, सीप, परामर्श लगायतका सहयोग गर्ने गरिएको कुवंरले बताउनुभयो । 
आर्थिक वर्ष २०७९÷८० को पौष मसान्तसम्म ४ वटा पालिकामा ५ हजार २ सय ७१ जना सेवाग्राही थपिएका छन् । धुलिखेल नगरपालिकामा मात्रै १ हजार ३ सय ९६ जना नयाँ सेवाग्राही थपिएका हुन् । यस्तै चालु आर्थिक वर्षको पहिलो ६ महिनामा धुलिखेल नगरपालिकामा ७ हजार १ सय १६ जनालाई परामर्श सेवा दिइएको छ । जसमध्ये ४० प्रतिशत महिला रहेका छन् । अन्य पालिकामा पनि गत वर्षको तुलनामा सेवाग्राही थपिएका परियोजना संयोजक कुँवरले जानकारी दिनुभयो । सेवाग्राहीलाई सीप, तालिमका लागि सहजीकरण, मनोसामाजिक परामर्श, न्यायमा सहजीकरण तथा वित्तीय साक्षरता प्रदान गर्ने गरिएको उहाँको भनाई छ । धुलिखेल नगरपालिकाका उप–प्रमुख निराजन जंगमले सुरक्षित आप्रवासन सबैको एक मात्रै उदेश्य भएको बताउनुभयो । वैदेशिक रोजगारीमा जानुअघि परामर्श लिएर मात्रै जान उहाँको अनुरोध छ । प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले आफुसँग सीप भएमा वैदेशिक रोजगारी सहज हुने बताउनुभयो । सामी कार्यक्रमको मनोसामाजिक परामर्शकर्ता सरिता तामाङले पछिल्लो समय हरेक घरमा मनोपरामर्श आवश्यक पर्न थालेको बताउनुभयो । पालिकाको स्वास्थ्य शाखासँगको सहकार्यमा मनोपरामर्श गर्दा अझै प्रभावकारी हुने उहाँको भनाई थियो । कार्यक्रममा रोशी गाउँपालिकाका परियोजना फोकल पर्सन राजन श्रेष्ठ, भुम्लु गाउँपालिकाका रोजगार सहायक दिपेन्द्र बस्नेत, सामी परियोजनाका भागीराम थारु, सिता कुमारी तामाङले सामी कार्यक्रम मार्फत भइरहेका काम र लक्ष्य प्राप्तिका लागि आगामी योजना प्रस्तुत गर्नुभएको थियो ।  नेपालबाट हरेक वर्ष करिव ४ लाख ५० हजार श्रमिक रोजगारीका लागि विदेशिने गरेका छन् । त्यसमध्ये ७५ प्रतिशत अदक्ष, २४ प्रतिशत अर्ध दक्ष र १ प्रतिशत मात्रै दक्ष जनशक्ति वैदेशिक रोजगारीमा जाने गरेका तथ्यांकले देखाएको छ । नेपाली कामदारहरु विशेष गरी मलेसिया तथा खाडी मुलुकहरु युएई, कतार, बहराइन, कुवेत, साउदी अरव र ओमानमा रोजगारीका लागि जाने गरेका छन् । आफु जाने देशका बारेमा आवश्यक जानकारी नलिइ जाँदा धेरै नेपालीहरु ठगिने गरेका छन् । दक्ष र सीपयुक्त कामदार तयार पार्ने उदेश्यका साथ सुरु भएको सामी कार्यक्रम काभ्रे सहित ३८ जिल्लाका १५६ पालिकामा सञ्चालन भइरहेको छ । उक्त कार्यक्रम मार्फत ८ हजार जनालाई व्यवसायिक सीप, तालिम प्रदान गर्ने लक्ष्य रहेको छ । यस्तै ७२ हजार ९ सय ५० जनालाई मनोसामाजिक परामर्श, ६२ हजार ९ सय ९० जनालाई वित्तीय साक्षरता र २१ हजार जनालाई न्यायमा पहुँच पुर्याउने कार्यक्रलमको उदेश्य छ ।