2026 August 29/ 04:38: 31pm

– मण्डनदेउपुर र भुम्लुमा नियन्त्रण उन्मुख
– रोशीमा फेला प-यो

    मण्डनदेउपुर/मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० चण्डेनी मण्डन स्थित आँपघारीमा हुर्किएकी ‘सेति’ को निधन भयो । स्थानीय उद्धव नेपालले सेतिलाई हुर्काउँदै आउनु भएको थियो । सेतिकी आमा ‘खैरी’ को बाँदर लखेट्न जाँदा भिरबाट लडेर मृत्यु भएको थियो । सेति चार दिनको सुत्केरी थिईन् । उनको कोखबाट जन्मेका केहि बच्चाहरु विरालोले लगेको आशंका छ । चार सन्तान बाँकी छन् । चार मध्ये एकलाई बालबालिकाहरुले अर्काे गाउँ पु¥याएका थिए । बाटोमा हिड्दा हिड्दै किचेर उसको पनि निधन भएको छ । तीनवटा सन्तानलाई हुर्काउँदै स्थानीयहरुले भने–‘मानवको सेवामा सक्रिय सेति र खैरी यहि हुर्किए । यहि बसिरहेका थिए । कसरी रेबिज भयो भन्नै सकिन्न ।’
    सेति मरेको २८ औ दिनमा स्वास्थ्य कार्यालय काभ्रे र मण्डनदेउपुर नगरपालिकाको पहलमा गाडिएको स्थानबाट उत्खनन् गरेर गरिएको परिक्षणमा रेबिज पुष्टि भयो । ‘सधै घरमा आउँथ्यो, मेरै घरमा राखेर उसलाई हुर्काएँ तर स्थानीय टोलका अधिकांश ब्यक्तिहरुले उसलाई माया गरेर खानेकुरा दिनुहुन्थ्यो’–स्थानीय उद्धव नेपालले भन्नुभयो–‘सेतिले बानी परिवर्तन गरेको थियो । खाना खान मन गरेको थिएन । घाँटीमा केहि अड्किएको जस्तो गरेको थियो । सुत्केरी भएको चार दिन भएको थियो । उसको निधन भएछ ।’ त्यसलाई लगेर गाडे पछि अत्तोपत्तो थिएन । ६ महिनाको बीचमा चण्डेनीमा २२ वटा गाई मरिसकेका थिए । सामाजिक सञ्जालमा स्थानीयहरुले ध्यानाकर्षण गराए पछि पुरिएका गाईहरु पनि परिक्षण गरिएको थियो । कुकुरमा बाहेक गाईमा रेबिज फेला परेन । 
    ‘कुकुरमा रेबिज देखिए पछि निरन्तर सचेतना, स्थानीयहरुलाई रेबिज विरुद्धको खोप, पशुपंक्षीलाई खोप तथा कुकुरको बन्ध्याकरण गरिएको छ’– मण्डनदेउपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक घिमिरेले भन्नुभयो–‘विद्यालयस्तरको सचेतनासँगै स्वास्थ्यकर्मी, जनप्रतिनिधि र आमा समुहमा समेत रेबिज रोग, लक्षण तथा रोक्ने उपायका बारेमा जानकारी गराई सकिएको छ ।’ स्वास्थ्य कार्यालय, पशु भेटेरिनरी तथा अस्पताल, स्थानीय पालिकाहरुको समन्वयमा स्थानीयहरुलाई रेबिज खोप लगाईएको छ । जिल्लाको चौरीदेउराली, भुम्लु, महाभारत, रोशी गाउँपालिकाका अलावा मण्डनदेउपुर, पाँचखाल र धुलिखेल नगरपालिकामा समेत रेबिज रोगका लक्षणहरु देखा परेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख पुरुषोतम सेढाईले भन्नुभयो । ‘तत्कालका लागि रेबिज नियन्त्रण उन्मुख देखिए पनि जंगली जनावरको सहज बस्तिमा प्रवेश तथा नयाँ नयाँ सामुदायिक कुकुरको प्रवेशका कारण फेरी पनि रेबिज फैलन सक्ने सम्भावना छ’– स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाईले भन्नुभयो–‘पछिल्लो समय रेबिज देखिएका पालिकाहरुमा विशेष निगरानी बढाईएको छ ।’ कुकुर भुम्लु र चण्डेनीमा स्थानीयको साथी बनेको छ । बाख्राको गोठालो तथा विद्यालय जाँदा बालबालिकाहरुको साथी हो कुकुर । त्यसकारण कुकुरलाई स्थानीयले माया गरेर हुर्काउने गरेका छन् । 
    रेबिजका कारण दर्जनौ पशुपंक्षीहरु मरेका छन्  । रेबिज भएका पशुहरुको काँचो मासु तथा दुध प्रयोग गरेका कारण समुदायमा त्रास फैलिएको थियो । त्रास कम गर्न स्थानीय सरकारले समेत सक्रियता देखाएका थिए । ‘बस्ति खाली हुँदै गयो, सुगम र सहजताका लागि सर्वसाधारण शहर जान थालेकाले खेतबारी बाँझो हुँदै जंगल हुन गयो’–भुम्लु गाउँपालिकाका वडा नम्वर १ का सदस्य रामज्योति पहरीले भन्नुभयो–‘समुदायमा खुलेआम जंगली जनावारहरु बँदेल, मृग, स्याल, कालिज प्रवेश गर्न थालेका छन् । खुल्ला गोठ, नयाँ नयाँ कुकुरहरुको गाउँ प्रवेश तथा स्थानीयहरुको सचेतना नहुँदा रेबिज जंगली जनावारबाट समुदायमा फैलिएको हुन सक्ने अनुमान गरेका छौं ।’ समुदायमा हुने हरेक कुकुरलाई खोप र बन्ध्याकरण गरी रेबिज पशुपक्षीबाट मानवमा सर्न नदिन अभियान संचालन गरेको पहरीले बताउनु भयो । 
गाई मर्न रोकिएन 
    मण्डनदेउपुर नगरपालिका वडा नम्वर १० चण्डेनीमण्डनस्थित आँपघारी, ज्वानेटार लगायतका टोलमा ६ महिनाको अवधीमा २४ वटा गाई मरेका छन् । माघ महिनामा मात्रै दुईवटा दुहुना गाई मरेको स्थानीय हरिप्रसाद नेपालले जानकारी दिनुभयो । हरिप्रसाद नेपालकै गाई माघ ६ गते अचानक मरेको छ भने यस अघि बैशाख महिनामा मरेको थियो । माघ १ गते राति रामप्रसाद नेपालको गाई पनि अचानक मरेको छ । 
    गाईको पछाडिको भाग काम्ने, खुट्टा टेक्न नसक्ने अनि उपचार गर्न नपाउँदै निधन हुने क्रम बढेको छ । ‘गाई मर्ने क्रम रोकिएन । परीक्षणमा पनि संक्रमण देखिएन भन्ने जानकारी भयो तर गाई मरेको म¥यै छन्’–स्थानीय सानुबाबु नेपालले भन्नुभयो–‘स्थानीय जनप्रतिनिधिहरुलाई पनि जानकारी गराएका छौं तर गाई मर्ने क्रम रोक्न सकिएन ।’ गाई पालनका लागि उर्बर क्षेत्र मानिएको चण्डेनीको समस्यामा स्थानीय सरकारले चासो कम दिएको स्थानीयहरुले बताएका छन् । केहि गाईहरु विमा भएका छन् । विमा भए पनि ५५ हजार रुपैया भन्दा नआउने तर गाई किन्ने समयमा १ लाख रुपैयाँ पर्ने भएकाले किसानहरु समस्यामा परेको स्थानीय हरिप्रसाद नेपालले बताउनु भयो । 

स्थलगत अनुगमन
    गाई मरेको खबरसँगै केहि महिना अघि जिल्लास्थित पशु स्वास्थ्यकर्मीहरुको टोली घटनास्थल पुगेको थियो । जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख राजकुमार हुमागाईले चण्डेनीको घटनामा स्थानीयहरुले खेतबारीमा प्रयोग गरेको विषादी हुन सक्ने बताउनु भएको थियो । तर परीक्षणका क्रममा त्यस्तो पनि नभएको रिपोर्ट प्राप्त भएको हुमागाईले जानकारी दिनुभयो । पाचन प्रकृयामा समस्या देखिएकाले गाईहरु भटाभट मरिरहेका छन् । त्यसको कारण डाक्टरहरुको टोलीले पनि पत्ता लगाउन नसकेको स्थानीय दिपक नेपालले बताउनु भयो । रेबिज पत्ता लागे पछि नियन्त्रण भए नभएको वा स्थानीयहरुलाई अझै सुरक्षित बनाउने उदेश्यले विहिबार स्वास्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाई, पत्रकार महासंघका अध्यक्ष बद्रीराज तिमल्सिना, स्वास्थ्य कार्यालयका अधिकृत दिपेन्द्र श्रेष्ठ र सिता श्रेष्ठ, मण्डन देउपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक घिमिरे लगायतको टोली मण्डन देउपुर पुगेको थियो भने भुम्लुको सापिङ्गमा पनि सोहि टोलीले अनुगमन गरेको थियो । जिल्लामा जुनसुकै बेला रेबिज फैलन सक्ने भएकाले खोप तथा अन्य तयारी गरिएको डा. पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । विशेषगरी जिल्लाका हरेक क्षेत्र र वडाहरुमा सचेतना अभियान शुरु गरिएको उहाँले बताउनु भयो ।