पनौती/काभ्रेपलाञ्चोक जिल्लामा खेलकुद महोत्सव हुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनः ले माघ २० गते दिउँसो महोत्सवको उद्घाटन पनौतीको क्षेत्रिय रंगशालामा गर्नु हुने छ । जिल्लामा पहिलो पटक खेलकुद महोत्सव आयोजना गरिएको हो ।
‘काभ्रेपलाञ्चोक जिल्लामा खेलको विकास र खेलाडीहरुको ब्यवसायीक उत्पादनका लागि महोत्सव महत्वपूर्ण हुनेछ’–जिल्ला समन्वय समिति प्रमुख दिपकुमार गौतमले भन्नुभयो–‘पनौतीको क्षेत्रिय रंगशालाको थप निर्माण तथा पनौती क्षेत्रको विकासका लागि महोत्सवले ऐतिहासिक भूमिका खेल्ने छ ।’ जिल्ला खेलकुद विकास समिति र जिल्ला समन्वय समितिको आयोजनामा हुने महोत्सवका लागि समन्वय समितिका प्रमुख दिपकुमार गौतमको संयोजकत्वमा मुल समारोह समिति गठन भएको छ । समितिले विभिन्न उप समितिहरु गठन गरी कार्यक्रमको पूर्ण तयारी गरिरहेको जिल्ला समन्वय अधिकारी शान्तिराज प्रसाईले जानकारी दिनुभयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानविर लामाले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा विद्यालय तहका विद्यार्थीहरु मात्रै सहभागि हुने भएकाले खुल्ला रुपमा खेलाडी सहभागी गराउने उदेश्यले पहिलो पटक खेलकुद महोत्सव आयोजना गरिएको बताउनु भयो ।
महोत्सव माघ २० गते पनौतीको क्षेत्रिय रंगशालामा शुरु भई माघ २४ गते समापन हुनेछ । क्षेत्रिय रंगशालाको अलावा माघ २१ गते पनौतीको कुशादेवीमा र बनेपाको आईटी पार्क तथा लायकु मञ्चमा विभिन्न खेलहरु आयोजना गरिएको छ । प्रतिस्पर्धामा १ हजार ४ सय ९४ तथा मैत्रीपूर्ण प्रतिस्पर्धामा समेत गरी करिव २ हजार खेलाडीहरुको सहभागिता रहनेछ । १० वटा भन्दा धेरै विद्यामा सहभागि खेलाडीहरु मध्ये उत्कृष्ट हुनेले प्रमाणपत्र, शिल्ड सहित नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रथम, दोश्रो र तृतिय पुरस्कार क्रमशः ३० हजार, २० हजार र १० हजार राखिएको छ । स्वास्थ्य रा राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै पालिकाका खेलाडीहरु महोत्सवमा सहभागि गराईएको छ । विकट क्षेत्रका खेलाडीहरुका लागि पनौती नगर भित्र रहेका होटल तथा होमस्टेहरुमा बासस्थानको ब्यवस्थापन गरिएको छ भने खेलाडीहरुलाई विहानको नास्ता, खाना र खाजा ब्यवस्थापन गरिएको छ । करिब ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको महोत्सवमा अधिकांश पुरस्कार र इभेन्टहरु प्रायोजन हुने भएका छन् । महोत्सवलाई बागमती प्रदेश सरकारले आर्थिक सहयोग उपलब्ध गराउने छ ।
महोत्सवमा कपर्दी, डण्डिबियो लगायतका पुराना खेलहरुमा समेत प्रतिस्पर्धा हुनेछ । भलिबल, फुटबल, कराँतेका विभिन्न खेलहरु, हाईजम्प, लङजम्प, बुद्धिचाल, एथलेटिक्स लगायतका खेलहरु महोत्सवमा हुनेछन् । अन्र्तक्रिया कार्यक्रममा समन्वय प्रमुख दिपकुमार गौतम, उपप्रमुख रिमबहादुर तामाङ, समन्वय अधिकारी शान्तिराज प्रसाई, खेलकुद विकास समितिका अध्यक्ष मानविर लामा लगायतको सहभागिता रहेको थियो ।









