2026 August 29/ 04:39: 45pm

    भुम्लु/संघीयताको असल कार्यान्वयन आधारभुत स्वास्थ्य सेवा प्राप्तीका लागि भुम्लु गाउँपालिका नमुना बनेको छ । २०७४ मा निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय स्तरमा भईरहेको स्वास्थ्य चौकीको स्तरोन्नतीले नागरिकहरुले सुलभ स्वास्थ्य सेवा प्राप्त गरेका छन् । प्रयोगशाला सहितको सेवाले नागरिकहरुलाई आर्थिक, सामाजिक, सांस्कृतिक तथा समयको समेत बचत हुन थालेको छ । 
    ‘सुगरको नियमित परिक्षणका लागि धुलिखेल अस्पताल पुग्नु पर्दथ्यो’–स्थानीय हरि उप्रेतिले भन्नुभयो – ‘विहानको खाली पेटमा रगतको परिक्षण गराउन र खाना पछिको दुई घण्टाको परिक्षणका लागि धेरै झन्झटिलो थियो ।’ खाना घरमा जस्तो र नियमित हुँदैन थियो । परिक्षणका लागि समय र नियमित खानाको अवस्था नमल्दिा परिक्षणको परिणाम पनि राम्रो आउन सम्भावना थिएन । घर छेउमै ब्यस्थित र सुलभ मुल्यको ल्याव प्राप्त हुँदा खुशी मात्रै भएको छैन समयको पनि बचत भएको उप्रेतिले बताउनु भयो । सुगर परिक्षण मात्रै होईन उक्त ल्यावमा सामुदायिक अस्पतालहरुले दिने शुल्कमै सेवा उपलब्ध गराईएको अनमी विमला मगरले बताउनु भयो । ‘३५ थरी परिक्षण भुम्लु स्वास्थ्य चौकीको ल्यावबाट हुनेछ’–ल्याब टेक्निसियन एन्जिला बस्नेतले भन्नुभयो–‘नागरिकहरुलाई सहज र सुलभ सेवा प्रदान गर्न प्रतिवद्ध छौ ।’ 
    ‘कोशिपारीको पहिलो बर्थिङ्ग सेन्टर भुम्लुको सेवालाई अझै प्रभावकारी बनाउन निरन्तर प्रयासरत छौं’– अनमी एवं बर्थिङ्ग सेन्टर इन्चार्ज बिमला राना मगरले भन्नुभयो–‘गर्भवती महिलाको नियमित परिक्षण तथा ६ क्रेट अण्डा उपलब्ध गराउँदै आएका छौं ।’ तीनजना दक्ष जनशक्ति रहेको उक्त सेन्टरमा आर्थिक वर्षको ६ महिना अर्थात पौष मसान्तसम्म ११ जना महिलालाई सुरक्षित मातृत्व प्रदान गराएको छ । अघिल्लो वर्ष २१ जनाले सेवा प्राप्त गरेका थिए । अहिले भुम्लु गाउँपालिकामा ३ वटा बर्थिङ्ग सेन्टर र अस्पताल समेत रहेकाले भुम्लु स्वास्थ्य चौकीको बर्थिङ्ग सेन्टरमा सेवा प्रवाहको चाप कम हुनेछ । गर्भवति महिलाहरुको नियमित परिक्षण तथा भिडियो एक्सरेका लागि भुम्लु अस्पतालसँगको समन्वयमा गरिरहेको मगरले बताउनु भयो । ‘गर्भवति महिलालाई ९ महिनामा ६ पटक परिक्षण गराए पछि ६ क्रेट अण्डा उपलब्ध गराउँदै आएको १५ वर्ष भएको छ’– बर्थिङ्ग सेन्टर इन्चार्ज अनमी विमला मगरले भन्नुभयो–‘यो कार्यक्रम अहिले जिल्लाभरी प्रभावकारी भएको छ । भुम्लु स्वास्थ्य चौकीको सेवालाई अन्य स्थानमा पनि प्रयोगमा ल्याईएको छ ।’ 
    भुम्लु स्वास्थ्य चौकीमा १० जनाको दक्ष जनशक्ति छ । पूर्वाधार पनि पर्याप्त छ । सेवा प्रभावकारी छ । स्वास्थ्य चौकी इन्चार्ज गितादेवी न्यौपानेको नेतृत्वमा स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवालाई गुणस्तरीय बनाउन निरन्तर कृयाशिल रहेको बताउनु भयो । परिवार नियोजनको अस्थायी सेवा, नियमित स्वास्थ्य सेवाको उपलब्धता गराईएको छ । स्थानीय सरकारले आधारभुत स्वास्थ्य संस्थालाई बलियो बनाउन सहयोग गरिरहेको अहेव मिना ढकालले बताउनु भयो । ‘एमाले नेतृत्वको स्थानीय तह हुँदा आधारभुत स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्ने कार्य भएको थियो’–एमाले अध्यक्ष प्रेम लामाले भन्नुभयो–‘भुम्लुबासीहरुका लागि सुलभ र गुणस्तरीय सेवा हाम्रो पहिलो प्राथमिकता हो ।’ 
    चालु आर्थिक वर्षको ६ महिनामा १ हजार ८ सय ३० जनाले सेवा प्राप्त गरेका छन् । जसमध्ये १ हजार ६० जना महिला छन् भने ७ सय ७० जना पुरुष छन् । ति मध्ये ८ सय १० महिला र ६ सय ६ पुरुष नयाँ सेवाग्राही हुन् । ल्यावको मात्रै सेवा प्राप्त गर्ने ५ सय १४ जना छन् । टिभी परिक्षण ५१ जनाको गरिएको छ । गाँउघर क्लिनिकमा ३ सय २ जना सहभागि भएका छन् भने खोप क्लिनिकमा १ सय ४ र सरसफाई सम्वन्धी कार्यक्रममा ७० जनाको सहभागिता रहेको छ ।