धुलिखेल/आर्थिक वर्ष २०७९/०८० को पौष मसान्तसम्म कुल बजेटको १५ प्रतिशत मात्रै खर्च भएको छ । प्रदेश र संघ तर्फको चालु तर्फको ५० प्रतिशत खर्च हुँदा पुँजीगत तर्फ कम खर्च भएको हो ।
कोष तथा लेखा नियन्त्रकको कार्यालय धुलिखेलका अनुसार काभ्रेपलाञ्चोक जिल्लाको एकिकृत बजेटमा चालु तर्फ संघको कुल बजेट ९ अर्ब २८ करोड ३६ लाख ४४ हजार ९ सय ५३ रुपैयामा ४ अर्ब ६३ करोड १५ लाख ५६ हजार ८ सय ८९ रुपैया खर्च भएको छ । यो कुल खर्चको ४९.८९ प्रतिशत हो । चालु तर्फ नै प्रदेश सरकारको १ अर्ब ८२ करोड ८९ लाख ३८ हजार ८ सय ३६ रुपैया मध्ये ६५ करोड ४८ लाख ५१ हजार २ सय २ रुपैया अर्थात ३५.८० प्रतिशत खर्च भएको छ । संघको अनुपातमा प्रदेशको चालु खर्च १५ प्रतिशतले कमी हो । पुँजीगत खर्चको अवस्था भने झनै टिठलाग्दो छ । संघमा विनियोजन भएको ३ अर्ब ३२ करोड १० लाख ८४ हजार ६ सय ४५ रुपैया विनियोजन भएकोमा ५५ करोड ५५ लाख ७७ हजार ७ सय ७२ रुपैया खर्च भएको छ । प्रतिशतका हिसावले कुल बजेटको १६.७३ प्रतिशत मात्रै हो ।
प्रदेश तर्फको पुँजिगत खर्च ४ अर्ब ४९ करोड ६४ हजार ४ सय ७७ रुपैया मध्ये ६८ करोड २९ लाख ६४ हजार ५ सय ९१ रुपैया खर्च भएको छ । प्रतिशतका आधारमा १५.२१ प्रतिशत मात्रै हो । संघको पुँजिगत र चालु गरेर ४१.१५ प्रतिशत खर्च भएको छ भने प्रदेशको २१.१७ प्रतिशत खर्च भएको छ । राजश्व आम्दानी तर्फ चालु वर्षको ६ महिनामा संघ तर्फ १ अर्ब ५७ करोड ५३ लाख २ हजार ८ सय ४१ रुपैया आम्दानी भएको छ भने प्रदेश तर्फ १६ करोड ५६ लाख २४ हजार ९३ रुपैया आम्दानी गरेको छ । कुल राजश्व १ अर्ब ७४ करोड ९ लाख २६ हजार ९ सय ३४ रुपैया आम्दानी गरेको छ ।
धरौटी तर्फ संघमा १७ करोड ८३ लाख मौज्दात छ भने प्रदेश तर्फ २१ करोड १४ लाख ४३ हजार ५ सय ९६ रुपैया मौज्दात छ । कार्य संचालन कारोवार तर्फ संघ तर्फ २५ करोड ४० लाख १५ हजार ३ सय ४९ रुपैया मौज्दात छ भने प्रदेश तर्फ ७ करोड १८ लाख ८ सय ४२ रुपैया मौज्दात छ ।









