2026 August 29/ 04:39: 16pm

चालक रिसाउँदा ‘दुर्घटना’
    धुलिखेल/१७ जनाको ज्यान जाने गरी बेथान्चोक गाउँपालिकाको चलालमा भएको दुर्घटनाको छानविन सम्पन्न गरी प्रतिवेदन बुझाईएको छ । दुर्घटना भए लगत्तै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको बैठकले दुर्घटनाको कारण पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारको सयोजकत्वमा छानविन समिति गठन गरेको थियो । दुर्घटनामा २२ जना घाईते भएका थिए । 
    २०७९ मंसिर २७ गते बेथान्चोक गाउँपालिका वडा नम्वर ४ चलाल गणेस्थानमा च्याल्टीबाट पनौतीतर्फ आउँदै गरेको बाख ३ ख ४३८५ नम्वरको बस रिजर्भ गएर फर्कने क्रममा दुर्घटनामा परेको थियो । अध्ययन पछिको प्रतिवेदनको निश्कर्षमा चालक रिसाउँदा ओरोलोमा तिब्र गतिको बस नियन्त्रण हुन नसक्दा दुर्घटना भएको उल्लेख गरिएको छ । समितिले दुर्घटनामा परेर बाँचेका घाईतेहरुको बयान लिनुका साथै तत्काल उद्दारमा खटिने स्थानीयहरु, जनप्रतिनिधिहरु, प्रहरी तथा अन्य ब्यक्तिहरुसँग जानकारी लिएको थियो । मसिंर २७ गते साँझ ६.५० बजे भएको दुर्घटना चालकको लार्पवाहीबाट भएको पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले बताउनु भयो । ‘दुर्घटनाको कारण पत्ता लगाउन तथा भविश्यमा यस्ता दुर्घटना हन नदिन उपायहरुका बारेमा सिफारिस गर्नु छानविन समितिको प्रमुख कारण थियो’ – सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले भन्नुभयो–‘बसका चालक सहित १७ जनाको ज्यान जाने गरी भएको दुर्घटनामा कसको लार्पवाही हो त्यसको अध्ययन गरी प्रतिवेदन बुझाईएको छ ।’ बस चालक सन्तोष तिमल्सिनालाई बसमा सवार यात्रुहरुले गाली गरेको, अपशब्द प्रयोग गरेको, जर्बजस्ति गितहरु बजाउन लगाएको, भनेकै स्थानमा रोक्न भनेको, पनौती पुगेर फेरी च्याम्राङबेशी जानुपर्ने कारण हतार गरेर तिब्र गति चलाएको जस्ता विषय छानविन समितिले प्राप्त गरेको छ । 
    ‘चालक सन्तोष तिमल्सिनाको आफन्तको विवाहमा जाने गरी मंसिर २७ गते साँझको अर्काे रिजर्भ रहेछ’–सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले भन्नुभयो–‘च्याल्टी गएको रिजर्भबाट दिउँसो ४ बजे पनौती फर्किसक्ने मौखिक सम्झौतामा ढिलाई भए पछि सन्तोष पहिल्यै रिसाएका रहेछन् ।’ च्याल्टीबाट साँझ ६ बजे मात्रै फर्किएका सन्तोष च्याम्म्राङ्गबेशी जान ढिला भएको भन्दै रिसाएर तिब्र गतिमा बस चलाउँदै थिए । त्यसमा बस भित्र रहेका यात्रुहरुको थप कचकचले उनले बस तिब्र गतिमा कुदाउँदा ओरालोमा ब्रेक नलागेका कारण दुर्घटना भएको निश्कर्ष समितिले निकालेको छ । प्रहरी सहायक निरीक्षक सुमन श्रेष्ठले चालकले लार्पवाही गरेर तिब्र गतिमा बस गुडाउँदा दुर्घटना भएको बयान दिनु भएको छ । सहायक निरीक्षक रविन्द्र बस्नेतले पनि बस ओरोलो लाग्ने क्रममा तिब्र गति भएकाले रोकिन नसक्दा मोडमा ठोक्काएर थप क्षती भएको बयान दिएका छन् । 
    बेथान्चोक गाउँपालिका वडा नम्वर ४ का अध्यक्ष कृष्णबहादुर लामाले बसमा सवार घाईतेहरु तथा स्थानीयहरुले ब्रतबन्धमा गएको बस समयमा नफर्की यात्रुहरुले ढिला गरेका कारण चालकले तिब्र गतिमा सवारी चलाउँदा ओरालोमा नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको सूचना पाएको बयान दिनु भएको छ । बसका सहचालक सन्तोष चौलागाईले पनौतीबाट च्याल्टी जाँदा बसमा ४२ यात्रु रहेको र फर्कँदा ३९ जना रहेको जानकारी दिएका छन् । बयानका क्रममा चौलागाईले सोहि दिन दिउसो ३ बजे देखि ४ बजे फर्कने गरी बस रिर्जभ गरी गएको बताएका छन् । फर्कने क्रममा ढिला भई ६ बज्न पुग्यो, फर्कने क्रममा गाडी तिब्र गतिमा भएकाले केहि यात्रुहरुले ढिला भई सक्यो अब विस्तारै लैजानु भनी चालकलाई अनुरोध गरेका थिए । चालकलाई गरेको आग्रह अटेर गरे जस्तो पनि देखिएको थियो । ३ घण्टा ढिला हुँदा अर्काे टिप रिर्जभ जान गाह्रो भएको थियो । चालक रिसाएका थिए । अचानक पार्थलीबाट तल गणेस्थानमा आईपुगेपछि गाडीको पछाडीको भागले जमिन छोएर अनियन्त्रीत भई सडकको नालीमा खसे पश्चात बेहोस भएको सह चालक चौलागाईले बयान दिएका छन् । होस खुल्दा सडकको छेउमा रहेको र उपचारका लागि स्थानीयहरुले अस्पताल पठाएको छानविन समितिलाई भनेका छन् । 
    यात्रुहरु कविता तामाङले चालकले जाँदा राम्रो सँग बस चलाएका चालकले फर्कँदा तिब्र गतिमा लार्पवाहीरुपले चलाएकाले दुर्घटना भएको बयान दिएकी छिन् । ‘म बसको ढोका तर्फको दोश्रो सिटमा बसेको थिएँ । बसमा गित बजाएर आफन्तहरु नाचगान गरिरहेका थिए । म निदाएछु । एक्कासी ठुलो आवाज आए पछि विउँझन पुगेछु । होसमा आउँदा घाईते भएर सडकमा लडिरहेको रहेछु’–कविताले बयानमा भनेकी छिन् । यात्रु विकास तामाङले चालक तर्फको सिटको अन्तिममा बसेको बताएका छन् । ओरालोमा बस तिब्र गतिमा दौडियो, एक्कासी बस घिस्रिएको जस्तो लागेको थियो, बेहोस भएर होसमा आउँदा अस्पतालमा रहेको जानकारी पाएको बयानमा भनेका छन् । यात्रामा बाँचेका यात्रुहरु मध्ये अधिकांशको बयान उस्तै छ । 

यि हुन् मत्यु हुने १७ जना
    बस चालक ललितपुर जिल्ला निवासी महांकाल गाउँपालिका ६ घर भई पनौती ४ बस्ने वर्ष २३ को सन्तोष तिमल्सिना, बनेपा १४ का ४२ बर्षिय राजकुमार तामाङ, बनेपा ११ की ७९ बर्षिया निर्मला तामाङ, तेमाल ८ बस्ने बर्ष ९ की गुरुलक्ष्मी दाशस, बनेपा ११ का ५० बर्षिय ठाकुर तामाङ, ४३ बर्षिया हेमा तामाङ, ११ वर्षिय पुस्कर तामाङ, २७ बर्षिया कोपिला तामाङ, ६ बर्षिया समिक्षा तामाङ, ४१ बर्षिया चेलीमाया तामाङ, ३० बर्षिय बुद्ध तामाङ, २९ बर्षिया टिकालक्ष्मी तामाङ, २८ बर्षिया मञ्जु तामाङ, ५५ बर्षिय कुमार तामाङ, ३२ बर्षिया मञ्जु तामाङ र २८ बर्षिय गिता श्रेष्ठ रहेका छन् । 

समितिको निश्कर्ष
    समितिले घटनामा संलग्न विभिन्न पक्षहरुसँग लिएको बयानका आधारमा फर्कनु पर्ने समयमा यात्रुहरु नफर्की ढिला भएका कारण चालकले गन्तब्यमा पुग्नका लागि तिब्र गतिमा सवारी चलाउँदा ओरालो घुमाउरो सडक खण्डमा सवारी नियन्त्रण गर्न नसकी दुर्घटना भएको निश्र्कष छ । दुर्घटना भएको बसको यान्त्रिक परिक्षण गर्दा बसको पछाडीको दाँया तर्फको टायर रिसोलिङ गरिएको र बाँकीको रिसोलिङ नगरिएको फेला परेको छ । ‘तिब्र गति र चालकको लार्पवाही दुर्घटनाको मुख्य कारण हो’–सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले भन्नुभयो । समितिले आगामी दिनमा थप दुर्घटना हुन नदिन ८ बुँदे सुझाव दिएको छ । 
    सन्तोष तिमल्सिनाले बस चलाउने अनुमति पाएको केहि महिना मात्रै भएको थियो । सार्वजनिक सवारी साधन चलाउनका लागि ब्यवसायीक चालक अनुमति पत्र प्राप्त गरेको ब्यक्तिलाई मात्र सवारी साधन चलाउन दिनु पर्ने समितिको निश्कर्ष छ । ३० सिटे बसको चालक अनुमति पत्र लिएर २२÷२४ चक्के सवारी साधन समेत चलाउने गरेकाले चालक अनुमति पत्र वितरणमा विशेष ध्यान दिन समितिले सुझाव दिएको छ । सवारी साधनको पुर्ण ज्ञान नहुँदै जिम्मेवारी लिएर चलाउँदा थप दुर्घटना हुने गरेको निश्कर्ष छ । ग्रामिण सडकमा सवारी चलाउँदा लार्पवाही धेरै हुने गरेकाले क्षमताभन्दा धेरै यात्रु राख्ने, तिब्र गतिमा सवारी चलाउने क्रम निरुत्साहित गर्न ट्राफिक प्रहरी र यातायात ब्यवसायी तथा स्वंय यात्रु पनि सचेत रहन सु्झाव दिएको छ । यान्त्रिक परिक्षण तथा टाईम कार्ड लागु गर्ने गरी समितिले सुझाव दिएको छ । समितिमा सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, डिएस्पीद्धय रेशम बोहोरा र ढुण्डीराज न्यौपाने, ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक राजेश सिलवाल रहेका थिए । केहि वर्ष अघि जिल्लाको कोशिपारीमा भएको दुर्घटनामा दर्जनौ ब्यक्तिहरु हताहत भएका थिए ।