2026 August 28/ 04:24: 21pm

१३ उम्मेदवारले खर्च गरेनन्, ढकाल र दोङले १८ लाख खर्च गरे 

विजयी उम्मेदवारको खर्च
सुर्यमान दोङ्ग – १८ लाख ४५ हजार 
गोकुल बास्कोटा – ९ लाख २ हजार ९ सय ७६
रत्नप्रसाद ढकाल – १८ लाख ७० हजार 
तिर्थ लामा – १५ लाख ३५ हजार ४ सय ५ 
लक्ष्मण लम्साल – १२ लाख ८० हजार १ सय २४
कञ्चन बादे – १६ लाख ४५ हजार

खर्च नगर्ने उम्मेदवारहरु
राजन घोरसाईने, शेषराज लामिछाने, विजय तामाङ, प्रज्ञान अस्तानी मगर, सुर्यलाल तामाङ, कृष्णबहादुर तामाङ, मुना तामाङ, कृष्णकुमार बैद्य, पूर्ण सिं तामाङ, गणेश कपाली, दानबहादुर थापा, चन्द्रमान तामाङ, जनकबहादुर तामाङ । 

मोतीराम तिमल्सिना    
काभ्रे

    मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुले निर्वाचन खर्च बुझाएका छन् । निर्वाचन आयोगको २०७९ असोज १६ गतेको निर्णय अनुसार दुबै तहका उम्मेदवार रहेका ब्यक्तिहरुले खर्च गर्न पाउने सिमा तोकेको थियो । सिमा र समयावधी भित्र रहेर उम्मेदवारहरुले खर्च विवरण बुझाएका छन् । काभ्रेमा ६४ उम्मेदवारले प्रतिस्पर्धा गरेको भए पनि १३ उम्मेदवारले निर्वाचनमा एक रुपैयाँ पनि खर्च नभएको विवरण पेश गरेका छन् । 
    जिल्लामा सबैभन्दा धेरै प्रदेश सभाका उम्मेदवार मन्त्री समेत रहेका रत्नप्रसाद ढकालले १८ लाख ७० हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् । ढकाल गठवन्धन तर्फका उम्मेदवार हुन् । ढकाल पछि धेरै खर्च गर्ने सुर्यमान दोङ्ग हुन् । उनले १८ लाख ४५ हजार खर्च भएको विवरण पेश गरेका हुन् । गठबन्धनबाट दोङ, ढकाल र तिर्थ लामा उम्मेदवार थिए । लामाले १५ लाख ३५ हजार ४ सय ५ खर्च गरेको विवरण पेश गरेका छन् । लामा नेपाली काँग्रेसका जिल्ला सभापति समेत छन् । दोङ र ढकाल नेकपा माओवादी केन्द्रका हुन् । सोहि क्षेत्रमा उम्मेदवार भएका नेकपा एमालेका रेशम लामाले ६ लाख ५३ हजार ९ सय ५० खर्च गरेको विवरण बुझाएका छन् । नेकपा एमालेका दिलिप तामाङले ६ लाख ११ हजार १ सय र चन्द्र लामाले १० लाख ७ हजार ८ सय ९३ रुपैया खर्च भएको विवरण बुझाएका छन् । गठबन्धनका उम्मेदवारले गरेको खर्चसँग प्रतिस्पर्धा गर्न नसकेकै कारण एमालेका उम्मेदवारहरुले पराजय ब्यहोर्नु परेको समीक्षा गरिएको छ । 
    प्रतिनिधि सभा २ मा एमालेका गोकुलप्रसाद बास्कोटाले ९ लाख २ हजार ९ सय ७६ रुपैयाँ खर्च गरेको विवरण बुझाएका छन् । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका शिवप्रसाद हुमागाईले ९ लाख ३८ हजार ४ सय ८९ रुपैया खर्च गरेका छन् । बास्कोटा विजयी भए । गठबन्धनका दलहरुको भन्दा ५ हजार ८ सय धेरै मतले बास्कोटा विजयी भएका थिए । गठबन्धन तर्फका नेकपा समाजवादीका लक्ष्मण लम्सालले १२ लाख ८० हजार १ सय २४ रुपैयाँ खर्च गरेको विवरण बुझाएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कुमार लामिछानेले ४ लाख ६७ हजार ६ सय ९० रुपैयाँ खर्च गरेका छन् । त्यस्तै गठबन्धन तर्फका नेपाली काँग्रेसका कञ्चनचन्द्र बादेले १६ लाख ४५ हजार रुपैयाँ खर्च गरेका छन् । धेरै खर्च गर्ने उम्मेवार मध्ये बादे तेश्रो हुन् । निकटतम् प्रतिद्वन्द्वी एमालेका कुमार थापाले ६ लाख १८ हजार ९ सय ५९ रुपैयाँ खर्च गरेको विवरण बुझाएका छन् । गठबन्धनका उम्मेदवार भन्दा एमालेका उम्मेदवारको खर्च आधा कम छ । 
    प्रतिनिधि सभा उम्मेदवारहरुका लागि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने कानूनी ब्यवस्था छ भने प्रदेश सभा १ को १ र २ का लागि १९ लाख रुपैयाँसम्म खर्च गर्न पाउने ब्यवस्था थियो भने २ को १ र २ मा १७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने ब्यवस्था थियो । जति खर्च गरेको भए पनि उम्मेदवारहरुले आयोगको कानूनी ब्यवस्था भन्दा कम खर्च गरेको विवरण बुझाएका छन् । समानुपातिक तर्फ प्रतिनिधि सभाका लागि प्रति उम्मेदवार २ लाख र प्रदेश सभाका लागि १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने ब्यवस्था थियो । काभ्रेबाट ३३ जना समानुपातिक उम्मेदवार थिए । उनिहरु कसैले पनि विवरण बुझाएका छैनन् । पौष १६ गतेसम्म प्रत्यक्ष तर्फको खर्च विवरण बुझाउनु पर्ने समयसीमा भित्रै ६४ उम्मेदवारले खर्च विवरण बुझाएको निर्वाचन आयोग काभ्रेका जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिनुभयो । 
    निर्वाचन आयोगमा ६४ मध्ये १३ जना उम्मेदवारले निर्वाचनको समयमा एक रुपैयाँ पनि खर्च नभएको विवरण पेश गरेका छन् । खर्च नगर्ने उम्मेदवारहरुमा राजन घोरसाईने, शेषराज लामिछाने, विजय तामाङ, प्रज्ञान अस्तानी मगर, सुर्यलाल तामाङ, कृष्णबहादुर तामाङ, मुना तामाङ, कृष्णकुमार बैद्य, पूर्ण सिं तामाङ, गणेश कपाली, दानबहादुर थापा, चन्द्रमान तामाङ, जनकबहादुर तामाङ रहेका छन् । छोटो समयमा लोकप्रियता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बसुनारायण श्रेष्ठले १ लाख २५ हजार ४ सय ८० रुपैयाँ र दिनेश हुमागाईले १३ लाख ८ हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् । ३३ मत ल्याउने स्वतन्त्र उम्मेदवार माधवप्रसाद कँडेलले ८९ हजार खर्च भएको विवरण पेश गरेका छन् भने ४६ मत ल्याउने लोकतान्त्रिक समाजवादी पार्टीका प्रकाश लामाले २ लाख ८० हजार खर्च भएको विवरण पेश गरेका छन् । त्यस्तै ८५ मत ल्याउने राप्रपाका गोविन्दराज गिरीले १ लाख ४१ हजार रुपैयाँ खर्च गरेका छन् भने १ सय २३ मत ल्याउने नेपाल लोकतान्त्रिक पार्टीका सञ्जीव बल तामाङले ३ लाख ७० हजार खर्च गरेका छन् । त्यस्तै २ सय ८ मत ल्याउने नेपालका लागि नेपाली पार्टीका नरमान लोप्चनले ५ हजार खर्च भएको विवरण बुझाएका छन् । खर्च गरेर सबै भन्दा कम खर्च गरेको विवरण बुझाउने उनै लोप्चन हुन् ।