2026 August 28/ 02:38: 12pm

– आज प्राण प्रतिष्ठा पछि खुल्ला 
    नाला/विश्वको तेश्रो, नेपालको पहिलो दश अवतार सहितको ४० फिट अग्लो ब्रम्हा मन्दिर तयार भएको छ । बनेपा नगरपालिका वडा नम्वर ४ साविक उग्रचण्डी नालामा दुई वर्ष अघि स्थानीयहरुले आफ्नै लगानीमा शुरु गरेको मन्दिरको पुष २१ र २२ गते प्राण प्रतिष्ठा गरिदै छ । प्राण प्रतिष्ठा पछि सर्वसाधारणका लागि मन्दिर खुल्ला हुनेछ ।
    ‘विश्वका दुई मुलुक भारतको राजस्थान र थाईल्याण्डको बैकमा दश अवतार सहितको मन्दिर अवस्थित छ’–निर्माण समितिका अध्यक्ष पण्डित पुरुषोतम सापकोटाले भन्नुभयो–‘दश अवतार सहितको मन्दिर निर्माण भएको नेपाल तेश्रो स्थान र मुलुक हो ।’ विश्वमै धार्मिक र सांस्कृतिक क्षेत्रका हिसाबले समेत थप परिचित बनाउने उदेश्यले अष्ट मातृका वरपर ब्रम्हायणी क्षेत्रमा ब्रम्हा मन्दिर निर्माण गरिएको अध्यक्ष सापकोटाले बताउनु भयो । करिव १ सय रोपनी जमिन क्षेत्रफल रहेको उक्त क्षेत्रमा बृहत्त गुरुयोजना तयार भएको छ । गुरुयोजना अनुरुपको पहिलो निर्माण कार्य पार्क सहितको दश अवतार भएका ब्रम्हाको ४० फिट अग्लो मुर्ति प्रतिस्थापन हो । उक्त कार्य सम्पन्न गर्न स्थानीयहरुले १ करोड २० लाख नगद संकलन गरेका थिए । ब्रम्हा मन्दिर सँगै महादेव खोला परिसरमा मन्दिर, घाट तथा अन्य निर्माण कार्य समेत सम्पन्न भएको छ । 
    विश्व शान्ति र कल्याणको कामना गर्दै बृहत रुद्रयाग (शैव महायज्ञ) एबं शिव महापुराण सहितको यज्ञानुष्ठानको तयारी गरिएको सचिव श्याम सापकोटाले बताउनु भयो । ब्रम्हायणी मन्दिर क्षेत्रमा समुदाय स्तरबाट १० हजार माथि ५ सय ४६ जनाको आर्थिक सहयोग रहेको छ । बिष्णुका दस अबतार सहित परंपिता चतुरानन्द ब्रम्हाजीको मन्दिर एकै स्थानमा राखेर निर्माण गरिएको हो । ‘नेपालमै पहिलो पटक दश अवतार सहितको ब्रम्हायणी मन्दिर र ब्रम्हाको प्रतिमा स्थापना गरिएको छ । विधिवत रुपमा यसको प्राण प्रतिष्ठाको तयारी गरिएको छ’– समितिका अध्यक्ष पुरुषोत्तम सापकोटाले भन्नुभयो–‘१ करोड ४२ लाख लागत स्टमेटमा निर्माण व्यवसायीहरुको प्रतिस्पर्धामा १ करोड ५ लाखमा निर्माण सम्झौता गरिएको थियो ।’ उक्त क्षेत्रमा ब्रम्हाको प्रतिमा, मन्दिर र सिंढी निर्माण लगायतका संरचनाहरु तयार भएका छन् । 
    उक्त क्षेत्रमा तेश्रो चरणमा भ्यु टाओर लगायतका अन्य संरचनाहरु तयार हुनेछन । उक्त क्षेत्रको गौरवको योजनाका रूपमा लिएको उक्त क्षेत्रलाई धार्मिक रूपले प्रचार प्रसार गरी आन्तरिक पर्यटन वृद्धी गर्ने समितिको योजना रहेको अध्यक्ष पुरुषोत्तम सापकोटाले बताउनु भयो । २०७१ साल मसिंर १४ गते तत्कालीन समितिले बृहत्त रुद्रायाग शैव महायज्ञबाट संकलन गरेको रकमबाट महादेवखोला परिसरमा मन्दिर, घाट र अन्य संरचना निर्माण गरेको थियो ।  नव गठित समितिमा अध्यक्ष पुरुषोत्तम सापकोटा, सचिव श्याम सापकोटा र कोषाध्यक्ष सिता पराजुली रहनु भएको छ ।