– प्रविधियुक्त फार्म मार्फत दुध उत्पादन
निरञ्जन गेलाल
रविगाउँ, धुलिखेल
सेतिदेवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड धुलिखेल २ रविगाउँमा सार्वजनिक सुनुवाई आयोजना गरिएको छ । संस्था आफैले ६० वटा गाई र ३० वटा बाछा गरी ९० वटा पशुपालन शुरु गरेको छ ।
कृषि तथा पशुपन्क्षी मन्त्रालयको विकेन्द्रित आयोजना अन्र्तगत नेपाल लाईभ स्टक सेक्टर इनोभेसन (एनएलएसआईपी) मार्फत उक्त परियोजना धुलिखेल २ रविगाउँको सहकारी मार्फत शुरु भएको हो । २०७९ भदौमा सहकारीले परियोजना संचालनका लागि सम्झौता भएको थियो । दुध उत्पादन बृद्धी गर्ने र कृषकहरुलाई उन्नत जातका गाईहरु वितरण गर्ने उदेश्यले २ करोड लागत मुल्यमा गाई पालन शुरु गरिएको हो । दैनिक १ हजार लिटर दुध उत्पादन गर्ने लक्ष्य अनुसार संस्था आफैले रेखदेख गर्ने उदेश्यले गाईपालन शुरु भएको हो । गाईपालन शुरु गरेको चार महिनामा ४ सय ७५ लिटर दुध उत्पादन हुन थालेको छ ।
पशुपालनका लागि ब्यवसायीक र प्रविधि भित्र्याउने उदेश्यले उक्त फर्म शुरु गरिएको छ । फार्ममा नयाँ प्रविधिको शुरुवात गरिएको छ । खानेकुरा, दुध दुहुने, मलखाद ब्यवस्थापन प्रविधि जडान गरिएको छ । दुई करोड मध्ये सहकारी र परियोजनाको आधा आधा लगानी गरिएको छ । जग्गा भाडामा लिएर संचालन गरिएको उक्त परियोजनाका लागि घाँस आफै रोप्ने गरी ब्यवस्थापन गरिएको छ । परियोजना शुरु गर्न अघि सम्पन्न भएका कामका बारेमा जानकारी दिन आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बागमति प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष टिकाबल्धव सापकोटा, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख राजकुमार हुमागाई, संस्थाका अध्यक्ष चर्तुभुज तिमल्सिना, कार्यपालिका सदस्य सिता पराजुली कोईराला, राजनीतिक दलका प्रतिनिधि नेकपा एमालेका देवप्रसाद कोईराला, माओवादी केन्द्रका बालकृष्ण सापकोटा, नेपाली काँग्रेसका बलराम कोईराला लगायतको सहभागिता रहेको थियो ।
उक्त सहकारीमा १ हजार भन्दा धेरै शेयर सदस्य छन् । कृषकहरु आफैले उत्पादन गरेको दुध दैनिक ७ हजार ५ सय लिटर संकलन भईरहेको छ । सहकारीले ७ वटा केन्द्र मार्फत दुध संकलन गरी चिस्यान केन्द्र समेत संचालन गरिरहेको छ । नेपालमै नमुना दुग्ध सहकारीका रुपमा स्थापित उक्त सहकारीले विहान बेलुका नै दुध संकलन गरी स्वच्छ र सफा दुध वितरण गरिरहेको छ ।









