आईजिपी कपको उपाधी नेपाल पुलिस स्कुल धरानलाई
साँगा/नेपाल पुलिस स्कुल साँगामा आयोजित २८ औ आईजीपी फुटबल रनिङ्ग ट्रफी प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । रनिङ्ग ट्रफिको उपाधी नेपाल पुलिस स्कुल धरानले प्राप्त गरेको छ । लिटिल एन्जल्स स्कुल काठमाडौलाई ट्राईबेकरमा ५–४ अन्तरले हराउँदै नेपाल प्रहरी स्कुल धरानले आईजिपी कप हात पारेको हो ।
विजयी टिमलाई आईजिपी धिरजप्रताप सिंहले ट्रफि, मेडल र नगद पुरस्कार प्रदान गर्नु भएको थियो । पहिलो हुने टिम नेपाल पुलिस स्कुल धरानले नगद ५० हजार प्राप्त गरेको छ । दोश्रो हुने लिटिल एन्जल्स स्कुलले मेडल, प्रमाणपत्रका साथ नगद ३० हजार रुपैया प्राप्त गरेको छ । तेश्रो हुने ल्याबरोटरी स्कुल किर्तिपुरले मेडल, प्रमाणपत्रका साथ नगद ३० हजार प्राप्त गर्ने छ । अन्य खेलाडीहरुले विभिन्न विद्यामा नगद सहितको पुरस्कार प्राप्त गरेका छन् । खेलाडी तथा अन्यलाई एआईजी सहकुलबहादुर थापा, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे लगायतले पुरस्कार वितरण गर्नु भएको थियो । मिडिया संयोजक शिक्षक हरि कार्कीका अनुसार नेपाल प्रहरी स्कुल धरानका म्यान अफ द म्याच साहेब मन्सुरी, लिटिल एन्जल्सका भार्गव सिलवाल म्यान अफ द सिरिज, नेपाल पुलिस स्कुलका रोहन गुर्मईताले हाई स्कोर, लिटिल एन्जल्सका रोजिन सलजु बेस्ट गोल किपर र नेपाल पुलिस स्कुल साँगा समुह ए फेयर समुह घोषित भएको छ ।
पुरस्कार वितरण पछि आयोजित समारोहमा बोल्दै आईजिपी धिरजप्रताप सिंहले मेहनत, लगनशिल, दृढ संकल्प र धैर्यतावाट मात्रै सफलता प्राप्त गर्ने भएकाले खेलाडीहरुले धैर्यतावान बन्नु पर्ने बताउनु भयो । ‘बैज्ञानीक र गुणस्तरीय शिक्षा आजको आवश्यकता हो’–आईजिपी सिंहले भन्नुभयो–‘अध्यनसँगै खेलकुदलाई सँगै लैजान खेलाडीहरुको मेहनत र धैर्यता आवश्यक छ ।’ विद्यार्थी जीवनको अपरिहार्य खेलकुद भएकाले समुहमा कार्य गर्ने सिपको विकास समेत गर्ने र ब्यक्तिको क्षमताको पहिचान समेत हुने भएकाले विद्यार्थीहरुले खेलकुदलाई प्राथमिकतामा राख्न आईजिपी धिरजप्रताप सिंहको सुझाव थियो । एआईजी सहकुल बहादुर थापाले खेलमा हारजित हुने भए पनि नियमित अभ्यास र लगनशिल हुनु सफलता भएकाले विद्यार्थीहरुले हरेक क्षेत्रमा मेहनत गर्ने बानी बसाल्नु पर्ने बताउनु भयो । प्रतियोगिताको उद्घाटन एआईजी सहकुलबहादुर थापाले गर्नु भएको थियो । लिग कम नकआउटका आधारमा खेलाईएको उक्त प्रतियोगितामा लिग ३५/३५ मिनेट, नक आउट ४०/४० मिनेटका साथै अतिरिक्त समय १०÷१० मिनेटको थियो । कक्षा ९ र १० का विद्यार्थीहरु सहभागि भएको उक्त प्रतियोगितामा १५ वर्ष उमेर समुहका विद्यार्थीहरु सहभागि थिए ।









