– सर्वसाधारण विस्थापित
दम्पती हत्यामा संलग्न हत्यारा गुपचुप हुँदा पाँचखाल नगरपालिका ९ पलाञ्चोक भगवती साविक साठ्ठीघर भगवती गाविस ६ डाँडागाउँका सर्वसाधारण विस्थापित हुन थालेका छन् । घटना पछि छिमेकीहरु त्रसित छन् ।
‘२०७९ कार्तिक १९ गते दिउसो डाँडागाउँ निवासी ७८ बर्षीय रामबहादुर थापा मगर र ५९ बर्षिया गिता थापा मगर मृत अवस्थामा रहेको खवर प्राप्त भयो’–वडा अध्यक्ष रामकाजी श्रेष्ठले भन्नुभयो–‘सोहि दिन वडामा अचार बनाउने तालिम संचालन भईरहेको थियो । तत्कालै घटनास्थल पुग्दा दम्पतीको निर्मम र पाशवीक हत्या भएको देखियो । हामीले तत्कालै नजिकै रहेको प्रहरी कार्यालयमा खवर ग¥यौं । जिल्लाबाट प्रहरी प्रमुख एसपी चक्रराज जोशी सहितको टोली आएर अनुसन्धान ग¥यो । प्रहरीको विशेष अनुसन्धान टोली कुकुर लिएर घटनास्थल आयो । तर पनि दम्पती हत्याको सुईको प्रहरीले पाउन सकेको छैन ।’ वडा अध्यक्ष रामकाजी श्रेष्ठले घटना भएको लामो समय प्रहरीले अनुसन्धानबाट हत्यारा पत्ता लगाउन नसकेकै कारण छिमेकीहरु डरले विस्थापित भएको बताउनु भयो ।
‘दिउँसै निर्मम र पाशविक तवरबाट हत्या भएका दम्पतीको हत्यामा संलग्न पक्राउ नपरेकै कारण स्थानीयहरु विस्थापित हुन थालेका छन्’–वडा अध्यक्ष रामकाजी श्रेष्ठले भन्नुभयो–‘प्रहरीले अनुसन्धान पनि गरिरहैकै छ तर हत्यारा पत्ता लाग्न सकेका छैनन ।’ डाँडागाउँको एकान्तमा रहेको उक्त घरमा रामबहादुर र उनको श्रीमती गिता मात्रै बस्दै आएका थिए । नजिकै उनका छोरा बुहारी थिए । छोरा दिनेश थापा मगरका अनुसार २०७९ कार्तिक १९ उनी बुबाआमाको घरमा पुगेका थिए । बुबाआमाले अहएको काम उनले गरेको प्रहरीलाई बयान दिएका छन् । कार्तिक २० गते वडामा लब्सीको अचार बनाउने तालिम भएकाले दिनेश उता गएको बयान दिएका छन् । दिउसो १२ बजेको समयमा छोरा दिनेशले बुबा आमालाई पालैपालो फोन गर्दा दुबै जनाको फोन नउठे पछि श्रीमती गंगा थापालाई फोन गरेका थिए । गंगाले सासु ससुराको घरमा गएर हेर्दा दुबै जना रग्ताम्मे देखेर आत्तिए पछि दिनेशलाई फोन गरेकी थिईन् । दिनेश तालिम छाडेर मोटरसाईकलमा घर पुग्दा बुबाआमाको विभत्स दृश्य देखे । रामबहादुर थापाको टाउकोमा गहिरो चोट थियो भने अनुहारमा समेत चोट थियो । उनी खाटमा कोल्टे परेको अवस्थामा थिए । गिताको अनुहार चिन्नै नसकिने अवस्थामा थियो । घर वरपर रग्ताम्मे थियो । गिताको शब खाटको मुनी थियो । गलामा भएको तिलहरी, कानमा लगाएका बेरुवा, रिङ तथा अन्य गहना काटिएको अवस्थामा थियो । नाकमा भएको फुली बाहेक सबै गहना लुटिएको थियो । राँगा, बाख्रा र सुँगर विक्री गरेर घरमा रहेको १ लाख ८० हजार नगद समेत लुटिएको थियो । कालो ब्यागमा रामबहादुरले रकम जम्मा गरेर राखेको छोरा दिनेशले बताएका छन् । घर वरीपरी गाँजा फेला परेको छ । छोरा बुहारी र बाबु आमा अलिक फरक स्थानमा बसोबास गर्छन । घटना भएका बखत दम्पती चिच्याएको वा घटना घटाएको बारेमा आजसम्म कसैले चाल पाउन नसकेको प्रहरीले बताएको छ ।
‘वीभत्स तरिकाले हत्या गरिएका दम्पत्तिका हत्यारा पत्ता लगाउन प्रहरीको सिआईबी टिम परिचालन भएको छ’–एसपी प्रहरी प्रमुख चक्रराज जोशीले भन्नुभयो–‘निर्वाचनमा ब्यस्त हुनु परेकाले हामीले त्यति ध्यान दिन सकेनौं । सिआईबी टोलीले अनुसन्धान गरिरहेको छ । हत्यारा पत्ता लाग्न सकेको छैन ।’ प्रहरीले रामबहादुर र गिताको छोरा दिनेशलाई केहि दिन हिरासतमा राखेर अनुसन्धान ग¥यो । केहि पत्ता लाग्न नसके पछि तारेखमा छाडेको छ भने घटनास्थल वरपर प्रहरीको एउटा टोलीले विशेष निगरानी गरिरहेको छ । तर पनि स्थानीयहरु त्रसित भएर विस्थापित हुन थालेका छन् । विस्थापितहरु बजारमा आफन्तको बस्न थालेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । दम्पतीको घरबाट रातिको समयमा बाल्न मिल्ने टर्च लाईट पनि चोरिएको छ । त्यहि लाईटले रामबहादुरलाई टाउकोमा र गितालाई अनुहार नै अनुहारमा प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पोस्टमार्टम रिपोर्टमा कुटाईबाट निधन भएको उल्लेख छ । हत्यापछि गितालाई खाटमुनि र रामबहादुरलाई खाटमा राखिएको थियो ।
केहि दिन अघि पलाञ्चोक भगवती मन्दिर भित्रबाट दान पेटिकाको नगद चोरी लगेका थिए । उक्त चोरीमा संलग्नलाई पनि प्रहरीले पत्ता लगाउन सकेको छैन । काभ्रेमा भएका केहि जघन्य अपराधमा संलग्न भएकाहरु हालसम्म फेला परेका छैनन । केहि वर्ष अघि काभ्रेको कानपुर, बनेपाको सिनागाल, आईटी पार्क नजिकै हत्या गरिएका सर्वसाधारणका हत्यारालाई प्रहरीले अझै फेला पार्न सकेको छैन ।









