२०५१ बाट शुरु भएको थियो काँग्रेसमा अन्तरघात प्रकरण
काभ्रे काँग्रेसले निर्वाचनको हार नस्विकारी तीन नेतालाई कारवाहीको सिफारिस, दुईलाई स्पष्टिकरण र दुईलाई निस्कासन गरेको छ । कारवाहीको सिफारिसमा परेका नेताहरुको पोस्टरमा अपमानजनक ब्यवहार गरिएका भिडियो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको छ । २०५१ सालमा शिवप्रसाद हुमागाईले प्रारम्भ गरेको अन्र्तघात २०७९ मा आईपुग्दा आफैले ब्यहोर्नु परेको छ ।
बनेपा/२०५१ सालमा नेकपा एमालेका उम्मेदवार केशव बडाललाई जिताउन भूमिका खेलेको आरोप लागेका तत्कालीन जिल्ला सचिव शिवप्रसाद हुमागाई गिरिजाप्रसाद कोईराला निकट थिए । उनी सचिव भएका बखत मध्यावधी निर्वाचनमा पार्टी नेता विष्णु हुमागाईलाई टिकट दिए पछि हुमागाईले शिवप्रसाद हुमागाईले सचिव पदबाट राजिनामा दिएर असहयोग गरेका थिए । त्यति बेलाबाट शुरु भएको अन्र्तघात २०७९ को निर्वाचनमा हुमागाई आफैले अन्र्तघातको पीडा ब्यहोर्नु परेको छ ।
‘त्यतिबेला शिवप्रसाद हुमागाईले जिल्ला सचिवको हैसियतमा पार्टीका आधिकारीक उम्मेदवार विष्णु हुमागाईलाई असहयोग मात्रै गरेनन्, अन्र्तघात गरेर एमालेका उम्मेदवार केशव बडाललाई विजयी गराउन भूमिका खेलेका थिए’–काँग्रेसका पुराना एक नेताले भने–‘काभ्रे काँग्रेसमा अन्र्तघातको विउ त्यतिबेला देखि उनै शिवप्रसाद हुमागाईले शुरु गरेका थिए । आफुले टिकट नपाए पछि शिव हुमागाईले जिल्ला सचिव पदबाट राजिनामा दिएका थिए । अहिले उनै हुमागाई अन्र्तघातका नाममा कारवाहीको डण्डा प्रयोग गरिरहेका छन् ।’ २०५१ सालमा गिरिजाप्रसाद कोईरालाले कृष्णप्रसाद भट्टराई हटाउन गरेको भाषण तथा कार्यक्रममा पनि काभ्रेबाट हुमागाईको समुह गएको थियो । त्यतिबेला शिबप्रसाद हुमागाई गिरिजाप्रसाद कोईराला निकट थिए । पछि उनले मधु आचार्यलाई सभापति भएका बखत कारवाही गरे उनी जिल्ला सभापति भए । फेरी कारवाही गरे केन्द्रीय सदस्य भए । कमला थापालाई कारवाही गरेको केहि वर्षमै सांसद् बनिन् । विष्णुप्रसाद हुमागाईका बुबा काँग्रेस केन्द्रीय कार्यालयमा कर्मचारी थिए । त्यहि आधारमा विष्णु हुमागाईले टिकट ल्याएका थिए । विष्णु हुमागाईले टिकट ल्याएको रिसमा शिव हुमागाईले पार्टीको जिल्ला सचिव पदबाट राजिनामा दिएर निर्वाचनमा असहयोग गरेका थिए ।
नेपाली काँग्रेस काभ्रेमा फेरी एक पटक नेताहरु खुईल्याउन शुरु भएको छ । नेताहरुको पोस्टरमा रहेका तस्विरमा अपमानजनक शैलीले छोपेर भिडियो समेत सार्वजनिक गर्ने अभियानमा नेताहरु सक्रिय भएका छन् । तस्विर छोपेको अघिल्लो दिन शनिबार काँग्रेसले तीन नेतालाई कारवाही, दुई नेतालाई स्पस्टिकरण र दुईलाई निस्कासन गर्ने निर्णय गरेको थियो । कारवाहीको सिफारिस पर्नेमा केन्द्रीय सदस्यद्वय मधुप्रसाद आचार्य र गणेश लामा, स्पष्टिकरणमा पर्नेमा बागमती प्रदेश महामन्त्री तथा प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे र बनेपा नगर सभापति महेश कर्माचार्य, निश्कासनमा पर्नेहरुमा नेकपा एमालेबाट काँग्रेस प्रवेश गरेका साधुराम बडाल र धावा लामा रहेका छन् । तत्कालिन समयमा मधु आचार्य जेलमा हुँदा आफै सभापति भएको घोषणा गर्ने शिवप्रसाद हुमागाईले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ मा पराजय भोगेका थिए । एमालेका गोकुलप्रसाद बास्कोटालाई सहयोग गरेको आरोपमा जिल्ला समितिले कारवाहीको सिफारिस र स्पष्टिकरण सोध्ने निर्णय गरेको काग्रेसले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । आचार्यलाई हुमागाईले २०५८ साल देखि अपमानजनक ब्यवहार गर्दै आएका थिए । जेलमा भएका समयमा अधिवेशन आयोजना गरी आफै सभापति भएका हुमागाईले गरेको अधिबेशन अमान्य घोषणा गरे पछि पुनः अधिबेशन भएको थियो । त्यसपछि पनि निरन्तर असहयोग र अपमानमा परेका आचार्य र उनको समुहलाई हुमागाईले जिल्लामा ढिम्कन दिएको थिएन । हुमागाई माथिल्ला निकायमा जान असहज भए पछि असार १५ गते दहि चिउरा कार्यक्रमको आयोजना गरी देखावटी मिलापत्र गरिएको थियो । त्यसपछि फेरी आचार्य सभापति बने । उनको समूहले मात्रै हालिमुहाली गरेको आरोप लागे पछि हुमागाई समुह फेरी सक्रिय भयो । त्यसको असर वडा अधिवेशन देखि स्थानीय तहको निर्वाचन र पछिल्लो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समेत देखा परेको छ । साधुराम बडाल एमाले फर्किसके पछि निश्कासनको निर्णय गरिएको हो । कञ्चनचन्द्र बादे महामन्त्री छन् । महेश खरेल प्रतिनिधि सभा २ का सभापति र पाँचखाल नगरका दोश्रो कार्यकालका लागि प्रमुख छन् । बडालसँगै गएका रामकृष्ण हुमागाई काँग्रेसको कुनै कुनामा पनि अटाउन सकेका छैनन् । चोक्टा खान गएको झोलमा डुबे झै भएका हुमागाईको परिवार पनि एमालेमा फर्कने तयारीमा छ ।
यस्ता छन् आरोप
प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन २०७९ मा पार्र्टीका उम्मेदवार हराउन भुमिका खेलेको भन्दै नेपाली कांग्रेस काभ्रेले दुई केन्द्रीय सदस्य र प्रतिनिधी सभा क्षेत्रीय सभापतिलाई कार्वाही गरी केन्द्रीय अनुशासन समितिमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्र्टीका कुनै पनि जिम्मेवारीमा नरहने गरी केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, गणेश लामा र प्रतिनिधी सभा क्षेत्र नं २ का सभापति महेश खरेललाई कार्वाही गर्ने निर्णय गरेको सभापति तीर्थ लामाले बताउनु भयो । प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन २०७९ मा पार्र्टीका तर्फबाट प्रतिनिधी सभा क्षेत्र नं २ मा प्रत्यक्षतर्फ उम्मेदवार रहेका पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई र जिल्ला सभापति तीर्थ लामालाई अन्तर्घात गरी असहयोग गरेको, केन्द्रीय सदस्यद्वय मधु प्रसाद आचार्य र गणेश लामा निर्वाचन प्रचार अभियानमा एक दिन पनि मत माग्न नहिँडेको, विपक्षी उम्मेदवारलाई मत मागेको आरोप लगाईएको छ । केन्द्रीय सदस्य मधुप्रसाद आचार्यले निर्वाचन अभियानमा मत माग्न एक दिन पनि सहभागी नभएको र आफू प्रदेशभरको जिम्मेवारीमा रहेको भन्दै व्यस्त कार्यतालिका सुनाउँदै पार्टी र गठबन्धनको उम्मेदवारलाई मत नमागेको, निकट रहेका वडा सभापति र वडा अध्यक्षहरुको बैठक नै बोलाएर गोकुल बाँस्कोटालाई मतदान गर्न दबाब दिएको र अन्य किसिमका प्रलोभन बाँडेको, धेरै पटक घरमा जाँदा पनि उम्मेदवारलाई भेट नदिएको, निकटका सबै कार्यकर्तालाई सके सुर्यमा नसके घण्टीमा मतदान गर्न आव्हान गरेको भन्दै वडा कार्यसमिति, गाउँ तथा नगर कार्यसमिति, क्षेत्रीय समिति मार्फत जिल्ला अनुशासन समितिमा उजुरी गर्न लगाईएको थियो । केन्द्रीय सदस्य गणेश लामा निर्वाचन अभियानमा उपस्थित नभएको, आफु निकटका साथिहरुलाई सुर्य चिन्हमा मतदान गर्न र नसके हलोमा मत माग्न लगाएको, सार्वजनिक रुपमा यो पटक सुर्यमा मतदान गरि चन्द्र लामालाई जिताउनु अर्को पटक उसले मलाई सहयोग गर्छ भन्दै पार्र्टी सभापति तीर्थ लामालाई हराउने अभियान सञ्चालन गरेको उजुरी दर्ता गराउन लगाईएको थियो । प्रतिनिधी सभा क्षेत्र नं २ का सभापति महेश खरेल क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहेर निर्वाचन परिचालनको कुनै पनि जिम्मेवारी नलिएको, क्षेत्रीय सभापतिको तर्फबाट मातहतको संगठनहरु वडा, नगर र प्रदेश कार्यसमिति परिचालन नगरेको, आफू निकटका कांग्रेस वडा सभापति र वडा अध्यक्षका उम्मेदवार, नेता कार्यकर्ताहरु समेतलाई बोलाइ गोकुल बास्कोटालाई भोट हाल्न दबाब दिने र पैसा समेत बाँडेको भनी भन्दै उजुरी गर्न लगाईएको थियो । बनेपा नगरपालिकाबाट प्रदेश सभा सदस्य उम्मेदवारलाई भन्दा प्रतिनिधी सभा सदस्य उम्मेदवारलाई तीन हजार भन्दा बढी मत कम आउनुको कारण बारे स्पष्ट पार्न प्रदेश सांसद कञ्चनचन्द्र बादे र बनेपा नगर समितिलाई कांग्रेस काभ्रेले निर्देशन दिएको छ ।
बल्झियो पुरानै रोग
काभ्रे काँग्रेसमा प्रतिसोधको राजनीति अहिले मात्रै भएको होइन । २०५१ बाट शुरु भएको रोग फेरी बल्झाईएको छ । अहिले पार्टीबाट निकाल्न सिफारिस गरिएका कांग्रेसका केन्द्रीय सदस्य रहेका आचार्यमाथि २०७० सालको चुनाव लगत्तै पनि कार्बाहीको सिफारिस गरिएको थियो । २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा हुमागाईं साविकको काभ्रे क्षेत्र नम्वर २ बाट निर्वाचनमा उम्मेदवार बनेका थिए । नेकपा एमालेका उम्मेदवार रामहरी सुवेदीसँग पराजित भएपछि प्रतिशोध साँध्दै नेता मधु आचार्यसहितका नेता कार्यकर्तामाथि कार्बाही गरेका थिए । पार्टीका आधिकारिक उम्मेदवारलाई अन्तरघात गरी संविधानसभाको निर्वाचनमा पराजित गराउने काम गरेको आरोपमा त्यसबेला हुमागाईंले ५ जिल्लास्तरीय नेतामाथि कारबाही गरेका थिए । हुमागाईं उक्त समयमा नेपाली कांग्रेसको जिल्ला सभापति थिए ।
२०७० मंसिर १७ गते बसेको कांग्रेस जिल्ला समितिको बैठकबाट कारबाहीमा पर्नेमा पूर्व जिल्ला सभापति मधु आचार्य, पूर्व सहसभापति तीर्थ पसखल, पूर्व सभासद् कमला थापा, महाधिवेशन प्रतिनिधि उद्धव कोइराला र शंकर मिजार थिए । उनीहरुलाई साधारण सदस्य समेत नरहनेगरी कार्वाही गरिएको थियो । ‘निर्वाचनमा काभ्रे २ मा कांग्रेस कुनै पनि हालतमा पराजित हुने क्षेत्र नहुँदा नहुँदै पनि पार्टीका उम्मेदवारलाई पार्टीभित्रैका अवसरवादी र षड्यन्त्रकारीले अन्तरघात गरी पराजित गराएको हो’ त्यसबेला जिल्ला समितिको निर्णय सार्वजनिक गर्दै तत्कालिन सभापति हुमागाईंले भनेका थिए – ‘अन्तरघात गरेकाहरूलाई कारबाही गर्न प्रमाण सहित मातहतका समितिबाट सिफारिस गरिए पछि जिल्ला समितिको बैठकले उनीहरूलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको छ ।’ कार्बाही कार्यान्वयनका लागि दबाब दिन हुमागाईं नेतृत्वको टोली कालो ब्यानरसहित कांग्रेस मुख्यालय सानेपामा धर्ना दिनसमेत पुगेको थियो ।
सोही बैठकले ६ जना क्रियाशिल सदस्यको सदस्यता खारेज गरी नविकरण नगर्ने निर्णय गरेको थियो । त्यसरी क्रियाशिल सदस्य खारेजीमा पर्नेहरुमा शंखुपाटीचौरका माधव थापा र दिपेन्द्र प्याकुरेल, साविक पनौती १३ का मोहन केसी, साविक पनौती ४ का सुभाषचन्द्र थापा, साविक पनौती १२ की जानुका भट्टराई र साविक मिल्चे ६ का गणेशवहादुर घ्यावा रहेका थिए । हुमागाईं नेतृत्वको जिल्ला समितिले कार्बाही गरे पनि पछि केन्द्रीय समितिले त्यसलाई उल्ट्याएको थियो । कांग्रेस काभ्रेमा शालिन र बैचारिक नेता मानिने आचार्य र हुमागाईंको अन्तरसंघर्ष लामो समयदेखि रहँदै आएको छ । आफू शक्तिमा रहँदा फरक मत राख्ने नेता कार्यकर्तालाई कार्बाही गर्ने र आफ्नो पक्षकालाई मात्रै काखी च्याप्ने गरेको भन्दै हुमागाईंको आलोचना हुँदै आएको छ । यो पटक कार्यकर्ताको असहयोग पनि हुमागाईलाई त्यहि कारण भएको कार्यकर्ताहरुले बताएका छन् ।
पोस्टरमा पनि अपमान
कारवाहीको सिफारिसमा परेका प्रतिनिधि सभा क्षेत्र नम्वर २ का सभापति तथा पाँचखाल नगरका प्रमुख महेश खरेलको जिल्ला कार्यालयमा राखिएको फ्लेक्स ब्यानरको तस्विरलाई अपमानजनक रुपमा छोपेर भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा जिल्ला कार्यालयका सह सचिवद्वय समीर ब्याञ्जु र रविन्द्र सिग्देल देखिन्छन् । उनिहरुले नियोजित रुपमा नै सोहि कार्य गरी साउन्ड समेत म्युट गराउँदै भिडियो सार्वजनिक गरेका हुन् । उक्त भवन महेश खरेल र मधु आचार्यले निर्माण गरेका हुन् । शिव हुमागाई समुहले भवन निर्माणका लागि असहयोग मात्रै गरेनन कृयाशिल सदस्यहरुसँग उठाएको रकम पनि बुझाएका छैनन् । फेसबुकमा नेता मछिन्द्र लामाले लेखेका छन् – ‘समीर ब्यान्जु जी र रवीन्द्र सिग्देल जी, चौधौं अधिवेशनमा निर्वाचित तपाई जिल्ला सहसचिवद्वयलाई आफ्नो पदिय हैसियत अनरूपको कार्य गरेको अनुभूति त भयो होला । जनताले आगामी दिनमा तपाईहरूको यसप्रकारको घृणित कर्मको मुल्याङ्कन गर्ने नै छन । तपाईहरूको सिमा र परिधि भित्रको भित्ताको फोटोहरूमा कागज त टाँस्नुहोला तर जनताको मनमा रहेको फोटोमा त कृतघ्नहरूको केहि लाग्दैन । जयनेपाल ।’









