महाभारत/जिल्लाको चौरीदेउराली, भुम्लु गाउँपालिका पछि विकट पालिका महाभारतमा रेविजको आतंक फैलिएको छ । एक महिना अघि मरेको पशुको मासु खाएका स्थानीयहरु रेविज रोगबाट त्रसित छन् । मरेर गाडिएका दुईवटा पुशमा रेविज प्रमाणीत भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाईले बताउनु भयो । रेविज रोग फेला परेसँगै स्थानीय सरकार तथा विद्यालय र विद्यार्थीहरु अग्रसर भएका छन् । गोकुले माध्यमिक विद्यालयका विद्यार्थीहरु र वडा नम्वर १ ले स्थानीय स्तरमा रेविजबाट बच्न अपनाउनु पर्ने उपायका बारेमा जनचेतनामुलक ¥याली गरेका छन् । स्वास्थ्य कार्यालय काभ्रेले पनि संचारकर्मीहरुलाई महाभारतमा देखिएको रेविज रोग र त्यसको रोकथामका लागि भएका प्रयासका बारेमा जानकारी गराएको छ ।
‘महाभारत गाउँपालिकाको वडा नम्वर १ को गोकुले र वडा नम्वर ८ को घर्तिछापमा दुईवटा पशु मरेर गाडिएको थियो । पशु प्राविधिकहरुको टोलिले गाडेको पशुमा रेविज परिक्षण गर्दा पोजेटिभ देखिएको छ’– डा. पुरुषोतम सेढाईले भन्नुभयो–‘पशुबाट मान्छेमा रेविज फैलन नदिन आवश्यक सचेतनाका साथै रेविज विरुद्धको खोप लगाउन शुरु गरिएको छ ।’ मरेको पशुको मासु खाएको सूचना आएकाले तथ्याङ्क संकलन गरी उनिहरुलाई रेविजबाट बचाउन खोप लगाउने तयारी गरिएको डा. सेढाईले बताउनु भयो । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले वडा नम्वर ८ र १ का केहि स्थानमा पशुलाई कुकुरले टोकेको, कुकुरले टोकेका पशुहरुको मृत्यु भएको, मृत्यु भएका पशुहरुमा रेविज देखिएकाले तत्काल नियन्त्रण शुरु गरिएको बताउनु भयो ।
‘मसिंर १३ गते गोकुले १ की थिरमाया श्रेष्ठको गाई म¥यो । मसिंर १७ गते महाभारत ८ घर्तिछापमा अर्काे गाई म¥यो । तिनिहरु दुबै गाडेको अवस्थामा परिक्षण गर्दा रेविज फेला प¥यो’–वडा अध्यक्ष कान्छामान जिम्बाले भन्नुभयो–‘शनिबार नै गोकुले १ का ताराबहादुर रानाको बंगुर म¥यो ।’ गोकुलेमा भदौ देखि नै कुकुरले पशुहरु टोकेको सूचना भर्खरै प्राप्त भएको वडा अध्यक्ष जिम्बाले बताउनु भयो । समयमै जानकारी नगराएका कारण भटाभट पशुहरु मर्न थालेको उहाँले बताउनु भयो । पशुहरुसँग घुलमिल भएका ४० भन्दा धेरै स्थानीयलाई भ्याक्सिन लगाउन सूची तयार गरी स्वास्थ्य कार्यालय पठाईएको उहाँले बताउनु भयो । स्थानीयहरुलाई रेविज विरुद्धको खोप लगाउन शुरु गरिएको डा. सेढाईले जानकारी दिनुभयो ।
गाउँपालिकाको पशु स्वास्थ्य शाखाले पनि रेविज फैलन नदिन तथ्याङ्क संकलन तथा रोकथामका बारेमा चेतना फैलाउन शुरु गरेको छ । रेविज एक पछि अर्काे पालिकामा फैलन थाले पछि जिल्ला स्वास्थ्य कार्यालयले रोकथामका लागि स्थानीय सरकारको पहलकदमीका बारेमा आवश्यक पहल शुरु गरिएको डा. पुरुषोतम सेढाईले बताउनु भयो । रेविजका कारण हरेक वर्ष नागरिकहरुले ज्यान गुमाउन पुगेका छन् ।





