नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटालाई पराजय गर्न जिल्लामा गठबन्धन सक्रिय बन्यो । कतिसम्म भने जसलाई बास्कोटाले जीवनभर काँधमा बोकेर हिडे उनै नेताहरु समाजवादी पार्टीका नाममा बास्कोटालाई खुलेरै हराउन लागे । अझ बास्कोटाको टेप प्रकरणलाई उछाल्दै मत नदिन आब्हान गर्दै घर दैलो अभियानमा निस्किए । तर पनि लक्की बास्कोटा काँग्रेस र माओवादीकै मत लिएर फराकिलो अग्रताका साथ विजयी भए ।
बास्कोटा विजय भएको खुशीमा कार्यकर्ताहरुले छाती फुलाएर उत्सव बनाउन सकेनन् । कारण थियो बास्कोटाकै क्षेत्रको प्रदेशमा उनका गुरु कुमार खकुरेल १ सय ८८ मतले पराजित भए । अर्का कुमार थापा फराकिलो मतान्तरले पराजय ब्यहोर्न पुगे । प्रतिनिधि सभा १ अन्र्तगत प्रदेश सभामा पुर्व मन्त्री समेत रहेका पार्टीका जिल्ला उपाध्यक्ष युवा नेता चन्द्र लामा तीन मतले पराजय हुन पुगे । समानुपातिक तर्फका मतपेटिकामा केहि मत फेला परेको भए पनि के गर्ने ? के हुने निर्णय भएको छैन । कानुनी परामर्शमा निर्वाचन आयोगले निर्णय सुनाउनेछ । तर पनि यतिखेर गठबन्धनबाट ५ क्षेत्र र एमालेबाट एउटा क्षेत्रमा मात्रै विजय हासिल गरेको छ ।
बास्कोटालाई स्थानीय तहको निर्वाचनका आधारमा ४३ हजार मात्रै मत प्राप्त हुनुपर्ने थियो । विजय हुने बेला बास्कोटाले ४५ हजार ३ सय ४५ मत प्राप्त गरे । उता गठवन्धनमा १७ हजार भन्दा धेरै मत थियो । बास्कोटालाई पराजय गर्न त्यहि मत काफी थियो । गठबन्धन भित्रको खैलाबैलामा बास्कोटाले आफ्नो पकड जमाए अनि विजयी भए । हुँदा हुँदा समाजबादीका प्रभावशाली नेताहरु, कार्यकर्ताहरु समेत एमालेमा फर्काउन सफल भए । एमालेको सिङ्गो पक्ति समेत बास्कोटाको विजयका लागि सक्रिय भयो । ठुला कार्यक्रम एमालेले कहिँ गरेन । पार्टी देखिने गरी कतै परिचालन भएन । ब्यक्ति ब्यक्तिलाई मतदानका लागि भेट्यो र काँग्रेस माओवादीको अन्र्तरविरोधलाई समात्यो ।
बास्कोटा २०७० मा पराजित भएका थिए । २०७४ मा फराकिलो मतान्तरबाट विजयी भएसँगै राज्यमन्त्री, मन्त्री हुँदै दुईवटा मन्त्रालय समेत सम्हाल्ने अवसर पाए । त्यहिबेला उनलाई रकम बार्गेनिङ्गको आरोप लाग्यो । छानविन गर्न सहज बनाउने उद्देश्यले राजिनामा दिए । न त उनले रकम लिएको, बार्गेनिङ्ग गरेको सरकारी निकायले प्रमाणीत गर्न सके । न त त्यहि अभियोगलाई चुनावी एजेण्डा बनाएको गठबन्धनले पराजय गर्न सक्यो । निर्वाचित भए लगत्तै बास्कोटाले भने–‘मिथ्या आरोप न त कहिल्यै सरकारी निकायले एसेप्ट ग¥यो, न त जनताको जनअदालतले प्रमाणीत ग¥यो । यो आरोप जनअदालतबाट खारेज भएको छ ।’ सत्तामा १८ महिना रहँदा बास्कोटालाई लागेको आरोप प्रमाणीत गर्न, निर्वाचनको समयमा उजुरी गरी उम्मेदवारी खारेज गर्न विपक्षीले सकेनन् । बास्कोटाले जिल्लामा गरेको विकासका कारण अधिकांश मान्छे बास्कोटालाई विजयी गराउने पक्षमा देखिएका थिए ।
‘पार्टी फरक हो तर विकासका लागि बास्कोटालाई मत दिनुपर्छ भन्ने जनमत देखियो’–बनेपाका एक ब्यवसायीले भने–‘तीनवटा विश्वविद्यालय, सुरक्षण मुद्रण प्रेस, सडक कालोपत्रे, शिक्षा, स्वास्थ्य, अन्य पूर्वाधारमा बास्कोटाले ल्याएको बजेट जिल्लाको इतिहासमा अनुकरणीय छ ।’ एमाले नेतृत्वमा सरकार बन्दा बास्कोटा फेरी मन्त्री बन्ने सम्भावना देखेका मतदाताहरुले पहुँच हुँदा मात्रै जिल्लाको विकास सम्भव देखेर मतदान गरेको एमाले काभ्रेले जनाएको छ । जिल्लामा गठबन्धनबाट क्षेत्र नम्वर १ मा माओवादीका सुर्यमान दोङ, प्रदेश १ मा माओवादीका रत्न ढकाल, प्रदेश २ मा काँग्रेसका तिर्थ लामा, क्षेत्र नम्वर २ को प्रदेश १ मा समाजबादीका लक्ष्मण लम्साल र काँग्रेसका कञ्चन चन्द्र बादे विजयी भएका छन् । काँग्रेसले दुई सिटमा जितेर प्रतिनिधि सभामा हराएको भन्दै काँग्रेस भित्र कलह शुरु भएको छ । माओवादी र समाजवादीलाई भने गठवन्धन फाईदा भएको छ । नत्र एक्ला एक्लै उम्मेदवारी दर्ता गरेको भए एमालेले ६ वटै सिटमा विजयी हासिल गर्ने तथ्य समानुपातिक मतले पनि देखाएको छ । समानुपातिक मतमा एमाले पहिलो पार्टी भएको छ । प्रतिनिधि सभा २ मा एमालेले ३४ हजार ७ सय ४५ मत ल्याउँदा काँग्रेसले २६ हजार ५ सय ५६, माओवादीले ७ हजार ९ सय २६, समाजवादीले ६ हजार १ सय ४३ र घण्टीले १६ हजार ८ सय २४ मत प्राप्त गरेको छ । प्रतिनिधि सभा २ मा ३४ हजार मत प्राप्त गरी एमाले पहिलो दल बनेको छ ।





