2026 August 27/ 12:25: 43pm

    प्रतिनिधि सभा १ मा विजयी सुर्यमान दोङ्ग नेकपा माओवादीका नेता हुन् । २०६४ सालमा संविधान सभा सदस्य विजयी दोङलाई सशस्त्र युद्धमा काभ्रेका अर्जुन लामा अपहरण पछि हत्या गरेको अभियोगमा दर्ता भएको मुद्दा विचाराधीन छ । २०७० मा नेपाली काँग्रेसका तिर्थ लामासँग पराजित दोङले २०७४ मा सहकारीको ऋणमा साक्षी बसेर कालो सूचीमा परेको अभियोगमा टिकट पाउन सकेनन् । २०७९ मा टिकट पाएर विजयी भएका दोङ गठबन्धनका साझा उम्मेदवार थिए । समानुपातिक मतमा भने माओवादी तेश्रो दल बनेको छ । 
    प्रतिनिधि सभा २ मा विजयी सांसद गोकुल बास्कोटा नेकपा एमालेका पोलिटब्युरो सदस्य छन् । पूर्व मन्त्री समेत रहेका बास्कोटा केपी ओली नेतृत्वको सरकारका प्रभावशाली मन्त्री थिए । अडियो प्रकरणमा मुछिएका बास्कोटाले निस्पक्ष छानविनका लागि पदबाट राजिनामा दिएका थिए । २०७० को निर्वाचनमा उम्मेदवार भए पनि पार्टी भित्रको अन्र्तघातका कारण पराजय ब्यहोरेका बास्कोटा २०७९ मा गठबन्धनका बाबजुद पनि अत्याधिक मतले विजयी भए । प्रदेश सभामा निर्वाचित रत्न ढकाल माओवादी केन्द्रका नेता हुन् । बागमति प्रदेश सरकारका खेलकुद मन्त्री ढकाल यसअघि नेकपा एमालेसँगको तालमेलमा विजयी भएका थिए । प्रदेश सभामा निर्वाचित तिर्थ लामा ३ मतको झिनो मतान्तरले विजयी भए । संविधान सभा सदस्यमा निर्वाचित भएका लामा २०७४ मा माओवादीका गंगाबहादुर दोङ्गसँग पराजित भएका थिए । प्रतिनिधि सभामा टिकट नपाए पछि प्रदेश सभामा केन्द्रीय सदस्य गणेश लामाको टिकट खोसेर ल्याएका लामा जिल्ला सभापति हुन् । उनी बागमति प्रदेशमा मुख्य मन्त्रीको दाबेदार छन् । बागमति प्रदेशका लागि निर्वाचित लक्ष्मण लम्साल नेकपा समाजबादीमा छन् । यस अघि नेकपा एमालेबाट विजयी भएका लम्साल पार्टीबाट अलग भएका थिए । गठबन्धनबाट समाजवादीले एक सिट मात्रै प्राप्त गरेको थियो । जिल्लामा एक सांसद्, समन्वय प्रमुख र एउटा नगरमा प्रमुख विजयी भएको समाजवादी समानुपातिकमा पाँचौ नम्वरमा छ । अर्का सांसद् कञ्चनचन्द्र बादे नेपाली काँग्रेस बागमति प्रदेशका महामन्त्री छन् । उनी २०७० मा सांसद् भएका थिए । २०७४ मा पराजय भएका बादे २०७९ मा गठबन्धनबाट विजयी भए ।