2026 August 27/ 12:25: 13pm

    मंसिर ४ गते आईतबार आगामी पाँच वर्षका लागि नागरिकहरुले आफ्ना जनप्रतिनिधि चुन्ने गरी मतदान गरेका छन् । यो पटक पुराना भनिएका राजनीतिक दल, ति दलका उम्मेदवारहरु प्रति युवा जमातको रोजाई भन्दा पनि वितृष्णा प्रकट भएको छ । स्वतन्त्र भनिएका उम्मेदवार र नयाँ खोलिएका राजनीतिक दलका उम्मेदवाहरु प्रति केहि जनमत प्रकट भएको छ । यसको मतलब यो होईन कि ? नागरिकहरुले दलको विकल्प खोजेका छन् । बहुदलिय प्रतिस्पर्धामा दलहरुको विकल्प केहि हुन सक्दैन । मुलुकमा प्रजातन्त्र, गणतन्त्र प्राप्त पश्चात पनि विकासका नाममा दलहरुको लुछाचुँडी देखिनु, अधिकारका नाममा लुटतन्त्र देखिनु, रोजगार भन्दा बेरोजगारको संख्या बढ्नु युवाहरुले खोजेको विकल्प हो । त्यहि जनमत यो पटक निर्वाचनको समयमा युवाहरुले प्रकट गरेका छन् । 
    माओवादीले हिंसात्मक द्वन्द्व मार्फत १७ हजार नेपालीको ज्यान लियो । काँग्रेस अधिकांश समय सरकारमा बस्यो मात्रै होईन लामो समय नेतृत्व ग¥यो । नेपालका कलकारखाना उद्योगहरु निजीकरण गराउँदै बन्द गरायो । जसको असर युवाहरु विदेश पलायन मात्रै भएनन् मुलुक परनिर्भर बन्न पुग्यो । माओवादीको युद्धका कारण गाउँबाट शहर केन्द्रित भएका अधिकांश योजना र सुगम केन्द्रित मानसिकता आज पनि गाउँ फर्किन सकेको छैन । विकास गाउँ गयो नागरिक शहर केन्द्रित हुन थाले । विद्यालय बन्द हुने अवस्थामा छन् । स्वास्थ्य चौकीहरु खुल्यो भने पनि नागरिक छैनन् । उत्पादन हुने जमिनहरु बाँझो हुन थालेका छन् । शहरमा भएको थोरै जमिन टुक्रा टुक्रा हुन थालेको छ । निर्यात गर्ने तर्फ मुलुक अघि बढ्न सकेको छैन । केपी ओली प्रधानमन्त्री हुँदा नेपालीमा एउटा सपना जगाईएको थियो । चाह्यो भने नेपाल र नेपालीले गर्न सक्छन् भन्ने साहस थपिएको थियो । केपी ओली नेतृत्वको सरकारले विभिन्न कोणबाट असफल बनाउने प्रयास गरियो । १८ महिना मुलुक राजनीतिक अस्थिरतामा बित्यो । भएको जनमतले काम गर्न नसके पछि ताजा जनादेश लिएर सरकार संचालन गर्ने केपी ओली नेतृत्वको सरकारले प्रतिगमन गरेको भन्दै अदालतलाई प्रयोग गरियो । जनताबाट प्राप्त जनादेशका विपरित परमादेशबाट सरकार गठन भयो । त्यसकै असर मुलुकले ब्यहोर्न बाध्य भएको छ । नयाँ जनादेशले पनि मुलुकलाई स्थिर सरकार बनाउने संकेत दिएको छैन । 
    प्रारम्भिक परिणामले बहुमत ल्याउने स्पष्ट संकेत कुनै दलको देखिएको छैन । स्थिर सरकार नबन्दासम्म मुलुकले गति लिन सक्दैन । किसानका लागि रासायनिक मल समेत खरिद गरेर ल्याउन नसक्ने गठबन्धन सरकारले आगामी दिनमा मुलुकमा देखिन थालेका संकटहरुको निकास कसरी दिन सक्छ ? मुलुकको विकास र समृद्धिका लागि स्थिर सरकार आवश्यक छ । स्थिर सरकारका लागि गठबन्धनमा रहेका दलहरु सक्षम छन् त ? त्यो सम्भव छैन । युवाहरुको निरन्तरको खवरदारी, मुलुकको समृद्धीका लागि योजना, समन्वयकारी भुमिका र अवसरको सिर्जना गरिनु पर्छ । माओवादीको टाउकाको मुल्य तोक्ने नेपाली काँगेसको नेतृत्व र माओवादी नेतृत्व सँगै निर्वाचनमा होमिएको थियो । समाजबाद उन्मुख विचार बोकेको माओवादी र पुँजीवाद अगाल्ने दलको बीच मुलुक बनाउन हैन सत्ताको नेृतत्वका लागि मात्रै गठवन्धन भएको थियो । अब केहि समय नेतृत्व कसको ? प्रधानमन्त्री को बन्ने भन्ने विवादमै मुलुक अड्किने छ । प्रधानमन्त्री केपी ओली भन्ने घोषणा गर्ने नेकपा एमालेको विकल्पमा दलहरुले प्रधानमन्त्री घोषणा गर्न सकेका छैनन् । यसको असर केहि दिनमा देखिनेछ । तर जनताले स्थायी सरकारको अपेक्षा गरेका छन् ।