2026 August 27/ 12:25: 11pm

    धुलिखेल/हिउँदे बाली लगाउने सिजन सुरु भईसक्दा पनि किसानले मल पाउन सकेका छैनन् । असारमा धान रोप्ने सिजनमा समेत मल नपाएका किसान अहिले आलु लगायतका हिउँदे बाली लगाउने सिजनमा पनि मल अभाव भएपछि समस्यामा परेका छन् ।
    पनौतीकी सानीमैया राउत आलु लगाउने तयारीमा हुनुहुन्छ, तर मल पाईएको छैन । बर्खामा बिस दिन हिँड्दा पनि मल नपाएको उहाँको भनाई छ । एक बर्षदेखि मल नपाएको उहाँको भनाई छ । किसानबहादुर बस्नेतले पनौतीमामा दुई घन्टा लाईन बसेपछि पाँच केजी युरिया र तीन केजी डिएपी मल पाउनुभयो । बल्ल बल्ल पाएको मल पनि पोखिएपछि बस्नेतका आँखामा चिन्ता छचल्किएको देखिन्थ्यो । पाँचखालमा भने स्थानीय व्यापारीले भारतीय बजारबाट मल ल्याएर बेचिरहेका छन् । किसानले ति व्यापारीबाट महङ्गोमा मल किन्नु परेको छ भने मलको गुणस्तर पनि प्रमाणित छैन । जसले झनै अन्योलता बढाएको पाँचखाल–३ का ज्ञान बहादुर थापा बताउनुहुन्छ । बजारमा पचासौं थरि मल भेटिएको उहाँको भनाई छ । पाँचखालका किसान पछिल्लो पटक ५० करोड भन्दा बढी नोक्सानमा परेको उहाँले बताउनुभयो । मलको लागि लाईन बसेका किसानलाई आसन्न चुनाब भन्दा पनि मल र बालीकै चिन्ता छ । हुनपनि सरकारले समयमा मल उपलब्ध नगराए भोलि चामलको लागि लाईन बस्नु पर्ने दिन आउन सक्ने किसान कान्छो हुमागाँइले बताउनुहुन्छ । 
कृषि सामाग्री कम्पनी लिमिटेड धुलिखेलका शाखा प्रबन्धक वासुदेव शर्माअनुसार अहिले जिल्लामा मागको १० प्रतिशत मात्रै मल उपलब्ध गराउन सकिएको छ । चुनाव लगत्तै केही मल प्राप्त हुने अवस्था छ । तर माग र आपुर्तीको अवस्था हेर्दा २० देखी २५ प्रतिशत मात्रै मल उपलब्ध हुने अवस्था रहेको शर्माको भनाई छ । समयमै मल नपाउँदा किसान निराश मात्रै छैनन्, सरकार प्रति आक्रोश पनि पोखिरेहका छन् । उनिहरुले भोट माग्न घरदैलोमा पुगेका उम्मेद्वारलाई समेत सहज रुपमा मल कहिले पाईन्छ भनेर प्रश्न गरेका थिए ।