2026 August 27/ 12:25: 12pm

मतदाताको सहभागिता न्यून
    धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मतदाताहरुमा उत्साह नदेखिए पनि सहभागि भएका मतदाताहरुको चासो शान्ति र विकासको अपेक्षा थियो । 
    जिल्लाका दुईवटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभामा मतदाताहरुले सहज रुपमा मतदान गर्ने अवसर मंसिर ४ गते प्राप्त गरे । सबैभन्दा कम प्रतिनिधि सभा १ को २ मा ५५.१४ प्रतिशत मत खस्यो भने सबैभन्दा धेरै प्रतिनिधि सभा २ को २ मा ६९.३५ प्रतिशत मत खस्यो । केहि मतदान केन्द्रमा पत्रकार, पर्यवेक्षक, अपाङता भएका ब्यक्ति र जेष्ठ नागरिकहरुका लागि विश्रामस्थल अलग्गै राखिएको थियो । हरेक मतदान केन्द्रमा ७.०५ देखि ८ बजेसम्म मतदान शुरु भएको थियो भने साँझ ५ बजे मतदान समापन भएको थियो । स्थानीय तहमा जस्तो घण्टौ लाईन बसेर मतदान गर्नु पर्ने अवस्था यो निर्वाचनमा भएन । मतदाता आउने जाने क्रम भईरहेको कारण मतदाता धेरै लाईनमा देखिएनन् । विहान ११ बजेसम्म ३५ प्रतिशत मात्रै मत खसेको थियो । दिउँसो मतदानमा मतदाताहरुको उत्साह थपिएको थियो । साँझसम्म कुल मत ६०.४० प्रतिशत मत खसेको थियो । 
    मतदानमा मतदाताहरुको उत्साह कम देखियो । दलहरु, दलका उम्मेदवार र गठबन्धनसँग असन्तुष्ट भएकाले मतदानमा सहभागि नभएको प्रतिक्रिया दिए । अर्काेतिर युवाहरुको जमात विदेशिएकाले मतदाताहरु मतदानमा फर्किएनन् । मतदाताहरुले मतपत्र सानो भए पनि स्वस्तिक लगाउने कोठा सानो भएको प्रतिक्रिया दिए । चारवटा मतपत्र भएकाले झन्झटिलो भएको प्रतिक्रिया दिएका छन् । स्थानीय तहमा भन्दा १२ प्रतिशत कम मतदान भएको छ । मतदान सकिए लगत्तै मतपेटिकाहरुलाई सुरक्षित रुपमा मतगणनास्थलमा पठाईएको थियो । उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिहरुको रोहवरमा मतपेटिका सिलबन्दी गरिएको थियो । मतगणनास्थलमा आवश्यक तयारी पछि मसिंर ५ गते रातिबाट मतगणना शुरु भएको थियो भने प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ मा मसिंर ६ गतेबाट मतगणना शुरु भएको थियो । 
काभ्रेपलाञ्चोक जिल्लामा केहि विकट पालिकाहरु पनि छन् । निर्वाचन क्षेत्र नम्वर १ को खानिखोला गाउँपालिकाबाट मसिंर ५ गते दिउसो ३ बजे मात्रै मतपेटिका मतगणनास्थल पनौती आए पछि बसेको सर्वदलिय बैठकले राति ११ बजे मतगणना गर्ने निर्णय गरे पनि प्राविधिक कारण ब्यवस्थापन असहज हुँदा मंसिर ६ गते विहान ९ बजेबाट मतगणना शुरु भएको थियो । प्रतिनिधि सभा १ र प्रदेश सभाका दुईवटै स्थानमा एकै पटक मतगणना शुरु भएको थियो । 
    प्रतिनिधि सभा २ मा सबै मतपेटिका मसिंर ५ गते विहान ३ बजे आईसकेको भए पनि तयारी अपुग भएकाले राति ११ बजे मात्रै मतगाणना शुरु भएको थियो । मतपत्र स्थानीय तहमा जस्तो बदर भएको छैन । बदर मतको संख्या न्यून छ । मतगणनास्थल वरपर सुरक्षा ब्यवस्था कडा पारिएको छ ।